जब भद्रपुर नगरका प्रमुखले मुसाको शल्यक्रिया गराए...



Download our app to get more features

काठमाण्डौ, ९ असोज । झापाको भद्रपुर नगरपालिकाका प्रमुखले मुसाको शल्यक्रिया गरेको समाचार यतिबेला स्थानीयस्तरमा रोचक प्रसंग बनेको छ । 

नगरप्रमुख जीवनकुमार श्रेष्ठको हातमा रहेको मुसाको सोमबार बिहान मेची अञ्चल अस्पतालमा शल्यक्रिया भएको हो । प्रमुख श्रेष्ठको अस्पतालका सर्जनद्वय डा. रामबाबु खड्का र डा. दीपक सिंहले शल्यक्रिया गरेका हुन् । तत्कालिन एमालेबाट निर्वाचित प्रमुख श्रेष्ठले हातमा आएको मुसाको शल्यक्रिया गराएको फोटो नगरपालिकाले आफ्नो फेसबूक पेजबाट प्रकाशन गरेको छ । पोष्टमा भनिएको छ, '२०७५ - ६- ८ गते १०.३० बजे मेची अञ्चल अस्पताल भद्रपुरमा नगर प्रमुखज्यूका हात आएका मुसाहरु डा.रामबाबु खड्का र डा दीपक सिंहको टिमले शल्यक्रिया गरि दिनुभएकोले डाक्टरहरुलाई धन्यबाद र प्रमुखज्यूको स्वास्थ्य लाभको कामना छ ।'

नगरले फेसबूकमा मुसाको शल्यक्रिया गराइरहेको फोटो सहित पोष्ट गरेपछि उनको खिल्ली उडाइएको छ । कामका कुराभन्दा हल्का विषयहरु स्थानीय तहको पेजमा राखिएको भन्दै नगरपालिकाको आलोचना गरिएको छ । कतिपयले मेयरको हातकोमात्र मुसाको शल्यक्रिया गरेको ? नगरभित्रका मुसाको शल्यक्रिया कहिले ? भन्दै प्रश्न गरेका छन् ।  शल्यक्रिया गराइरहेको फोटोमा देखिएको अस्पतालको दूरावस्था र फोहोर भित्ताहरुको पनि टिप्पणीकर्ताहरुले आलोचना गरेका छन् । 

नगरको फेसबूक पोष्टमा आसिम घिमिरे टिप्पणी गर्छन, 'नगर प्रमुखज्युको हातमा आएको मुसा, घरमा आएको बिरालो, गाउँमा आएको कुकुरको अपडेट होइन हाम्रो भद्रपुरमा भैरहेको अनि हुनलागेको बिकास निर्माणका काम कारबाही के कस्तो हुँदैछ  त्यो चै अपडेट गर्दा राम्रो हुन्थ्यो कि !'


 

Last modified on 2018-09-25 13:27:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts