विश्व दृष्टि दिवस

जन्मेको चार वर्षपछि संसार नियाल्दा... 



Download our app to get more features

विराटनगर, २५ असोज । मोरङ पथरीशनिश्चरे–५ खर्सानटोलकी सबना खातुनले जन्मेको चार वर्षसम्म आफ्ना अभिभावकलाई देख्न पाइनन् । बाबुआमा साथीभाई र आफन्त चिन्ने उनको माध्यम भनेको आवाज मात्रै थियो । आवाज निकाल्ने मानिसको अनुहार कस्तो होला भन्ने अन्योल र पीडा उनका चार वर्षसम्म रह्यो । 
जन्मजात दृष्टिविहिन सबना खातुनको यो पीडा र अन्योल अब सदाको लागि अन्त्य भइसकेको छ । उनी अहिले ९ वर्षको भइन् । उनी अहिले आमाबुबा, साथीभाई र बाहिरी संसार अब निस्फिक्रीसँग नियाल्न सक्ने भएकी छिन् । ‘संसार नियाल्न सक्ने भएसँगै उनमा खुसीको कुनै सिमा छैन । हरेक वस्तु र व्यक्तिलाई अनौठो मानेर हेरिरहन्छिन् ।’ सबनाका आमा सादियाले भनिन् ।

विराटनगर आँखा अस्पतालले सबनालाई ०७० साल संसार हेर्न सम्भव बनाएको हो । अस्पतालले उनको दुवै आँखाको सफल शल्यक्रिया गरेको थियो । ‘पहिलो सन्तान छोरी जन्मियो,’ सबनाको आमा सदियाले भनिन्, ‘जन्मिएको छोरीले आँखा खोलिनन् ।’ सुरुमा यस्तै हुन्छ होला भनेर उनी घर गइन् । महिनौ बित्यो, वर्षौ भयो तर पनि छोरीले आँखा नदेखेपछि सबना दृष्टिविहीन भएको परिवारले थाहा पायो । उनको हेरचार गर्नको लागि एक जना खटिइनुपर्ने भयोे । दैनिक ज्यालादारी गरेर बिहान बेलुकाको छाक टार्ने खातुन परिवारको आर्थिक अवस्था नाजुक छ । चुराको बिक्री गरेर घर खर्च चलाउँदै आएका खातुन परिवारको घरमा एक दिन आँखा अस्पतालका कर्मचारी फिल्ड भिजिटमा पुग्यो । भिजिटमा गएका ससा खनालले सबनाको आँखा परीक्षण गरिन् । दुवै आँखामा ‘मोति विन्दु’ भएकोले विराटनगरमा रहेको आँखा अस्पतालमा लैजान सुझाव दिइन् । सबनाको उपचार निःशुल्क हुने भएपछि उनका परिवार विराटनगर आए । नेत्ररोग विशेषज्ञ डा. ललित सुरिनको टिमले सफल शल्यक्रिया गरेपछि अहिले सबनाको संसार रंगीन बनेका छन् । 

अाफैं स्कूल जान्छु : सबना
सबनाको घरमा बुधबार पुग्दा उनी स्कूल जाने तयारीमा थिइन् । स्कूलले लिएको आन्तरिक परीक्षा दिन उनी स्कूलको पोशाक लगाएर हतार गर्दै थिइन् । उनले हामीलाई देखेपछि आमाको काखमा बस्दै भनिन्, ‘अब मलाई हिडडुल गर्न कसैको सहारा चाहिँदैन । आफै स्कूल जान्छु अनि खाना पनि आफै खान्छु ।’ 
यूकेजीमा अध्ययनरत सबना अब कसैको साहाराबिनै हिंडडुल गर्न सक्ने भएकी छिन् । ‘पहिले खान र बस्न अरूको सहारा लिनुपथ्र्यो,’ सबनाका आमा सादियाले भनिन्, ‘अहिले बाहिरी वातावरणको आनन्द लिएकी छिन् ।’ सबना राम्रोसँग हिडडुल गर्ने र आफै लेखपढ गर्नसक्ने भएपछि उनका अभिभावकसमेत दंङ्ग परेका छन् । ‘जन्मदै छोरी दृष्टिविहीन जन्मिएपछि सुरुमा मलाई हेला गरे,’ सादियाले भनिन्, ‘पहिलो सन्तान छोरी, त्यसमाथि पनि दृष्टिविहीन हुँदा धेरै पीडा  सहनुप¥यो ।’ अहिले छोरीको सफल उपचार भएपछि संसार देख्न सक्ने भएकोले सबैले राम्रो गर्ने गरेको उनले बताइन् ।

सबनाको डाक्टर बन्ने चाहना 
जन्मजात दृष्टिविहीन सबनाको उपचारपछि देख्न सक्ने भएकीले उनको एउटै इच्छा रहेको छ भविष्यमा डाक्टर बन्ने । त्यो पनि नेत्ररोग विशेषज्ञ । मोरङको पथरीशनिश्चरे– ५ स्थित सुनदह ईङ्लिस स्कूलमा युकेजीमा अध्ययनरत सबनाको पढाइ समेत राम्रो रहेको स्कूलका प्रिन्सिपल प्रेमबहादुर चापागाईंले बताए । अहिले सबना ९ वर्षकी भएकी छिन् । उनले भनिन्, ‘भविष्यमा डाक्टर बन्नेछु । मैले चार वर्षमा मात्र संसार देख्न पाए । डाक्टर बनेर म पनि मान्छेको सेवा गर्नेछु ।’ सदियाको तीन छोरी छन् । 

Last modified on 2018-10-12 09:13:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts