रुवाइ: एक थेरापी



Download our app to get more features

मानिस जन्मनासाथ पहिलो प्रतिक्रिया वा व्यवहार स्वरुप रुने गर्छ । यसर्थ मानिसको पहिलो भाषा रुवाई नै हो । गर्भभित्रको वातारण तथा जीवनशैली र जन्मेपछिको बाहिरी वातावरण एवं जीवनशैली फरक पर्दा हुने कठिनाई समायोजनको प्रक्रियामा उ रुने गर्छ । आमाको गर्भमा हँुदा शिशुले आफै नाकबाट श्वास लिनु पर्दैन । नवजात शिशु जन्मिने बित्तिकै रोएन भने चिमोटेर वा प्याट प्याट पिटेर भए पनि रुवाउने प्रयास गरिन्छ । यसले श्वासप्रश्वास प्रक्रियालाई सहज बनाउँछ । 

बच्चाले रुँदा गहिरो सास लिन्छ । सुख, दुःख दुबैमा मान्छे रुने गर्छ । तर, भावनात्मक चोट पर्दा व्यक्ति बढी जसो रुने गर्छ । हाँसो, खुसी, क्रोध, निरासा, लाज, घृणा, माया जस्तंै रुनु पनि एक प्रकारको भावना वा संवेग हो र मन नै भावनाको स्रोत हो । भावना शरीरभित्रको रासायनिक प्रतिक्रिया हो । सबै भावनाको नियन्त्रण र सञ्चालन दिमागले गर्ने गर्छ । मस्तिष्कको बीच भाग, लिम्बिक सिस्टमले सबै प्रकारका भावनाहरू  नियन्त्रणमा राखी परिचालन गर्ने काम गर्छ । अरु भावनाहरू जस्तंै रुनु पनि मन र मस्तिष्कसँग सम्बन्धित क्रियाकलाप हो । भावनाहरू विशेषगरी अनुहारमार्फत व्यक्त हुन्छन् ।

मानवजातिको लागि रुवाई नै पहिलो भाषा भएकाले नवजात शिशुले भोक लाग्दा, डर लाग्दा, असजिलो हँुदा, एक्लो हँुदा, आवश्कता पुरा नहँुदा रोएर समस्या व्यक्त गरिरहेको हुन्छ । बिस्तारै उसले इसारा गर्न, बोल्न सिक्दै गएपछि भने रुवाई क्रमशः कम हुँदै जान्छ । सबै उमेर समूहका व्यक्ति मनमा चोट पर्दा दुःखी हुने, रुने गर्छन् । तर, व्यक्ति, उमेर र परिवेश अनुसार रुवाइको प्रकृति भने फरक फरक हुन सक्छ । कोही सुक सुक गरेर रोलान, कोहि भने डाँको छोडेर रोलान । 

हरेक पटक आउने आँशु फरक प्रकृतिका
आँखाबाट निस्कने तरल पदार्थ जसलाई अाँशु भनिन्छ । यो एकै प्रकारको हुँदैनन् । यसमा पनि रासायनिक अन्तर पाइन्छ । दुःख र भावनात्मक चोट पर्दा निस्कने आसु (संवेगात्मक आँशु), आँखामा केही धुलो, कसिंगर पर्दा निस्कने आँसु (आँखाको पानी) र आँखालाई ब्याक्टेरियाबाट बचाउन तथा आँखालाई सुख्खा हुनबाट रोक्न अश्रुग्रन्थीबाट निस्कने आँशु फरक हुन् । 

कहिले काही हामी फिल्म हेर्दा, उपन्यास, कथा आदि साहित्य पढ्दा, गीत सुन्दा पनि रुने गर्छाै । काल्पनिक नै भए पनि कथा र पात्रमा डुब्दा हाम्रो मस्तिष्कको दायाँ गोलार्ध बढी सक्रिय हुन थाल्छ । जुन भावनासँग सम्बन्धित हुन्छ । जसले गर्दा भावनामा डुबेर हामी रुने गर्छाै । तर, बायाँ गोलार्ध अरु बेला भन्दा कम सक्रिय हुन्छ । जुन तर्क तथा तथ्यसँग सम्बन्धित हुन्छ । मानिस रुनुको पछाडि धेरै कारण छन् । जस्तो भावनात्मक चोट लाग्दा, मनमा पिर पर्दा, तनाव हँुदा, निरास हँुदा, बिछोड तथा आफन्तसँग छुट्टिनु पर्दा, शारीरिक चोट पटक लाग्दा, शारीरिक दुखाई, सोचेजस्तो परिणाम नआउँदा, असफल हुँदा, अप्रत्यासित सफलता वा खुसीको समाचार सुन्दा, कसैले गाली, दुव्र्यवहार, हेला, अपमान, आरोप तथा लान्छना लगाउँदा, अत्याधिक रिस उठ्दा, पछुतो हँुदा आफ्नो गल्ती महसुस हँुदा, बिछोड पछिको मिलन हँुदा, अरुको पीडा देख्दा सुन्दा, कसैले आफुप्रति सहानुभुति राख्दा, कामको मुल्याङ्कन गर्दा, प्रशंसा गर्दा, माया गर्दा आदि अवस्थामा मानिस रुने गर्छ । 

रुनुको फाइदाहरू 
जब मनको पिर, ब्यथाले सहज निकास पाउँदैन तब व्यक्ति रुन्छ । पिर,  दुःखमा प्रायः सबैलाई रुन मन लाग्छ । तर, सामाजिक परिवेश वातावरणको कारण निर्धक्कसँग रुने अवसर नमिल्न पनि सक्छ । पीडालाई दबाएर राख्नु व्यक्त नगर्नु भन्दा मन खोलेर रुनु मानसिक तथा शारीरिक स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

हाम्रो समाजमा भने पीर पोख्न रोएको व्यक्तिलाई नरोउ भनेर सम्झाउने, अझ केटो मान्छेलाई त झन् छोरा मान्छे भएर रुनु हुन्न भन्ने, रुनुलाई कमजोरीपन, कमजोर मन भएको व्यक्तिको रुपमा हेर्ने गरिन्छ । यो राम्रो कुरा होइन । भन्ने गरिन्छ ‘मनको पिर आँशुले बगाएर लान्छ ।’  नभन्दै रुँदाखेरी मन हल्का र सफा हुने, तनाव कम हुने, रिस कम हुने, मुड राम्रो हुने, आन्नन्दको महसुस हुने, सोच सकारात्मक हुने, टाउको तथा शरीरको दुखाई कम हुने हुन्छ । तनाव, दुःख, पीडा हँुदा शरीरमा उत्पन्न भएको बिकारहरू आँशुमार्फत बाहिर निस्कन्छ । ठुलो मानसिक चोट पर्दा पनि व्यक्ति रुन सकेन भने पछि उसमा मानसिक रोग देखा पर्ने सम्भावना  हुन्छ । रोएपछि व्यक्तिले अरुको मदत पाउने, अरुले ध्यान आफुतिर तान्ने मौका पाउँछ । रुवाई, दुःख, पीडा व्यक्त गर्ने अर्मुूत भाषा पनि हो । यो सबैले बुझ्न सक्छन् । जो व्यक्ति रुन लजाउँदैन, ऊ मानसिक रुपमा बलियो हुन्छ । सजिलैसँग रुने व्यक्ति भावना अरुसँग पोख्न डराउदैनन् ।

रुवाइ : एक प्रकारको थेरापी 
रुनुलाई एउटा थेरापीको रुपमा पनि लिन सकिन्छ । रुदा आँशुसँगै मस्तिष्कबाट इन्र्डोफिन नामक हर्माेन निस्किन्छ । जसबाट मनमा हल्का एवं आनन्दको महसुस हुन थाल्छ, तनाव कम हुने, शान्त, हलुका र आनन्दको महसुस हुन्छ । रुँदा मस्तिष्कको लिम्बिक सिस्टमको कार्यमा कमी आउँछ । जसले गर्दा पनि आरामको महसुस हुन्छ । रुनुलाई नेचुरल पेनकिलर पनि मानिन्छ । तर, सानो सानो कुरामा पनि तनाव लिनु, चित्त दुखाउनु, बढी इमोशनल हुनु, रुनु चाही राम्रो होइन । यसले दिमागमा नकारात्मक असर पार्न सक्छ । धेरै रुने व्यक्ति खुसी हुन सक्दैन । साथै गलत बानीको विकास हुन पनि सक्छ । 

महिलाको मन कमलो हुन्छ । त्यसैले धेरै रुने गर्छन भन्ने गरिन्छ । एक अध्ययनबाट पनि महिला पुरुष भन्दा चार गुणा बढी रुने गरेको देखिएको छ । यसो हुनुको पछाडि महिलामा प्रोलैक्टिन नामक हर्माेन हुन्छ जसले रुन प्ररित गर्ने गर्छ । व्यक्ति भावुक हँुदा इन्डोक्राइन सिस्टमले आँखाको क्षेत्रमा हर्माेन निकाल्न थाल्छ । जुन आँखामा अाँसुको रुपमा रसाउन थाल्छ । मनमा चोट परेका व्यक्तिलाई रुनको लागि उत्साहित गर्नुपर्छ । उनीहरूलाई रुनबाट रोक्नु हँुदैन । तर, आफ्नो कुरा वा स्वार्थ पुरा गर्न रुवाईलाई नै अस्त्रको रुपमा प्रयोग गर्ने केटाकेटी, महिला आदिलाई भने यस्तो व्यवहार गर्नबाट निरुत्साहित गर्नुपर्छ । 
 

Last modified on 2018-08-31 06:59:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts