डक्टर अनुभूतिः भूकम्पमा द्विविधापूर्ण चालीस सेकेन्ड
२०३३ साल असोजदेखि मुलुककै सबैभन्दा वीर अस्पतालमा हाडजोर्नी शल्य चिकित्सकका रुपमा आफ्नै करियर सुरु गरेका प्रा.डा.अशोकरत्न बज्राचार्य अहिले रिटायर्ड भइसकेका छन् । उनले ४० वर्ष सरकारी सेवामा बिताए । सेवाका दौरानका थुप्रै भोगाई उनका मानसपटलमा ताजा छन् । र पनि त्यसमध्येको एउटा घटनाले अझै बज्राचार्यलाई छायाँ बनेर लखेटिरहेको छ । अझै पनि त्यो घटनाले उनलाई झक्झकाइरहेको छ ।
घटना २०७२ वैशाख १२ को भूकम्प पछिको हो । भूकम्प गएको केहीदिन मात्र भएको थियो । म वीर अस्पतालमा कार्यरत थिए । सैयौं घाइतेको उपचार हुँदै थियो । पुरानो वीर अस्पताल भूकम्पकीय दृष्टिले असुरक्षित भएपछि त्यहाँका सबै शल्यक्रिया र उपचारलाई सँगैको ट्रमा सेन्टरमा सैयौंको संख्यामा बिरामी ल्याइएको थियो । सबै ठाउँमा कोलाहल र त्रासको अवस्था थियो । भूकम्पका कारण घाइते भएकोको रोदन एकातिर थियो । पटक पटकको पराकम्पनले अस्पतालमा रहेका घाइते र स्वास्थ्यकर्मी सबै आतंकित पनि थिए । हामी टोली त्यहाँ आएको घाइतेको सामान्यदेखि गम्भिर किसिमका सबै खाले शल्यक्रियामा व्यस्त थियो । अहोरात्र चिकित्सक एवं स्वास्थ्यकर्मी घाइतेको उपचार कर्ममा लागेको त्यो साच्चै अभुतपूर्व समय थियो । घरपरिवार, भोक, निन्द्रा र आफ्ना व्यक्तिगत पीडालाई बिर्सेर सेवा भावले ओतप्रोत चिकित्साकर्मीले घाइतेको घाउमा मलहम लगाउँदै गर्दा भूकम्पका स साना पराकम्पन वेवास्तामा परेका थिए । त्यस्तैमा मुख्य भूकम्प गएको २/३ दिनपछिको कुरा हो हाम्रो टोली एक जना भूकम्प पीडितको ढाडको जटिल शल्यक्रियामा थियौं । करिब ३/४ घन्टा लामो समय थियो । त्यो भूकम्पको निरन्तर महसुश भइरहेको थियो । त्यो दिन तुलनात्मक रुपमा अलि बढि पराकम्पन गइरहेका थिए । शल्यक्रियामा भएकाले हामीले ती पराकम्पनको वास्ता गरेनौं । शल्यक्रिया चलिरहेकै थियो । हाम्रो टोलीमा एनेस्थेसियाका डाक्टर रविराम श्रेष्ठ, असिस्टेन्ट सर्जनहरु डा.राजेश साह, डा. मंगल रावल, डा. संजिव र अन्य दुई नर्स सहभागि थिए । नर्सको नाम अहिले याद भएन । पराकम्पन कै बिचमा भूकम्पका ठूल ठूला झड्का महसुश हुन थाल्यो । पहिले झड्कामा त हामी सम्हालियौं । हाम्रो टोलीका नर्स एवं अरु सहकर्मी डराइरहेका थिए । उनीहरुको ध्यान शल्यक्रियामा भन्दा पनि बढि सुरक्षित स्थानमा भाग्ने विषयमा केन्द्रित भएझै भान हुन्थ्यो । फेरिपनि पराकम्पनले अर्को झट्का हान्यो ।
त्यो झड्कामा मैले टिमका साथीहरुलाई समाल्हन सकिन । उनीहरु सबै अप्रेशन थिएटरबाट भागे । म रनभुलमा परे । के गरौं के नगरौं भयो । ४० वर्षको चिकित्सा करियरमा त्यो पहिलो चुनौतीपूर्ण द्विविधा थियो मेरो लागि । म भित्र ठूलो द्वन्द्व सिर्जना भयो । निक्लेर भागौं भने गम्भिर प्रकृतिको बिरामी शल्यकक्षमा थियो । उ बेहोस भएपनि म सँग केही याचना गरिरहे जस्तो लाग्न थालेको थियो । नभागौं भने आफैं पनि त्यहि पुरिएर मरिन्छ कि भन्ने त्रास उत्पन्न भएको थियो । सायद यो भन्दा ठूलो द्विविधा अर्को कुनै भोग्नु परेको छैन मैले जीवनमा ।
जसरी भएपनि मैले कुनै युक्तिसंगत निर्णय गर्नुपर्ने भएको थियो । मैले त्यसबेला सोचे यदि म आफै यहाँ पुरिएर मरे भने त्यसपछि आउने घाइतेको शल्यक्रिया कसले गर्छ ? स्रोत व्यक्ति नै नरहे के होला ? फेरि घाइतेलाई उपकरण जडित गरेर खतरामुक्त अवस्थामा राखिएको थियो । टीमका सबै साथी निस्किसकेका थिए । मैले आफूपनि त्यहाँबाट निस्किने निर्णय गरे । त्यसो त मेरो ब्रह्म चिकित्सा आचार संहिता र नैतिकताले निस्कन हुँदैन भन्दै थियो । भावनामा बहकिएर मात्र पनि वैज्ञानिक निर्णय हुन सक्दैन भन्ने सोच सोचे र भगवान सँग माफी माग्दै म निस्किए । पराकम्पनको धक्का कम भइसकेको थियो । त्यही अर्धचित्त जस्तो अवस्थामा रोकिए र फेरी सहकर्मीलाई साथमा लिएर शल्यक्रिया आरम्भ गरे । खुशिको कुरो त त्यो शल्यक्रिया सफल भयो ।
यो घटनालाई म चाहेर पनि भुल्न सक्दिन । मैले ४ दशक लामो चिकित्सा कर्ममा महसुस गरेको यो भन्दा द्विविधा अरु कुनै छैन । म अझैपनि उक्त समयमा मैले लिएको निर्णय ठिक थियो या थिएन भनेर सोच्ने गर्छु । अझै मैले त्यसको उचित जवाव वा चित्त बुझ्दो कदम के हुन्थ्यो भनेर ठम्याउन सकेको छैन ।