मुखबाट अमिलो पानी किन आउँछ ?



Download our app to get more features

मुखबाट अमिलो पानी आउने समस्या हामी धेरैमा हुन सक्छ । प्रायस् बिहान उठ्ने बित्तिकै यो समस्या देखिने हुन्छ । मुख्यतः पेटमा रहेको एसिड लगायतका तरल पदार्थ खाना जाने नली हुँदै माथि आएमा यस्तो लक्षण देखिन्छ । स्वस्थ मानिसमा खाना जाने नली र सञ्चय हुने पेटको बीचमा मांसपेशीले कसिलो बनाएको हुन्छ जसले गर्दा एसिड माथि आउन पाउँदैन । तर कुनै पेटको समस्याले त्यो खुकुलो हुन गएमा एसिड माथि आइ अमिलो पानी आउने समस्या देखिन्छ ।

कुन कुन रोगमा यस्तो समस्या देखिन्छ ?
ग्यास्ट्राइटिस
रिफ्लक्स डिजिज
अल्सर
खाना नलीको मांशपेशीको समस्या
पित्तथैलीमा ढुङ्गा हुनु वा अन्य पित्तथैलीको समस्या
आन्द्राहरु माथि फोक्सोतिर आउने समस्या (डायफ्रामेटिक हर्निया)

अरु लक्षणहरु के के देखिन्छ ?
मुखमा अमिलो पानी आउनेको साथमा अरु निम्न लक्षणहरु पनि देखिन सक्छः
वाकवाकी लाग्ने
वान्ता हुने
खान मन नलाग्ने
दुब्लाउँदै जाने
छाती पोल्ने
निल्न गाह्रो हुने
खोकी लाग्ने
घाँटी दुख्ने
दातको रंग बिग्रने

कस्तो बेलामा खतरा हुनसक्छ ?
अमिलो पानी आउने साथसाथै निम्न लक्षण देखिएमा त्यसको उपचारको निम्ति तुरुन्त अस्पताल गइहाल्नुपर्छः
बान्तामा रगत देखिएमा
दिसा कालो रंगको आएमा
पेट सहनै नसक्नेगरि दुखेमा
तौल धेरै नै घटेमा

जाँच कसरी गर्ने?
के कारणले अमिलो पानी आउने समस्या देखिएको हो भनेर थाहा पाउन अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम विभिन्न जाँचहरु गराउनुपर्छ । इन्डोस्कोपीबाट ग्यास्ट्राइटिस, अल्सर आदि थाहा पाउन सकिन्छ ।

उपचार के हो?
चिकित्सकको सल्लाह अनुसार एसिड बन्न कम गर्ने वा बनेको एसिडको असरलाई न्यूनीकरण गर्ने विभिन्न औषधिहरुको सेवन गर्न सकिन्छ । थोरैमा कुनै किसिमको शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ । एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।

कस्तो सावधानी अपनाउने ?
तौल घटाउने
रक्सी, चुरोट आदि सेवन नगर्ने
अमिलो, पिरो खानेकुरा सकेसम्म नखाने
चिया, कफी पिउन कम गर्ने
भोकै खालीपेट नबस्ने
एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने
सकेसम्म घोप्टो परेर नसुत्ने, नबस्ने
सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने
सुत्दा टाउकोलाई तकियाले थोरै माथि उठाउने
 

Last modified on 2018-08-26 08:15:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts