दशैँको खानपिन: लापरबाही गरे दीर्घरोगी
विजयादशमी र दीपावली नेपालीको महत्वपूर्ण चाड मात्रै होइन, साथीभाइ तथा प्रियजन भेट्ने, आशिर्वाद लिने/दिने तथा खुशी साट्ने अवसर पनि हो । तर, यस्ता चाडपर्वमा खुशीसँगै रोग पनि ओइरो लाग्ने गरेको पाइन्छ । चाडपर्वका बेला धेरैले खानपिन तथा दैनिकीमा लापरबाही गर्ने हँुदा धेरै प्रकारका रोग फैलने सम्भावना हुन्छ । यस्ता पर्वमा देखिने समस्या/रोगबाट बच्न सके दीर्घरोगबाट जोगिन सकिन्छ ।
चाडपर्वमा देखिने मुख्य स्वास्थ्य समस्या
१. पेट तथा पाचन प्रणालीसम्बन्धी समस्या :
♦ अपच
♦ बान्ता हुने
♦ ग्यास्ट्राइटिस
♦ अल्सर
♦ प्यान्क्रियाटाइटिस
♦ झाडापखाला, फूड पोइजनिङ आदि
२. मोटोपन, कोलेस्ट्रोल, मधुमेह र कलेजोसम्बन्धी समस्या बढ्ने
३. पिसाबसम्बन्धी समस्या
४. मुटु तथा रक्तनलीका समस्या जस्तै– हृदयघात, उच्च रक्तचाप, मस्तिष्कघात आदि
कारण
♦ गुलियो, चिल्लो, नुनिलो, पिरो र मसला बढी भएका खाना खानु
♦ तारेका, भुटेका तथा धेरै पकाएर विकृत पारिएका मासुका परिकार र अन्य खाद्यपदार्थ खानु
♦ जंकफूडहरू जस्तै– प्याकेटमा भएका खाजा तथा बोतलमा बन्द गरिएका पेयपदार्थ सेवन गर्नु
♦ अशुद्ध र संक्रमित पानीको प्रयोग गर्नु
♦ धूमपान, मद्यपान, लागूपदार्थको धेरै सेवन गर्नु
♦ अत्यधिक शारीरिक वा मानसिक तनाव हुनु
♦ मीठो पाएर कोची–कोची खानु
♦ पानी एवं तरलपदार्थ कम पिउनु
♦ शारीरिक व्यायाम नै नगर्नु वा नियमितता नदिनु
♦ औषधिको सेवन तथा उपचार अनियमित हुनु, रोक्नु
♦ आवश्यकतानुसार चिकित्सकसँग परामर्श नलिनुु
♦ एक्कासी धेरै काम वा व्यायाम गर्नु जस्तै– पिङ खेल्नु, घाममा बसिरहनु, रातदिन तास वा देउसी–भैलो खेल्नु
♦ पिङ खेल्दा, छतमा चंगा उडाउँदाखेरि सावधानी नअपनाउनु । जसले गर्दा खस्ने र मेरुदण्डमा चोट पुग्ने हुन्छ ।
♦ मद्यपान गर्नु, लागूपदार्थ सेवन गर्नु । यसले स्नायु प्रणालीका समस्या पुग्ने हुन्छ ।
♦ धेरै बेर एकै स्थानमा बसेर तास खेल्ने वा अप्ठ्यारो गरी बस्ने । यसले मेरुदण्ड र नसाका रोगहरू निम्तिने हुन्छ ।
♦ पारिवारिक सम्बन्धमा असामञ्जस्यता हुनु, आर्थिक समस्या पर्नु । यस्ता समस्याले स्वास्थ्यसम्बन्धी समस्या पनि बढाउने हुन्छ ।
♦ जुवा–तासमा हार वा जीतले तनाव हुन्छ ।
चाडपर्वका बेला यस्ता खाना रोजांै
पुरीको साटो : रोटीमा नौनी दलेर खाने
पापड तार्नुको साटो : आगोमा सेक्ने
मासुलाई सेकुवा बनाउने र तार्ने गर्नुको साटोे : उसिन्ने, कुकरमा पकाउने, बफाउने वा एल्यूमिनियम फोइलमा राखी पकाउने÷सेकाउने
(उसिन्ने, बफाउने, उमाल्ने आदि सबैभन्दा राम्रा पकाउने तरिका हुन् भने चिल्लोमा भुट्ने, सेकुवा बनाउने, तार्ने आदि सबैभन्दा खतरनाक हो ।)
नुनिलो, गुलियो, चिल्लो खाना, प्याकेटका जंकफूड नखाने, सकेसम्म कम खाने, घरमै स्वस्थकर तरिकाले बनाएको खाद्यपदार्थ खाने ।
रातो मासु अर्थात् खसी, बोका, रांगोको मासु कम खाने ।
सकेसम्म सेतो मासु वा माछा खाने वा शाकाहारी बन्ने ।
झोल मासु : मासुमा रहेको बोसो झोलमा जाने हुनाले झोल नखाएर चौटा मात्र खानु स्वस्थकर हुने ।
घिउ, क्रिम : तेल सकेसम्म जैतुन (ओलिभ आयल) र आलसको तेल प्रयोग गर्ने ।
हेरचाह तथा सावधानी
♦ घरका कोही बिरामी भए नियमित औषधि लिन सम्झाउनुस् ।
♦ दशैँ होस् वा तिहार, चिकित्सकले सिफारिश गरेका औषधि मात्रै प्रयोग गर्नुस् । साथै चाडपर्व भनेर उपचार नरोक्नुस् ।
♦ चाडपर्वमा अधिकांश औषधि पसल बन्द हुने हुँदा दशैँ–तिहार आउनुअघि नै आवश्यक मात्रामा औषधि किनेर जगेडा राख्नुस् ।
♦ सधैँ उपचार गराउने डाक्टरको निजी फोन नम्बर वा अस्पतालको फोन नम्बर साथमा राख्नुस् ।
♦ टाढा वा कतै बाहिर वा गाउँ जाने भए त्यस ठाउँनजिकैको स्वास्थ्य केन्द्र, अस्पताल, एम्बुलेन्स कहाँ छ पत्ता लगाउनुस् र फोन नम्बर राख्नुस् ।
♦ उपचारकोे निम्ति गरिने योग, व्यायाम मात्रै होइन तन्दुरुस्त रहन दौडने, खेल्ने, योग आदि गर्ने गर्नुस् ।
♦ दशैँ–तिहारमा घरटोलमा आयोजित हुने खेलमा भाग लिनुस् वा नभए साथीहरू मिलेर यसको आयोजना गर्नुस् । यसले तपाईंलाई सक्रिय तथा तनावमुक्त राख्छ ।
♦ प्रशस्त मात्रामा स्वच्छ पानी पिउनुहोस् । पानीको बोतल सधैँ साथमै राख्नुहोस् । ग्यास्ट्रिक, युरिक एसिड, पिसाबसम्बन्धी समस्याको रोकथाम पानीले मात्रै गर्ने हुँदा पटक–पटक पानी पिइराख्नुस् ।