पाठेघर खस्ने समस्याबाट बच्ने उपाय



Download our app to get more features

अशिक्षा र गरिबीको कारण अधिकांश महिला पाठेघर समस्याको उपचार नगरी रोग पालेर बस्ने गरेका छन् । पाठेघर खस्ने समस्याका कारण महिलाहरूले हेलामा बाँच्नुपरेको छ । ग्रामीण भेगमा रहेका महिलाहरूमा पाठेघर खस्ने समस्या बढी रहेको पाइन्छ ।

प्रजनन् स्वास्थ्यसम्बन्धी महिलाको समस्याहरुमध्ये पाठेघर खस्ने समस्या मुख्य हो । आफन्त, नाता र परिवारका सदस्यसँग कुरा गर्दा लाज हुने र इज्जत जाने डर पैदा गरेर धेरैले रोग पालिरहेका छन् । पाठेघर समस्याकै कारण कतिपय महिलाहरू मानसिक, शारीरिक रूपमा श्रीमानबाट समेत पीडित भएर बस्न बाध्य छन् ।

के हो पाठेघर, खसेको कसरी थाहा हुन्छ ?

पाठेघर महिलाको प्रजनन् अंग हो । बच्चा जन्माउँदा प्रजनन् अंगमा असर गर्छ र पाठेघर ‘लुज’ भएर जान्छ । पाठेघरलाई अरु तन्तुहरूले जोेडेर राखेको हुन्छ, सपोर्ट कम भएपछि ‘लुज’ भएर तल आउँछ । पाठेघर भएको ठाउँ छोडेर सर्नुलाई नै पाठेघर खस्नु भनिन्छ ।

कसैको कम खस्छ भने कसैको धेरै खस्छ । एकचोटि बच्चा पाइसकेपछि त्यो ‘लुज’ हुन्छ तर यस्तो हुनेबित्तिकै खसेको भन्न मिल्दैन । पाठेघर खसेको धेरै महिलाहरूले थाहा नै पाउँदैनन्, धेरै खसेपछि मात्रै थाहा पाउँछन् ।

खस्नेबित्तिकै कतिपय पिडित महिलाहरुले निकाल्नुपर्यो भन्छन्, तर धेरै तल खसेको अवस्था नभए निकाल्नु पर्दैन, मर्मत गर्नुपर्छ । सुरुको समयमा र हालको समयमा हर्दा पाठेघर खस्ने महिलाको अहिले कम भइरहेको पाइन्छ ।

के कारण खस्छ ?

दुर्गम क्षेत्रमा भने दक्ष जनशक्ति नभएका कारण अझै समस्या छ । सुत्केरीपछि आराम नगर्ने, सुत्केरीलगत्तै गह्रुँगो काम गर्ने गर्दा यो समस्या उत्पन्न भएको हो । पहाडी भेगमा उकालो–ओरालो गर्नुपर्छ, त्यसो गर्दा पेटमा समस्या पर्छ ।

बच्चा पाएपछि पेटमा ६ हप्तासम्म असर पर्न दिनु हुँदैन । तर, सुत्केरी भएर न्वारान हुनुअगावै काम गर्छन् । त्यो प्रेसरले गर्दा पाठेघर टाइट हुनै पाउँदैन । ६ हप्तासम्म आराम गरेमा पाठेघर टाइट हुँदै आउने हो । हाल जनचेतनाका कारण सुत्केरीमा आराम गर्ने बानीले पाठेघर खस्न कम भएको छ ।

बच्चा नजन्माएकालाई पनि समस्या

बच्चा जन्मिएकाहरूमा मात्रै पाठेघर खस्ने समस्या आउँछ भन्ने छैन । गर्भवती नभएका युवतीमा पनि पाठेघर खस्ने समस्या आउन सक्छ ।

जटिलता

पाठेघर झर्नु र बच्चा पाउनु आफैंमा रोग होइन । पाठेघर खसेपछि विभिन्न अन्य रोग देखापर्न सक्छन् । पाठेघर झर्दा तन्किने र त्यहाँ रगतका नलीहरू नपुग्ने हुन्छ । नपुगेपछि त्यस ठाउँमा रगत कम भई घाउहरू बन्छ र अल्सर हुन्छ । रगत र अक्सिजनको मात्रा नपुगेर अल्सर भएपछि योनीबाट सेतो पानी बग्ने समस्या हुन्छ ।

पाठेघर खस्नेसँगै पिसाब थैली, पछाडिपट्टि मलद्वारको भाग पनि झर्ने समस्या उत्तिकै हुन्छ । कतिपयलाई खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, उकालो–ओरालो गर्दा पिसाब चुहिने सम्भावना हुन्छ यो लुज भएकै कारणले हो ।

बच्ने उपाय

कारण पत्ता लगाएपछि उपचारमा समस्या हुँदैन । रोग लागेपछि गुपचुप बस्न हुँदैन उपचार गरिहाल्नुपर्छ । बच्चा पाउने नै मुख्य समस्या हो भने दक्ष जनशक्ति भएको ठाउँमा डेलीभरी हुनुपर्छ । डेलीभरी गर्न नआउनेसँग गर्यो भने साल निस्किएन भनेर पेटमा थिचेर निकाल्नछन् यो सरासर गलत हो ।

यस्तो गर्दा धेरै ‘लुज’ हुन्छ । साल निस्किने भनेको त बच्चा जन्मिसकेपछि ५ देखि १५ मिनेटमा हो । त्यो आफैँ उप्किएर आउँछ, हतार गरेर हुँदैन, तर धेरैलाई थाहा नहुँदा समस्या उत्पन्न हुन्छ । सुत्केरी समयमा ६ हप्तासम्म आराम गर्नुपर्छ ।

सामान्य व्यायाम गर्नुपर्छ, त्यसो गर्दा योनीमा मसल्सहरू टाइट हुन्छ । कपडा च्यातिएपछि सिलाएर बनाएजस्तै पाठेघर पनि ‘लुज’ भयो भने यसको उपचार पनि यस्तै हो । बढीभन्दा बढी पोषणयुक्त खानेकुरा खानुपर्छ र गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ ।

(डा. बराल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत छन् ।)

Last modified on 2018-08-07 07:05:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts