तनाव कम गर्न उपयोगी जडिबुटीः अश्वगन्धा
नेपाली नामः अश्वगन्धा
संस्कृत नामः अश्वगन्धा, बराहकर्णी, बाजियोगंधा
अँग्रजी नामः Ashwagandha
ल्याटिन नामः Withania Somnifera
सामान्य परिचयः यसको २ देखि ५ फिट अग्लो हाँगा बिगा युक्त बोट हुन्छ । यो बोट तरार्इं र निम्न पहाडी भागमा पाइने भएतापनि अहिले भारतबाट आयात गरिन्छ । पात सेतो झुसयुक्त र २ देख ४ इन्च लामा हुन्छन र लगभग अण्डाकार हुन्छन् । फूल शरद ऋतुमा फुल्छन र फीका पहेंलो हरियो झुप्पामा फुल्छन । फल गोला र पाकेपछि राता हुन्छन् । जसमा ससाना पहेंला र चेप्टा बीज हुन्छन् ।
मूल (जरा) देखि १ देखि डेड फीट लामो, औंला जत्रो मोटो, बलियो, बाहिर फुस्रो र भित्र सेतो हुन्छ । काँचो ताजा जराबाट घोडाको जस्तो गन्ध आउँछ । त्यसैले यसलाई अश्वगन्धा भनिएको हो ।
औषधिमा उपयोगी भागः मूल (जरा)
रसः कटु (पिरो), तिक्त (तितो), मधुर (गुलियो)
गुणः लघु (हल्का), स्निग्ध (चिल्लो)
बिपाक (खाएपछि परिणत हुने रस): मधुर (गुलियो)
वीर्यः उष्ण (तातो)
दोष अनुसारको कर्मः कफ र बात समन गर्ने ।
मुख्य उपयोगः वाजीकर (नपुंसकतामा वीर्यबर्धक र उत्तेजक), दौबल्य (दुर्वलता), बातब्याधी (वायु सम्बन्धी रोग) अनिद्रा (निद्रा नपर्नु), शोष (सुक्नु, खासगरी बालशोष) मा उपयोगी हुन्छ ।
औषधिको स्वरुप र मात्राः चूर्ण ३ देख ६ ग्राम र तेल बाहिर लगाउन चाहिए जति
उपयोग गर्ने तरीकाः चूर्ण घिउ अथवा महमा फिटेर दूधसँग विहान सबेरै र बेलुका सुत्ने बेलामा खाने ।
चक्तचाप बढी हुनेले पनि अश्वगन्धा खान हुन्छ ।
बातब्याधि (वायु सम्बन्धि रोग) शोष (सुक्ने रोग), स्तन शैथिल्य (आइमाइको दुध धेरै गिलो भएमा) लिंग शैथिल्य अश्वगन्धाको शास्त्रीय विधि अनुसार तेल बनाई त्यो तेल मालिस गर्दा फाइदा गर्छ ।
तयारी औषधि अश्वगन्धा चूर्ण १, २ चम्चा धूलो अश्वगन्धारिष्ठ २ चम्चा बराबर पानीमा मिलाई, अश्वगन्धा तेल उपयोग गर्नु राम्रो हुन्छ ।