सञ्चार माध्यममा डाक्टरको समाचार : भ्रम कि यथार्थ ? 



Download our app to get more features

काठमाडौका प्रायः एफएम र टिभीमा एउटा विज्ञापन बजिरहन्छ ‘पायल्स, फिस्टुला, जन्डिसको ग्यारेन्टीका साथ उपचार गरिन्छ..., फलानो क्लिनिक, फलानो डाक्टरसँग सम्पर्क गर्नुहोस् ।’ तर, पित्तनलीमा क्यान्सर भएका दुई महिलाले यस्तै विज्ञापनको भर पर्दा अकालमा ज्यान गुमाउन बाध्य भएको समाचार पनि सोही रेडियो र टिभीमा पनि केही समयमै बज्छ । म आफै कार्यरत अस्पतालमा पनि यस्ता केही केस पटक पटक आइरहेका हुन्छन् । यस बिषयमा मैले आर्टिकल पनि लेखेको छु । यस्ता विज्ञापनको भरमा परेर अकालमा स्वास्थ्य, पैसा र ज्यान गुमाउनेको असंख्या एकीन छैन ।

चिकित्सा आचारसंहिताले डाक्टरलाई सही उपचार गरे पनि विज्ञापन गर्न रोकेको छ । यस्ता विज्ञापनमा डाक्टर भनिएका ठगहरूलाई आचारसंहिताले किन छुदैन ? साथै मिडिया हाउस वा पत्रकार जगतलाई राज्यको चौथो अंगका रुपमा मानिदै आएको छ । तर पैसा पाइन्छ भन्दैमा जे पनि बजाउन, प्रचार गर्न मिल्छ र ? काठमाडौंमा यसरी प्रचार गरेका धेरै अवैध संस्था गैरकानुनी प्रमाणित भएका छन् । विज्ञापन गर्ने संस्थाको वैधता नै पुष्टि नभई यसरी विज्ञापन हुँदा जनतामा के असर परिरहेको होला ? मलाई थाहा छैन । सायद कानुनी हिसाबमा पैसा लिएर विज्ञापन गर्न पाइन्छ होला, तर चौथो अंग दावी गरेपछि समाजप्रति पनि उत्तरदायी हुनुपर्ने होला । 
यस्ता विज्ञापनको विकराल रुप मैले झापामा देख्ने र अनुभव गर्ने अवसर पाए । यहाँका रेडियो र टिभीमा विज्ञापन बज्छ, ‘भारतको पानीटंकीमा पायल्स, फिस्टुला, फिसरको बिना शल्यक्रिया उपचार गरिन्छ । माता पाथीभरा क्लिनिक,  सम्पर्क फलानो घिमिरे, शान्तिनगर झापा ।’ माता पाथीभरा नाममा खोलिएको अवैध धन्दाले मृत्युको मुखमा पु¥याएको करिब २२ जनालाई आइसियुमा राखेर मेरै टिमले उपचार गरेको छ । विज्ञापन कति प्रभावकारी हुन्छ भने नेपालीले नेपालीलाई उपचार गर्न नेपालको सट्टा भारतमा क्लिनिक खोल्नु ठगी धन्दा हो भन्ने घाम जत्ति कै छर्लंग भएपनि विज्ञापनको भरमा मान्छे ठगिन पुग्छ । यसमा कसको गल्ती होला ? 
मलाई यो बिषयमा केहि लेख्न पहिले नै मन थियो । आज झन् अचम्मको समाचार आयो । त्यो पनि देशको एक नम्बर दावी गर्दै आएको राष्ट्रिय सञ्चारमाध्यममा समाचारको शिर्षक छ, ‘मृत घोषणा गरिएका बालक जीवित भेटिएपछि अस्पताल तनावपुर्ण,’ ( ६ असोज ०७५ कान्तिपुर अनलाइन) । घटना के हो त भन्ने कौतुहल भयो । यो घटना सगरमाथा अञ्चल अस्पतालको घटना रहेछ । सो बालकलाई हेर्ने डाक्टरको फेसबुकमा स्टाटस आयो ‘यो बच्चा सुरुमा मैले हेरेको हो, ल्याउँदा मृत नै थियो, परिवारले खाटबाट लडेको भनेको थियो ।  समाचारमा सर्पले टोकेको र पुनः जीवित भएको भनेको छ अरु थाहा भएन ।’ केही घण्टामा कान्तिपुरमा समाचार सच्याइएको छ, र भनिएको छ, ‘अगाडिको समाचार बच्चाको आफन्तको भनाइमा मात्रै आधारित भएकोले सच्याइएको छ’ अहिलेको समाचार छ, ‘सर्पदंशले बालक मृत्यु भएपछि अस्पतालमा तनापूर्ण ।’ यसमा लेखिएको छ, ‘बालक ज्यूदै भएको दावी गर्दै बालकका आफन्तले शबगृह तोडफोड गरेको उल्लेख छ ।’ घटना अनुसार सर्पले टोकेर भएको बालकको मृत्यु स्वीकार गर्न नसकेको परिवारले अस्पताल तनवग्रस्त बनेको जस्तो देखिन्छ, वा सर्पले टोकेको मान्छे ‘मरेजस्तो देखिए पनि जिवितै हुन्छ’ भन्ने अन्धविश्वासबाट प्रेरित देखिन्छ । तर उक्त समाचार जसले पढे, उनीहरुको नजरमा ‘डाक्टरले मृत र जीवित बिचमा फरक छुट्याउन सकेनन्’  भन्ने अर्थ लगाउछन । यसर्थ यस्ता समाचारमा जिम्मेवारीपन कहाँ छ ? सूचना दिने संवाददातादेखि यसलाई सम्प्रेसन गर्ने विभिन्न तहका व्यक्तिमा जिम्मेवारी वहन गर्ने क्षमता देखिदैन । 

रबि लामिछाने पछिल्लो समयमा निकै चर्चामा छन् । उनको टेलिभिजन कार्यक्रम र मिडिया स्टन्ट हेर्न लायकको हुन्छ । हाउभाउ, एक्सप्रेसन र बेजोड प्रस्तुतिले सो कार्यक्रमलाई आर्कषक बनाएको छ । यसरी जनताको उद्दारका लागि पहलकदमी गर्नु सकारात्मक कुरो हो । उहाँको कामको प्रसंसा गर्नै पर्छ । भदौ पहिलो हप्तातिर उनको कार्यक्रममा एउटा सनसनीपूर्ण खेजी समाचार आयो । पर्वत जिल्ला अस्पतालमा नभाँचिएको हातमा प्लास्टर गरेर डाक्टरले चरम लापरबाही गरे भनेर ।

सो समाचारपछि हजारौं नेपाली नागरिकले डाक्टरलाई गाली गरे, गालीको स्वरले फेसबुकका वाल भरिए । फेवासिटी अस्पतालमा भोलिपल्ट गरिएको एक्सरेमा हड्डीमा चोट नभएपछि प्लास्टर निकालियो भनियो । कुरा बुझ्दै जाँदा, हात सुनिएको भएर स्ल्याब राखेको रहेछ ।  एक हप्तामा सुनिएको कम भएपछी प्लास्टर निकालिएको रहेछ । रबिजीलाई कार्यक्रम बनाउन यति हतारो रहेछ की, हाडजोर्नीको पुर्जा राख्नुपर्ने ठाउँमा नाक काँन घाँटीको परेछ । एक हप्तामा निकालेको प्लास्टरलाई एकदिन भन्दिनुभयो । सो बिरामी हेर्ने दुबै डाक्टरको प्रष्टिकरण र सम्पर्क नम्बर लेखकसँग सुरक्षित छ । सनसनी पनि भयो, खरो समाचार पनि । दबंग रबिजीको टिआरपी पनि बढ्यो होला । डाक्टरलाई गाली गर्न पनि पाए मान्छेले, अविश्वास पनि भयो । भएन के भन्दा जिम्मेवारीयुक्त सहि सूचना । यस्तै पत्रकारितामा आम मानिसले आशा गर्ने हो ? रबिजीलाई म्यासेज गर्न खोंजे, फेसबुकमा उहाँको सयौं आइडी छन्, कुन सही हो भनेर ठम्याउन सकिन । उहाँको सहकर्मी रिया भण्डारीलाई सुझाब दिएँ, वास्तविक पत्रकारिता गरेको हो भने फेरि सबै डाक्टरसँग फोन वार्ता गरेर अर्को कार्यक्रम बनाउनु भनेर । त, रबिजीको अर्को कार्यक्रम आएको छैन । 

भदौ पहिलो सातातिरै हुनुपर्छ नयाँ पत्रिका दैनिकमा एउटा स्वास्थ्य सम्बन्धी लेख आयो, अनुहारमा हुने चाया मेलास्माको बारेमा । सो लेखको टाइटल छ, ‘कुरूप बनाउने मालेस्मा’ र यो समान्य प्राविधिक त्रुटी हो, तर यसले जनाउँछ, स्वास्थ्यको समाचार वा सम्प्रेषणमा नेपाली मिडिया कतिको सचेत हुने चेष्टा गर्छ । अझ रमाइलो प्रसंग छ, मनमोहन अस्पतालको । एक जना बिरामीको मिर्गाैलाको पत्थरीको अपरेसनको क्रममा रक्तश्राब ज्यादा भएर ज्यान बचाउनको निम्ति मिर्गाैला नै निकाल्नु पर्ने स्थिति आयो । परिवारको सहमतिमा मन्जुरिनामा लिएर मिर्गाैला निकालियो । बिरामी निको भयो, घर गयो  पछि के भयो कुन्नि, फेरी बिरामीको त्यो समुह मनमोहन अस्पतालमा आन्दोलन गर्न आइपुग्यो । त्यस बखतका सबै पत्रिकामा समाचार आयो, ‘मनमोहन अस्पतालले मिर्गाैलाको चोरी तस्करी गर्यो’ । 
यसपछि केही समाचारपत्रको समाचार साभार गर्दा झन अनौठा अनौठा शिर्षक आए । ‘मिर्गौला तस्करी गर्दै मनमोहन अस्पतालर’ ‘मिर्गाैला चोरी प्रकरणले संसदमा ठाउँ पायो, छानबिन समिति गठनको माग’  ‘मनमोहन अस्पातालमा पत्थरीको अपरेसन गर्दा मिर्गाैला निकालियो,’ ‘बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाड’ यस्तै यस्ता समाचार शिर्षकले बजार तताए ।  सपछि खोजबिन भयो । झिकेको मिर्गाैला फर्मालिनको बट्टामा अस्पतालम थियो । ज्यान बचाउन मिर्गाैला निकाल्नुपरेको हो भन्ने प्रमाणित भयो । छानबिन समितिको निष्कर्ष समाचार बनाउने आँट न त पत्रिकाले गरे, न त यसको निष्कर्षको बारेमा समाचार पढेका सांसद र जनताले नै जान्न खोजे । 

अस्पतालमा भएको जुनसुकै मृत्युलाई डाक्टरको लापरबाही भनेर समाचार लेख्नु अहिलेको पत्रकारले नैसर्गिक अधिकार नै ठान्छ ।  समाचारमा किटानी नै गरिएको हुन्छ कि डाक्टरले लापरबाही गरेको हो । पढ्दा वा सुन्दा यस्तो लाग्छ कि पत्रिकाको समाचार हैन, अदालतको न्यायाधीसले लेखेको फैसलाको पूर्णपाठ हो । यस्ता पत्रकारिताले किटानी गरेका लापरबाहीका ०.१५ पनि प्रमाणित भएका छैनन् । 

एकजना स्तम्भकार हुनुहुन्छ खगेन्द्र संग्रौला । उहाँको ट्वीटरमा लेखिएको स्टाटसमा भनिएको छ, ‘यमराज र डाक्टरमा के फरक हो भने, यमराजले प्राण हरण गर्छ, तर डाक्टरले पैसा, र त्यसपछि प्राण’  संयोग नै हो, यो स्टाटस लेखेको एक महिनामा उहाँको प्रोस्टेटको सफल शल्यक्रिया भयो । उहाँको के हरण गरियो त्यो उहाँलाई थाहा होला, तर डाक्टर भएको नाताले एउटा कुरा त छाती ठोकेर नै भन्छु, आफ्नु ज्यान मर्ने प्रयास गरेको दुश्मन नै किन नहोस्, उसको उपचार आफ्नै परिवारको सदस्य जस्तै ठानेर सेवा गर्ने पेशा चिकित्सा पेशा मात्रै हो । अरु कसैको छैन र संग्रौलाजीले बुझ्नु नबुझ्नुले यसमा खासै अर्थ राख्दैन । यो मेरो पेसाको पवित्रता हो ।  यस्ता धेरै फेहरिस्त छ, सबै लेख्यो भने एउटा महाकाव्य नै बन्छ । यी केही प्रतिनिधि घटना मात्र हुन् । छापामा वा मिडियामा आएका जति डाक्टर वा अस्पतालसँग सम्बन्धित समाचार वा प्रचार छन् । अधिकांस झुठा, अप्रमाणित, हचुवा प्रकृतिका छन् । यसले मिडिया हाउसमा स्वास्थ्यसँग सम्बन्धित समाचारलाई कति हल्का र पूर्वाग्रहयुक्त वा दुबै मिसिएको बदनियतपूर्ण हिसाबमा लिन्छन भन्ने प्रस्ट देखिन्छ । 

(यस आर्टिकलमा उल्लेख गरिएका सबै प्रसंग वास्तविक हुन् । जसको प्रमाण लेखकसँग सुरक्षित छ ।) 
 

Last modified on 2018-09-27 14:18:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts