जेनेरिक औषधिः भ्रम र वास्तविकता
विकसित तथा अतिविकसित मुलुकहरुमा करोडौं अरबौं पैसा खर्चेर लामो अनुसन्धानपछि औषधिको इनोभेसन गरिन्छ । अझैं यसलाई इन्भेसन नै भनौं । त्यसरी आविष्कार भएका औषधिले निश्चित समयका लागि उक्त औषधिको पेटेन्ट सुरक्षित गर्छन । आफ्नो सिर्जनाका रुपमा पेटेन्ट गरिन्छ । क्यान्सर, एचआइभीका औषधि तथा खोपहरु आविष्कार हुँदा पेटेन्ट राइटसहित बन्छन् । त्यस्ता औषधि अरुले उत्पादन गर्न पाउँदैन । तर, नेपालजस्ता कम विकसित मुलुकको हकमा भने त्यो नियम लागु हुँदैन । यद्यपी, हामीहरुले त्यसको फाइदा लिनसकेको छैन । औषधिको अनुसन्धान तथा उत्पादनका आधारमा पेटेन्टको अवधि तोकिन्छ । सो अवधिभर निर्माण गर्न अरु कम्पनीले इजाजत दिएको अवस्थामा मात्र अरुले उत्पादन गर्न पाउँछ ।
यसमा हामीले बुझ्न पर्ने मूलभूत कुरा के हो भने औषधिहरुको पेटेन्ट अवधि सकिएपछि सबै औषधि जेनेरिक हुन्छ । यो जेनेरलाइज भएको हो भन्दा पनि हुन्छ । नेपालमा उत्पादन हुने सबै औषधि जेनेरिक हुन् । यहाँ कुनै पेटेन्ट औषधि बन्दैन । वषौं अघि पेटेन्ट गरेर फुकुवा भएका औषधि नेपालमा बन्ने गर्छन । पेटेन्ट औषधि र जेनेरिक औषधिको मूल्यमा आकाश जमिनको फरक हुन्छ । पेटेन्ट प्रडक्टमा ठूलो पुजँी त्यसको अध्ययन, अनुसन्धान, समय र आविष्कारमा खर्च भएको हुन्छ । तर, जेनेरिक औषधिमा त्यो सब खर्च नहुने हुँदा मूल्य एकदमै सस्तो हुन्छ । यहि औषधि हामीले बनाइरहेका छौं ।
जेनेरिक औषधि सिफारिस गर्दा औषधिको मूल्य घट्छ भन्ने भ्रम छ । जुन गलत हो । हामीले अहिले बनाइरहेका सबै ओषधि जेनेरिक हुन र सस्तो छन् । फरक कम्पनीहरुले फरक नाम दिएकामात्र हुन् ।
जेनेरिक औषधि सिफारिस गर्दा के समस्या हुन्छ ?
यदि कम्पनीहरुले दिएको नाम सिफारिस नगरी जेनेरिक सिफारिस गर्ने हो भने यसले जनस्वास्थ्यमा ठूलो समस्या निम्त्याउँछ । यसको परिणाम दुईतीन महिनादेखि नै देखिन्छ । एउटै जेनेरिकको थुप्रै औषधि बनेका हुन्छ । त्यसमा गुणस्तरीय पनि बन्छन् कमसल पनि बन्छन् । डाक्टरले गुणस्तरका आधारमा ब्राण्ड लेख्न नपाएपछि बिरामीलाई फार्मेसी पसलको बिक्रेताले जुन औषधि दिन्छ त्यही खानुपर्ने हुन्छ । औषधि दिनेले गुणस्तरबारे जानकारी नराखी मुनाफाका आधारमा औषधि दियो भने के हुन्छ ? सबै ठाउँमा फर्मासिस्टले औषधि दिने हो भनेपनि यसले ठूलो समस्या नल्याउन सक्थ्यो होला । तर, हाल नेपालमा आवश्यक पर्ने फर्मासिस्टको एकछेउ पनि उत्पादन हुनसकेका छैनन् । उत्पादन भएकाहरुको पनि प्रमाणपत्रमात्र झुण्ड्याइएको छ । बेच्ने ठाउँमा प्रायः औषधिविज्ञान नपढेकै मान्छे हुन्छ । जसलाई औषधिको नाम कण्ठमात्र गरेको हुन्छ । हामीले कोक, फेन्टा वा जे भएपनि ब्राण्ड खान्छौं, पानीकै पनि थुप्रै ब्राण्ड आइसक्यो । ब्राण्डहरुमा आआफ्नै विशेषता छन् । औषधि भन्ने बित्तिकै हामीले मूल्यसँग तुलना गर्ने चीज होइन यो गुणस्तरमा तुलना हुन्छ । र ब्राण्ड पनि गुणस्तरकै आधारमा निर्माण भएको हुन्छ । मूलतः जेनेरिक नै उत्पादन भएकाले जुन ब्राण्ड भएपनि मूल्यमा ठूलो अन्तर हँदैन । त्यहाँमाथि सरकारले नै औषधिको मूल्य तोक्ने भनिएको छ । जसले गर्दा मूल्य नियन्त्रणका लागि जेनेरिकमै जान पर्छ भन्ने छैन ।
डाक्टरले आफु अनुकुल सिफारिस गर्न त रोकिन्छ नि ?
ठूलो मेहेनत, संघर्षपछि कोही मानिस डाक्टर बन्छ । उसको पहिलो धर्म भनेको बिरामीलाई निको बनाउनु हो । उसले कसैको प्रभावमा परेर गलत औषधि सिफरिस गर्छ भन्ने लाग्दैन । हजारौंमा एकदुई जना गलत प्रवृत्ति त जुनै क्षेत्रमा पनि हुन्छ । चिकित्सकलाई प्रभावमा लिनेभन्दा पनि औषधि उत्पादकहरुले आचारसंहिता भित्र रहेर अध्ययन, तालिमहरुमा सहयोग गर्ने हो । यदि गलत ढंगबाट प्रभावमा लिन खोजिन्छ भने औषधि उत्पादक संघ सँधै त्यसको विपक्षमा हुन्छ ।
औषधिको गुणस्तरका बारेमा जानकार चिकित्सक हुन् । डाक्टरहरुको पनि आआफ्नै ब्राण्ड हुन्छ । उसले कयौं बिरामी र आफ्नो अनुभवबाट औषधिको प्रभावकारिता र गुणस्तर मापन गरेर ब्राण्डका आधारमा सिफारिस गर्छ । एकाध डाक्टरको कमजोरीलाई सामान्यीकरण गरेर जनस्वास्थ्यमा खेलवाड गर्ने खालको कमजोर निर्णय गर्नुहुँदैन । गुणस्तरीय भएर नै ब्राण्ड बनेको हुन्छ । ब्राण्डलाई अविश्वास गर्नु हुँदैन । बरु, स्वदेशमा उत्पादन हुने औषधिको गुणस्तरलाई कसरी वृद्धि गर्ने भन्नेमा हामी सरकारलाई साथ दिन तयार छौं ।
भारतमा सरकारले खरिद गर्ने औषधिहरु जेनेरिकका आधारमा खरिद गर्छ । सर्वसाधारणलाई निःशुल्क दिने औषधि खरिद गर्दा ठूलो परिमाणमा किनिन्छ । जसमा मूल्य एकदमै कम हुन्छ । नेपालमा पनि सरकारले निःशुल्क वितरण गर्ने औषधि त्यसरी खरिद हुन्छ । तर, सर्वसाधारणले खुद्रा किनेर प्रयोग गर्ने औषधिमा गुणस्तरको प्रत्याभूत हुनका लागि ब्राण्ड आवश्यक छ । डाक्टरले आफुलाई ठिक लाग्ने औषधि लेख्न पाएन भने उ कसरी बिरामीप्रति जवाफदेही हुनसक्छ ?
अबको बाटो
अब हामी औषधिको जेनेरिक र ब्राण्डका विषयमा व्याप्त भ्रमहरु चिर्नका लागि सबै सरोकारवाला निकाय तथा क्षेत्रसँग छलफल गछौं । औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय, संसदको विधेयक समितिहरुमा पनि छलफल गरेर वास्तविकता बुझाउन प्रयत्न गछौं । औषधिलाई जनेरिकमा मात्र लेख्दा बोर्डर बाहिरबाट आउने गुणस्तरहित अतिसस्ता औषधि जनताको मुखमा पर्नसक्छ । डाक्टरले गलत औषधि सिफारिस गर्छ भन्ने भ्रमको पछि लागेर पपुलिष्ट निर्णय सांसदज्यू हरुले गर्नुहुन्न भन्नेमा विश्वस्त छौं । सस्तो औषधिको नाममा औषधि बिक्रेताले नाफाका आधारमा दिएको औषधिले जनस्वास्थ्यमा ठूलो समस्या ल्याउँछ ।
(कुराकानीमा आधारित, फार्मेसी विषयमा स्नातकोत्तर गरेका पाण्डे लोमस फर्मास्युटिकलका कार्यकारी निर्देशक पनि हुन् । )
सहिकुरो !