बन्द हुँदै स्वास्थ्य मन्त्रालयभित्रको पुस्तकालय, भएको एउटा दरवन्दी पनि काटियो
काठमाण्डौ, ८ भदौ । कुनै बेला थियो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयभित्रको पुस्तकालयमा खचाखच मान्छे हुन्थे । स्वास्थ्यका विद्यार्थी, कर्मचारीदेखि आगन्तुक सम्म खाली समयमा वा समय निकालेर पुस्तकालय पुग्थे, पढ्थे र फर्किन्थे । कतिपयले पुस्तक लिएर जान्थे र फर्काइदिन्थे ।
तत्कालिन स्वास्थ्य मन्त्रालयमा जनसंख्या मन्त्रालयपनि गाभिएपछि २०६३ सालमा पुस्तकालय जनसंख्यामार्फत नै आएको थियो । त्यतिबेलैदेखि पुस्तकालय धानेर बसेकी छिन् शिक्षा सेवा अन्तर्गतकी पुस्कालय अधिकृत गीता अधिकारी । तर, हिजोआज पुस्तकालयमा पहिले जस्तो आवतजावत छैन । 'पहिले पहिले एकदिनमै ४०–५० जना मान्छे आउँथे, अहिले त्यही मुश्किलले १०–१२ जना आउँछन् ।' अधिकारीले सुनाइन् । तर, हिजोआज र्याकभरी राखिएका किताबले पाठक कुरेर बसेका छन् । पहिले पहिले स्कूल, कलेजका विद्यार्थी लाइन लगाएर आउँथे, स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारीहरु पनि आउँथे तर, अहिले त्यस्तो चाप छैन ।
दिउसै दराज फोडेर किताब चोरियो
एकजनाको मात्र दरबन्दी रहेको पुस्तकालयमा केहीदिन अघिमात्र दराज फोडेर एकदर्जनभन्दा बढि किताब चोरिएको छ । त्यो किताब कता गयो र कसले चोर्यो भन्ने पत्ता लाग्न सकेको छैन । 'म एकजना छु खाजा खान जाँदा, केही काम परेर बाहिर जाँदा कास (कार्यालय सहायकहरुलाई भनेर निस्कने हो । अब कसले लग्यो कसलाई भन्न जाउँ ।' अधिकारीले गुनासो पोखिन् ।
दरबन्दी पनि काटियो, बजेट पनि छैन
तत्कालिन संरचनामा मन्त्रालयको आन्तरिक प्रशासन अन्तर्गत रहेको पुस्तकालयसँग वार्षिक ३ लाख हाराहारी बजेट पनि थियो । त्यसैबाट पुस्तक किन्ने र अन्य सम्वद्र्धनको कार्य हुन्थ्यो । तर, नयाँ संरचनामा पुस्तकालय हटाइएको छ । संरचना नै नभएपछि बजेट हुने त कुरै भएन । जसले गर्दा अब पुस्तकालय बन्द हुने अवस्थामा पुगेको छ । अधिकारीका अनुसार मन्त्रालयको मात्र होइन स्वास्थ्य सेवा विभागमा रहेको पुस्तकालयको पनि अस्तित्व सकिएको छ । त्यहाँस्थित एकजना पुस्तकालय सहायकको दरबन्दी पनि काटिएको छ । 'स्वास्थ्यका विभिन्न तालिम, सेमिनार गराउने आधिकारिक निकायको पनि दरबन्दी काटिनु दुःखद छ ।' अधिकारीले भनिन् ।
फाजिलका कर्मचारी, बाटो लागेको दिन पुस्तकालय बन्द
पुस्तकालय अधिकृति गीता अधिकारी नयाँ संरचनासँगै जिम्मेवारी विहीन भएकी छिन् । उनी फाजिलमा परेकी छिन् । दरबन्दी नभएपछि म त दरबन्दी खोजेर बसेकी छु, भेटिएको दिन साँचो सचिवलाई बुझाएर जाने हो । हाम्रो डक्टरसँग उनले भनिन् । त्यस्तै हालत विभागभित्रको पुस्तकालय पनि भएको छ । उनीहरु सरुवा भएसँगै पुस्तकालय बन्द हुन्छ । अधिकारीले थपिन् 'पुस्तकालय बन्द हुन्छ कि चल्छ चाहीँ हाकिमहरुलाई सोध्नुहोला, हामी त जहाँ दरबन्दी छ त्यहीँ जाने हो ।'
उपसचिव, सहसचिवले समेत किताब फिर्ता गरेनन्
मन्त्रालयको पुस्तकालयबाट स्वास्थ्यका धेरै कर्मचारीहरुले किताब लगेका छन् । मन्त्रालय भित्रकै चिनेकालाई विश्वासको आधारमा र नचिनेका लाई परिचयपत्रको नक्कल र सम्पर्क नं राखेर किताब दिने गरिन्छ । तर, त्यसमध्ये २०–२५ जनाले वर्षौं हुँदापनि किताब फिर्ता गरेका छैनन् । अधिकारीले सुनाइन् 'यहाँबाट किताब लगेर फिर्ता नदिने कतिपय उपसचिव सहसचिव भैसके, कति अधिकृत उपसचिव भैसके । मान्छेको नियत नै खराब भएपछि के लाग्छ ?'