सेवन अघि निकोटिन बारे जानौं
प्राडा धनरत्न शाक्य, एमडी
वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ
भर्खर १६ वर्षमा टेकेको रुपकले (नाम परिवर्तित) ठूला मानिसहरू चुरोटको धुवाँ उडाउँदै स्वच्छन्द हिँडेको तथा चलचित्र र विज्ञापनमा देखेर कौतुहलताबस् पहिलोपटक चुरोट ताने । जन्ती जाँदा पाएको पानपरागबाट शुरु भएको शितल जीको निकोटिन सेवन चेन स्मोकिङमा पुग्यो । संगत र करकापमा नाईं... भन्न नसक्दा स्कूले जीवनमै विनोदले चुरोट पिउन थाले । श्रीमान विदेश गएपछि एक छिमेकी दिदीले भनेर तर्कना बिर्सन कमलाले गुट्खा प्रयोग गर्न थालिन् ।
दाजुहरू लुकीलुकी चुरोट बिडी तानेको देखेर सानोमा मैंले पनि बेलाबेला सर्को तानेको याद छ । भोजभतेरमा बाजे र सबैजसो वयस्कहरूले चुरोट, हुक्का तानेको देख्दा त्यो बेला सोच्थेँ, ‘साहै्र मजा आउने कुरा हुनुपर्छ ।’
१२—१४ वर्षको किशोर अवस्थामा कौतुहलता र आवेग ज्यादा हुन्छ तर ठीकबेठीक छुट््याउने विवेकको विकास भर्खर हुनथालेको हुन्छ । सचेत भइएन भने यहि बेला धेरैजसोले निकोटिनयुक्त पदार्थको सेवन शुरु गर्छन । यसरी कलिलो उमरमै शुरु भएको यसको सेवन गर्ने बानी विविध जटिलताहरू र समस्याका बाबजुद पनि छाड्न धेरैलाई हम्मे पर्छ । जसले यसको सेवन गर्ने मन बनाउँदैछ, सबैले एकपटक निकोटिन पदार्थ र यसका असरबारे बुझौंं ।
निकोटिनको समस्यालाई सानो नठानौं
लत् लगाउने पदार्थहरूमा निकोटिन साह्रै बानी पार्ने तर अक्सर बिर्सिइने नशालु चिज हो । चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पा जस्ता धुँवा तान्ने तथा सुर्ती, जर्दा, पान, मसला, नस, गुट्खा जस्ता धुवाँरहित हिसाबले सेवन गर्ने निकोटिनयुक्त पदार्थहरू हुन् । पहिलेदेखि सुरु भएको यसको प्रयोग बिसौं शताब्दीमा उल्लेख्य रूपमा बढ््यो । सन् १९५० को दशकदेखि यसबाट विभिन्न रोगहरू हुने तथ्य अगाडि आउन थाल्यो । सन् १९८८ तिर प्रकाशित ध्रुमपानको स्वास्थ्यमा असरसम्बन्धी शोधलेखले अमेरिका र विकसित देशमा ठूलो हल्चल् ल्यायो । यसबारे विविध तरिका र कार्यक्रमहरू अगाडि आए । ती मुलुकहरूमा विशेषत जनचेतनाको प्रसारले यसको प्रयोग र असर कम हुँदै पनि गयो ।
निकोटिन सेवन र समस्या
सुर्तीजन्य पदार्थहरू समाजमा विविध स्वरुपमा, सजिलै र स्वीकृत रूपमा पाइन्छन् । विकसित मुलुकमा तीन चौथाइ जति मानिसले कुनै बेला यसको सेवन गर्ने, एक चौथाइ जतिमा यसको लत् नै पर्ने र सेवनकर्ताहरूमा एक तिहाई जतिमा दुव्र्यसनी हुनेगर्छ । यस हिसाबले यो अरु कुनैपनि दुव्र्यसनजन्य पदार्थभन्दा खतरनाक देखिन्छ । यो तथ्य विश्वका सबैजसो भागमा लागू हुने देखिन्छ । विश्वभर एक अर्बभन्दा धेरै मानिसले यसको सेवन गर्छन्, वर्षेनी ६० लाख जति मानिसको यसैको कारण मृत्यु हुन्छ । यो संख्या सन् २०३० सम्ममा बढेर ८० लाख पुग्ने आंकलन गरिएको छ । हरेक ६ जनामा यो एकको मृत्यूको कारण बन्दैछ ।
बीसौं शताब्दीमा १० करोड मानिसको ज्यान लिएको यो समस्याले एक्काइसौं शताब्दीमा एक अर्बको ज्यान जाने प्रक्ष्येपण गरिएको छ । अरुले ध्रुमपान गरी छाडेको धुवाँबाट पनि ६ लाख जतिले मृत्युवरण गर्छन् । यसले गर्दा व्यक्ति र समाजको आर्थिक स्थिति र विकासमा गम्भीर असर पर्छ । स्थितिको यथार्थ विश्लेषणबाट सुर्तीजन्य पदार्थ मानवजातिको स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतरा बनिरहेको छ ।
विश्व स्वास्थ्य संघले यसलाई सर्वाधिक व्यापक, प्राणघातक र महंगो भएपनि उपचारमा अरु पदार्थहरूको दुव्र्यसनभन्दा बढी प्रभावकारी हुने स्वास्थ्य समस्याको रूपमा लिएको छ ।
नेपालमा निकोटिनका दुव्र्यसनी
नेपालमा पनि निकोटिनको समस्या भयावह छ । धरानमा भएको एक शोधमा मानसिक बहिरंग विभागमा ५५ प्रतिशत र अन्तरंग विभागमा भर्ती भएका ६२ प्रतिशत बिरामीमा निकोटिनको लत रहेको देखाएको छ । जनसमुदाय र अम्मलीहरू यसबारे अनभिज्ञ र बेपर्वाह देखिन्छन् ।
ग्रामीण नेपाली महिलाको ध्रुमपानको दर विश्वमै उल्लेख्य मानिन्छ । सुर्ती, पानपराग, खैनीलाई अम्मल भनेर समेत बुझिदैन । अम्मलीलाई सम्झाउने नामामा अक्सर होच्याइन्छ । शिशु, बच्चा र परिवारसँगै बन्द कोठामा ध्रुमपान गरिन्छ । भेटघाटमा चुरोटबिँडीबाट आत्मियता दर्शाउने चलन छ, चुरोट वा सुर्तीजन्य पदार्थ विनाको भोज, पार्टी, भेला खल्लो र अपूर्ण हुनेगर्छ । सवारीसाधन, पार्क वा यस्तै सार्वजनिक स्थलहरूमा नियमको धज्जी उडाउँदै निर्लज्ज र बेपर्वाह यसको प्रयोग गर्नेलाई नियमतः कार्बाही गर्ने सन्दर्भ यहाँ ‘जोक्स’ बन्छ । नेपालमा अरु विकासशील मुलुकहरूमा जस्तंै यसको सेवन, खपत् र असरहरू बढ्दै गएको देखिन्छ । यसको उत्पादन, बिक्रीवितरणमा नियन्त्रण, जनचेतना प्रसार लगायत यसबाट उव्जिने समस्या सम्बोधन गर्नमा सरकार असफलप्रायः देखिन्छ । यस्तो परिप्रेक्ष्यमा जोकोही, विशेषगरी कलिला किशोरकिशोरी यसको चंगुलमा फस्ने सम्भावना अत्याधिक हुन्छ । अमेरिकामा २५ प्रतिशतले ध्रुमपान गर्ने, २५ प्रतिशतले हालै छाडेका र ५० प्रतिशतले कहिल्यै ध्रुमपान नगर्ने भएपनि त्यहाँ स्वास्थ्य खर्चको ६० प्रतिशत यससम्बन्धी समस्याको उपचारमा खर्चिने तथ्यांक छ ।
निकोटिनको लत बस्यो की ?
अरु लत लाग्ने पदार्थ भन्दा यसले चाडो र प्रभावकारी रुपले बानी पारेर त्यत्ति नै प्रभावका लागि ज्यादा मात्रा चाहिने, तल्तल् लाग्ने र यसको सेवन अनिवार्य जस्तो महसुस गराउने हुन्छ । कुनै पनि बेला विशेष गरेर बिहान उठ्नासाथ, खाना खाएपछि वा व्यक्ति विशेषमा खास कुनै निश्चित समयमा निकोटिनजन्य चिजको तल्तल् लाग्ने, छट्पट् हुने, सेवन गरेपछि मात्र फ्रेस हुने भयो भने यसको लत् बसेको बुझ्न सकिन्छ ।
स्वास्थ्य असर
यसले मन स्थिर र शान्त राख्ने, बोर कम गर्नेे, रिस घटाउने, तौल घटाउने विभिन्न अध्ययन प्रतिवेदनले जनाएका छन् । यद्यपि, सेवन हुँदै गएपछि यो शिघ्र दुव्र्यसनमा बदलिन्छ । यसमा हुने टार, एमोनिया, आर्सेनिक, कार्बोनमोनोक्साइड जस्ता सयौं हानिकारक रसायनले स्वास्थ्य बिगार्छ ।
३० भन्दा बढी खालका क्यान्सर बेन्जोपाइरिन जस्ता क्यान्सरका कारक रसायन यसमा हुन्छ । सुर्ती सेवनले फोक्सो, मुख, पेट, घाँटी, पिसाबथैली, मिर्गौला लगायत अंगहरूमा क्यान्सर हुने गर्छ । यसले निमोनिया, ब्रोन्काइटिस, दम र श्वासप्रश्वास सम्बन्धी विभिन्न समस्या उब्जाउछ । साथै मुटु र रक्तनली, नशासम्बन्धी रोगहरू र अरू धेरै स्वास्थ्य समस्या पनि हुन्छ । क्षयरोग, पाचन समस्या, पाठेघरको क्यान्सर, मोतीविन्दु जस्ता धेरै स्वास्थ्य समस्याहरूसँग पनि सुर्तीजन्य पदार्थको सम्बन्ध देखिएको छ । गर्भवती महिलाले निकोटिन सेवन गरे शिशुको तौल कम हुने, मानसिक र शारीरिक विकासमा असर पर्ने तथा घरमा अरुले गरेको सेवनले परिवारजनलाई पनि गम्भीर हानि हुन्छ । सुर्ती सेवनको उदासिन, छट्पटी, पागलपन, मद्यपान र अन्य नशालुपदार्थको दुव्र्यसनसहित मानसिक समस्याहरूसँग नजिकको सम्बन्ध हुन्छ । नेपाल जस्ता विकासशील मुलुकका आधाभन्दा बढी बालबालिका सुर्तीको धुवाँबाट प्रदुशित हावामा सास लिन बाध्य छन् । यसको सेवनकर्तामध्ये आधाजतिको यसैको कारण मृत्यु हुन्छ, मृत्युका ८ मुख्य कारणहरूमध्ये ६ वटामा सुर्तीजन्य पदार्थ हुनेगर्छ ।
सुर्ती सेवनविरुद्ध सचेत होऔं
कसैले यसको सेवन गर्ने मसोच बनाउँदै छ भने पहिला यसको असरबारे सुसुचित र सचेत हुनु जरुरी छ । यस्तो भयंकर चिजको चंगुलमा फँसेर आफ्नो स्वास्थ्य, भविष्य र नैतिकबल नगिराऔं । आफूभन्दा साना र कलिला बच्चा तथा किशोरहरूलाई दिग्भ्रमित पार्ने काम नगरौं । सेवनकर्ताले पनि चुरोट सल्काउन अघि यसको असरबारे जानौं, बुझौं, मनन् गरौंं ! बिभिन्न बहानामा यसको सेवन गर्दा यो बुझौं कि यसको प्रयोग र जटिलताका पछाडि सामाजिक, वातावरणीय वा पारिवारीक माहोल (उपलव्धता, कानूनी, सांस्कृतिक परिस्थिति) जति नै वा ज्यादा व्यक्तिको आफ्नो मनस्थिति, कमिकमजोरी, अनुवांशिक तत्वहरू र सुर्तीजन्य पदार्थको लत लगाउने र अरू असरहरू पनि जिम्मेवार हुन्छन् । चुरोटका हरेक बट्टाहरूमा अब चेतनामुलक सन्देसहरू पनि छापिएका हुन्छन् । त्यसैले, कारक तत्वहरूको पहिचान र उपचारतिर लागौं र यसबाट टाढा रहौं ।
सेवन नगर्नेले यसको प्रयोगबाट टाढा रहौं, सेवन गर्नेले छाडौं र लतै बसेको भए यसको उपचार र उपायतिर लागौं । सधैंझैं यो साल पनि मे ३१ को ‘विश्व धुमपान बिरोधी दिवस’ले सुर्ती सेवनविरुद्ध एकजुट हुन आहव्न गरेको छ ।