जब स्वास्थ्य राज्यमन्त्री यादव विभाग निरीक्षणमा पुगे...(फोटो फिचर)
काठमाण्डौ, २८ साउन । सोमबार दिउसो स्वास्थ्य सेवा विभाग र महाशाखाका कर्मचारीलाई भ्यानभ्याइ थियो । कोही हस्यांगफस्यांग गर्दै कोठाभित्र छिरिरहेका थिए भने, कोही फोन गर्दै बाहिर निस्किएका कर्मचारी साथीहरुलाई बोलाउँदै थिए । असारे चटारो सकेर साउनमा तुलनात्मक रुपमा फुर्सदिलाजस्ता बनेका विभागका कर्मचारी स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव विभाग निरीक्षणमा पुगेपछि हतारो र चटारोमा देखिएका हुन् ।
चिकित्सक नै स्वास्थ्यराज्यमन्त्री भएपनि मन्त्रालय मातहतका कर्मचारी एवं स्वास्थ्यकर्मीले केहीहदसम्म आफ्ना विशिष्टता र समस्यालाई बुझ्ने अपेक्षा गरेका छन् । सोही अनुरुप विभागका कर्मचारीले मन्त्रीलाई ब्रिफिंग गरेका थिए । स्वास्थ्य सेवा विभाग पुगेर निमित्त महानिर्देशक डा. गुणराज लोहनीसहित केही उच्च अधिकारीलाई साथ लिएर मन्त्री यादव अन्य महाशाखामा पुगेका थिए ।
सो क्रममा उनले सबैभन्दा लामो समय आफ्नै पार्टी अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नियुक्त गरेका दुईजना निर्देशककोमा बिताए । रािष्ट्रय स्वास्थ्य तालिम केन्द्र, केन्द्रिय प्रयोगशाला, परिवार कल्याण महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा घुमेका मन्त्री यादवले धेरै समय डा. आरपी विच्छा नेतृत्वको परिवार कल्याण महाशाखा र डा. विवेककुमार लाल नेतृत्वको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बिताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख लालले मन्त्रीलाई ब्रिफिंग गर्दै संघीयताको ढाँचा अनुसार काम गर्न कठिनाई भएको बताए । संघीयता कार्यान्वयनसँगै जिल्लाहरुमा रहेको महामारी नियन्त्रण इकाई क्रियाशिल नभएको भन्दै तत्काल महामारी नियन्त्रण गर्न असहज हुने उनको भनाइ छ । साथै, आफ्नो महाशाखाको काम समन्वयकारीमात्र हो या काार्यान्वयनकारी हो भन्ने अस्पष्टता रहेको भन्दै मन्त्रालयले स्पष्ट मार्गदर्शन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
उता, परिवार कल्याण महाशाखाका प्रमुख डा. आरपी बिच्छाले आफ्नो महाशाखाको काम १ सय ३३ वटा शीर्षकमा भएपनि कर्मचारी व्यापक कटौति गरेको भन्दै आक्रोश व्यक्त गरे । । बालस्वास्थ्य महाशाखा र परिवार स्वास्थ्य महाशाखा गाभेर बनाइएको परिवार कल्याण महाशाखामा परिवार नियोजन कार्यक्रम, मातृशिशु सुरक्षा लगायत कार्यक्रम सञ्चालन गर्न जनशक्ति अपुग भएको उनको गुनासो थियो । उनले बजेट अभावका कारण दोब्बर बनाइएको सुत्केरी भत्ता समेत दिन बजेट नभएको उल्लेख गरे ।
सो क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले संघीयता कार्यान्वयन गर्नका लागि प्रदेश सरकार र स्थानीय तहलाई सशक्त बनाउनुपर्ने भन्दै केन्द्रमा दरबन्दी र कार्यक्रम कटौति गरिएको बताए । उनले स्वास्थ्य सेवा विभागको काम अव समन्वयात्मकमात्र हुने स्पष्ट पारे ।
अवलोकन भ्रमणपश्चात मन्त्री यादवले संघीयता कार्यान्वयन चुनौतिपूर्ण भएको भन्दै यसले गति लिन केही समय लाग्ने बताए । उनले आफु अहिले सामान्य अवलोकनका लागि मात्र आएको भन्दै सबै महाशाखासँग तत्काल कार्यान्वयन गर्नुपर्ने विषयलाई लिखित रुपमा माग गरेर विस्तारै कार्यान्व्यनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।