भक्तपुर क्यान्सर अस्पताललाई शिक्षण संस्थाको मान्यता



Download our app to get more features

काठमाडौं, ८ भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाले संचालन गरेको भक्तपुर क्यान्सर अस्पताललाई शिक्षण संस्थाको पनि मान्यता प्राप्त भएको छ । 

क्यान्सरको विशेषज्ञ उपचार हुने अस्पताललाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिक्षण संस्थाको मान्यता दिएको हो । शुक्रबार एक कार्यक्रमबीच प्रतिष्ठानको स्नातकोत्तर तहका बिद्यार्थीलाई प्रयोगात्मक अध्ययन अध्यापन गराउने गरि क्यान्सर अस्पताल र प्रतिष्ठानका पदाधिकारीबीच सम्झौता भएको छ । भक्तपुर क्यान्सर अस्पतालका व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ, मेडिकल डाइरेक्टर डा. ऋषिकेश नारायण श्रेष्ठ तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरतकुमार यादव एवं डीन डा. सिर्जना श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुरुप क्यान्सर विषयमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीले भक्तपुर क्यान्सर अस्पतालमा आवासीय चिकित्सकका रुपमा अध्ययन गर्नेछन् । नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले अस्पताललाई शैक्षिक संस्थाको मान्यता प्राप्त हुनु ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिए । उनले भने ‘भक्तपुर क्यान्सर अस्पताल अब अस्पतालमा मात्र सीमित भएन । यसले क्यान्सर विशेषज्ञ उत्पादनको पनि महत्वपूर्ण जिम्मेवारी पाएको छौं यसले हामीलाई थप दायित्वबोध गराएको छ ।’

अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेश नारायण श्रेष्ठले अस्पताललाई यो महत्वपूर्ण अवसरका रुपमा प्राप्त भएको टिप्पणी गरे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरतकुमार यादवले क्यान्सर उपचारमा लामो इतिहास बोकेको अस्पताललाई शैक्षिक अंगको रुपमा पाउनु राम्रो कुरा भएको बताए ।

Last modified on 2018-08-25 07:22:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts