गोल्डेन अस्पतालमा २ महिनादेखि बिरामी बन्धकमा,सहयोगका लागि परिवारको हारगुहार



Download our app to get more features

अनिल श्रेष्ठ । विराटनगर, २२ जेठ ।  विराटनगरको रङ्गेली रोडमा रहेको गोल्डेन अस्पतालले एक जना बिरामीलाई दुई महिनादेखी बन्धक बनाएर राखेको पाइएको छ ।

उपचार गरे बापतको पैसा नतिरेको भन्दै ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ का ५४ वर्षीय कूलबहादुर लिम्बूलाई विराटनगरको गोल्डेन अस्पतालले बन्धक बनाएर राखेको पाइएको हो ।बिरामीका आफन्तले अस्पतालले बन्धक बनाएर राखिरहेको भन्दै सहयोगका लागि विभिन्न सामाजिक संघ संस्थासंग हारगुहार गर्न थालेपछि घटना बाहिर आएको थियो ।

गत फागुन २६ गते घाँस काट्ने क्रममा गोगुनको रुखबाट लडेर घाइते भएका लिम्बूको टाउकोमा चोट लागेको थियो । छोरा सुरेनका अनुसार लडेर घाइते भएपछि उपचारका लागि फागुन २७ गते गोल्डेनमा ल्याइएको थियो । 
उपचार ठीक भए पनि परिवारका सदस्यले लामो समयदेखि कूलबहादुरलाई घर लैजान पाइरहेका छैनन् । गोल्डेनमा भर्ना गरेपछि चिकित्सकले मस्तिष्कमा रगत जमेका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको सुरेनले बताए ।  ‘शल्यक्रिया गर्नु पर्ने भन्दै अस्पतालले एक लाख १० हजार रुपैयाँ जम्मा गर्न भन्यो,’ उनले भने, ‘उक्त रकम जम्मा गरिदिएपछि त्यही दिन राति ११ः३० बजे बुवाको टाउकोको शल्यक्रिया भयो ।’ शल्यक्रिया गरेर आइृसीयूमा राखिएका कूलबहादुरलाई त्यसको एक सातापछि जनरल वार्डको २५ नम्बर बेडमा सारिएको र त्यसको अर्को सातापछि नै उपचार ठिक भएको भन्दै अस्पतालले घर जान सल्लाह दिएर डिस्चार्ज गरिदिएको सुरेनको भनाइ छ । 

लिम्बू परिवारले सुरुमा जम्मा गरेको एक लाख १० हजार रुपैयाँ बाहेक उपचारमा सरकारले दिएको सहुलिय बापतको एक लाख रुपैयाँ पनि अस्पतालले पाउने छ ।अस्पतालले लिम्बू परिवारलाई दिएको जानकारी अनुसार परिवारले जम्मा गरेको एक लाख १० हजार र सरकारबाट सहुलियत पाएको एक लाख बाहेक नै कूलबहादुरको उपचार गरे बापत दुई लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ । 

सुरेनले पैसा नतिरे सम्म घर जान नपाउने भन्दै दुई महिना भन्दा बढी समयदेखि बुवालाई अस्पतालको तल्लो तलामा पनि झर्न नदिइकन बन्धक बनाइएको गुनाँसो गरे ।  बन्धक बनाइएका बिरामीका बारेमा बुझ्न हिजो अस्पतालमै पुगेका उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले अस्पतालले बिरामीलाई बन्धक बनाएर पैसा असुल्ने योजना बनाएको बताए ।

अस्पतालका प्रशासन प्रमुख गोविन्द लुइँटेलले अस्पतालले बिरामीको उपचार निशुल्क गर्न नसक्ने भएका कारण उपचार खर्च नतिर्दा घर जान नदिएको बताउनु भयो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उपचार खर्च नतिरेको बहानामा बिरामीलाई लामो समयदेखि बन्धक बनाएर राख्ने अस्पतालमाथि तत्काल छानविन गरेर कारवाही अघि बढाइने बतए । 

Last modified on 2018-06-07 12:23:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts