गर्मीयाममा लाग्ने रोगबारे जानी राखौं
गर्मीयाम सुरु भइसकेको छ । गर्मीयामको सुरुवातसंगै विभिन्न व्याक्टेरिया तथा भाइरस लगायत अन्य जिवाणु पनि सक्रिय हुन थाल्छन् । जसका कारण झाडापखाला, टाइफाइड, जन्डिसजस्ता रोगले पनि सताउन सक्छन् । जाडो गइसक्यो भनेर हामी वास्ता गर्दैनौँ । तर, बिहान बेलुकाको समय अझै चिसो हुँदा भाइरसहरू सक्रिय हुन्छन् । जसले गर्दा मौसमी रुघाखोकीले पनि सताउन सक्छ ।
झाडापखाला
दूषित पानी र बासी, सडेगलेको खानाले झाडापखाला लाग्छ । विशेषगरी गर्मी समयमा यसका ब्याक्टेरिया सक्रिय हुन थाल्छन् । तर, चिसो मौसम नै भएको भान पर्न गई जथाभावी पानी पिउँदा तथा बासी तथा सडेगलेको खाँदा झाडापखालाले सताउने गर्छ । गर्मी मौसम बढे संगै सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले बताए । झाडापखालाले मानिसलाई जलवियोजन गराई रोग प्रतिरोधात्मक क्षमतामा समेत असर गर्ने उनको भनाइ छ । यदि खानेकुरामा ध्यान नदिने हो भने आउँ पर्नेसम्मको समस्या उत्पन्न हुन्छ । ‘अहिलेसम्मको रिपार्ट हेर्दा जाडोबाट गर्मी सुरु हुने समयमा झाडापखालाका बिरामी बढी आएको पाएका छाँै ।’ उनले भने ‘त्यसका साथै आउँको समस्या पनि देखिएको छ ।
डापखाला लक्षण
धेरै तिर्खा लाग्ने,
छटपटी हुने
आँखा गढेको देखिने पेटको छाला तानेर हेर्दा हतपत नफर्किने
बच्चाले झोल पदार्थ पिउनमा समस्या
बच्चा बेहोससम्म हुन सक्ने
दुई हप्ताभन्दा लामो समयसम्म झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । त्यसमा चिकित्सकको सल्लाह लिएर औषधि खुवाउनुपर्छ ।
हेपाटाइटिस ए र ई (जन्डिस)
जाडो महिना सकिएर गर्मी सुरु हुँदा देखिने अर्को रोग भनेको हेपाटाइटिस ए र ईको समस्या हो । ए प्रत्येक वर्ष देखिइरहन्छ भने हेपाटाइटिस ई पनि केही वर्षको अन्तरमा स्थान विशेषमा देखिने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यी दुवै हेपाटाइटिसका कारण जन्डिस हुन सक्छ । जन्डिसले कलेजोलाई असर पार्छ । गर्भवती महिलालाई जन्डिस भएमा सबैभन्दा बढी खतरा मानिन्छ । कलेजो रोग विशेषज्ञ प्रा.डा. अनिल मिश्रका अनुसार शरीरमा हुने पहेँलोपनको मात्रा बढ्नु नै जन्डिस हो । पहेँलोपना बढ्ने कलेजोभित्र र कलेजोबाहिर लाग्ने रोगले गर्दा हो । कलेजोबाहिर पित्तको नलीमा केही खराबी भयो भने त्यो बाहिरको जन्डिस हो । त्यसलाई सर्जिकल जन्डिस भनिन्छ । कलेजोभित्र हुने जन्डिसलाई मेडिकल जन्डिस भनिन्छ । दूषित पानी सेवनका कारण जन्डिस लाग्ने मिश्र बताउँछन् ।
हेपाटाइटिस ए र ई (जन्डिस) लक्षण
शरीर पहँलो हुँदै जाने,
वाकवाकी लाग्ने,
खान मन नलाग्ने,
दायाँ कोखा भारी हुँदै जानेजस्ता लक्षण देखा पर्छन् ।
टाइफाइड
दूषित पानी र खानपानमा हुने असरका कारण देखिने अर्को रोग भनेको टाइफाइड हो । जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, सहरका गल्लीमा बनाइएका खाना जथाभावी खाने र सफा पानीले नपखाली फलफूल खाने गर्दा टाइफाइडको सम्भावना धबढी हुन्छ । असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ । आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।
टाइफाइडका लक्षण
ज्वरो आउने
जिउ दुख्ने
पेट दुख्ने
दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने कडा खालको टाइफाइड भएर लामो समयसम्म रहेमा आन्द्रालाई प्वाल पार्ने सम्भावना रहन्छ ।