ट्याङ्करको पानीमा मापदण्डभन्दा बढी ‘एमोनिया’
काठमाण्डौं, १० जेठ । उपत्यकाभित्र ट्याङ्करले ओसार्ने पानीको गुणस्तर परीक्षण गराउँदा मापदण्डभन्दा बढी एमोनिया फेला परेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) अन्तर्गतको खानेपानी गुणस्तर परीक्षण शाखाका अनुसार २९ वटा ट्याङ्करको नमुना परीक्षण गर्दा १२ वटामा एमोनियाको मात्रा २० मिलिग्रामसम्म देखिएको छ । विश्व स्वास्थ्य संगठनले खानेपानीमा एमोनियाको मापदण्ड १.५ मिलिग्रामसम्म तोकेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले मापदण्डभन्दा बढी एमोनिया भएको पानी सेवन गर्दा तत्काल झाडापखाला लाग्ने, पेट फुल्नेजस्ता समस्या हुने तर दीर्घकालसम्म मिर्गौला बिग्रने, नसासम्बन्धी विभिन्न समस्या देखिने, आन्द्रामा क्यान्सर हुनसक्ने बताए ।
खानेपानी गुणस्तर परीक्षण शाखाका प्राविधिक ज्ञानेन्द्रबहादुर काकीले बल्खु, कलंकी, बालाजु, महाराजगन्ज, चावहिल र सातदोबाटोमा गुडिरहेका ट्याङ्करबाट २९ वटा नमुना संकलन गरिएको र थप १० वटा नमुना पनि परीक्षण भइरहेको जानकारी दिए । ‘ट्याङ्कर व्यवसायीले वितरण गर्ने खानेपानीको नमुना परीक्षणबाट मापदण्डभन्दा धेरै गुणा बढी एमोनिया फेला परेको छ’, उनले भने, ‘ट्याङकरको पानीमा जीवाणु भए नभएको बारेमा हाल परीक्षण गरेका छैनौं ।’
उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत योगेन्द्रबहादुर बमका अनुसार राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड बमोजिम पानी आपूर्ति गर्दा पिउने र अन्य प्रयोजनको पानी अलग अलग साधनबाट ढुवानी गर्न, ग्राहकलाई पानीको स्रोत, प्रयोजन एवं मूल्य खुलेको बिल अनिवार्य उपलब्ध गराउनुपर्ने नियम सार्वजनिक गरिएको छ ।
उपत्यकामा हाल सात सयवटा खानेपानी ट्याङ्कर सञ्चालनमा छन् । ट्याङ्कर व्यवसायीले उपत्यकाका विभिन्न ६५ स्रोतबाट पानी भरेर उपभोक्तालाई वितरण गर्दै आएका छन् भने अनुगमन नहुँदा उपभोक्ता गुणस्तरहीन पानी उपभोग गर्न बाध्य भएका छन् ।
गोरखापत्र दैनिकबाट
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।