सुधारको बाटोमा नेपाली मेडिकल शिक्षा



Download our app to get more features

केही बर्षयता नेपालको मेडिकल शिक्षा चर्चाको केन्द्रमा छ । चर्चाकै कारण यहाँको मेडिकल शिक्षा र यस सम्बन्धी धेरै तथ्य सर्वसाधारणसम्म पुगेको छ । नेपालको मेडिकल शिक्षाको गुणस्तर र यसमा रहेका बेथितिहरूको धेरै हदसम्म उजागर भएको छ । आम मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र संवेदनशिल विषय भएकाले पनि यसबारे बहस हुनु सान्दर्भिक छ । 

इतिहास
नेपालमा मेडिकल शिक्षाको इतिहास त्यति पुरानो छैन । सन् १९७८ देखि चिकित्सा शास्त्र अध्ययन संस्थानले एमबीबीएसको पढाइ सुरु गरेपछि औपचारिक रुपमा नेपालमा चिकित्सा शिक्षा सुरु भएको हो । सुरुमा एचए तथा पारामेडिक सहरलाई प्राथमिकतामा राखिए पनि पछि विज्ञान संकायका विध्यार्थीहरूलाई पनि चिकित्सा शिक्षा पढाइन थालियो । त्यसपछि काठमाडांै विश्वविध्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विभिन्न निजी मेडिकल कलेजहरू क्रमशः खुले । 
चिकित्सकको बढ्दो माग र नेपाली परिवेश सुहाउँदो चिकित्सकहरूको आवश्यकता मध्येनजर गर्दै पछिल्लो समय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि चिकित्सकहरू उत्पादन गर्दै आएको छ । हाल सरकारी र निजी गरि एमबीबीएस अध्ययनको निम्ती २० ओटा मेडिकल कलेजमा करिब दुई हजार जनाको दरले हरेक वर्ष चिकित्सक उत्पादन भइरहेका छन् ।


नेपाल बाहिरको मेडिकल शिक्षा
नेपालमा मेडिकल शिक्षा सुरु हुनुभन्दा पहिलेदेखि नै चिकित्सा  अध्ययनको निम्ति देश बाहिर जाने चलन पनि थियो । रुस, चीन, बाङ्लादेश, पाकिस्तान, भारत, युक्रेन आदि देशहरूमा चिकित्सा अध्ययन गरेका अघिल्लो पुस्ताका चिकित्सकहरू हामीमाँझ प्रशस्त छन् । अहिले पनि यी देशहरूमा गएर मेडिकल शिक्षा अध्ययन गर्ने विध्यार्थीको संख्या उल्लेख्य मात्रामाछ । वर्षेनी एक हजार भन्दा बढी बिद्यार्थी नेपाल बाहिरबाट चिकित्सा अध्ययन गरि फर्कने गर्छन । 
पाँच वर्ष अघि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूको संख्या लगभग ११ हजार थियो भने अहिले यो संख्या दोब्बर भएको छ । अहिले नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सक संख्या लगभग २२ हजार पुगेको छ । पछिल्लो समयमा खुलेका निजी मेडिकल कलेज र त्यहाँबाट उत्पादित चिकित्सकको कारण पाँच वर्षमा चिकित्सकहरूको संख्या दोब्बर भएको हो । यही संख्या र दरले बढ्दै जानेहो भने आगामी पाँच वर्षमा थप १० देखि १५ हजार चिकित्सक नेपाली चिकित्सा क्षेत्रमा थपिनेछन् ।

गुणस्तरको बहस
पाँच वर्षमा नेपाली चिकित्सा क्षेत्रमा मेडिकल कलेजहरूमा हुने पढाइ, कलेजहरूको आवश्यक पुर्वाधार र गुणस्तरको निकै बहस भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा गोविन्द केसीको १४आंै पटकको अनशनसम्म आइपुग्दा मेडिकल कलेजहरूमा हुने अनुगमन, त्यहाँ उपलब्ध शिक्षक, बिरामी र पुर्वाधार लगायतका विषयको यथार्थ धेरै बाहिर आएको छ । मानिसको स्वास्थ्यजस्तो संवेदनशिल विषयसँग प्रत्यक्ष सम्बन्ध राख्ने चिकित्सा शिक्षालाई गुणस्तरीय र मर्यादित बनाउनमा यसले केही हदसम्म भए पनि सहयोग गरेको छ । साथसाथै आवश्यक पुर्वाधार, बिरामी र जनशक्ति विनानै च्याउसरी खुल्न लागेका मेडिकल कलेजहरू पनि डा. केसीको अभियानका कारण खुल्न पाएका छैनन् ।


अबको बाटो
वास्तवमा नेपाली स्वास्थ्य क्षेत्रमा कति जनशक्ति आवश्यक छ र यसलाई कति वर्षमा पुर्ति गर्न सकिन्छ भनेर अध्ययन भएको पाइदैन । अहिलेकै अवस्था रहिरहे पनि आगामी १० वर्षमा नेपालमा ३० हजार चिकित्सक उत्पादन हुनेछन् र तिनीहरूको उचित व्यवस्थापनको बारेमा अहिलेनै सोच्न जरुरी छ । नेपालको चिकित्सा शिक्षाको बारेमा निम्न विषयहरूमा आधारित भइ नीति निर्माण तहमा बसेकाहरूले ध्यान दिन आवश्यक छ ।

  •  नेपाली परिवेश सुहाउदो चिकित्सा शिक्षा आदिमा विस्तृत अध्ययन गरेर त्यसैअनुरुप मेडिकल शिक्षालाई परिस्कृत गर्न जरुरी छ । 
  •  निजी भन्दा पनि सरकारी स्तरबाट मेडिकल कलेजहरू स्थापना गरि निःशुल्क वा न्यून शुल्कमा अध्ययन गर्न मिल्ने वातावरण बनाउन जरुरी छ । 
  •  पोष्ट ग्रैजूयट र अन्डर ग्रैजूयटको सीट समान गरिनु आवश्यक छ । त्यसको लागि हाल रहेको अञ्चल अस्पतालहरूमा आवश्यक पुर्वाधार विकास गरेर पोष्ट ग्रैजूयटट्रेनिङ सेन्टरको रुपमा विकास गर्न जरुरी छ ।
  •  १२ कक्षापछि एमबीबीएस अध्ययनको लागि विद्यार्थी छानिदा निश्चित मापदण्ड बनाएर योग्य विधार्थीमात्र प्रतिस्पर्धाको आधारमा छनिनु पर्छ ।
  •  मेडिकल कलेजहरूमा आवश्यक पुर्वाधार, बिरामी, शिक्षक र पढ्ने वातावरणको अवस्था बारे नियमित रुपले अनुगमन गर्ने ।

अन्त्यमा,
नेपालको मेडिकल शिक्षालाई थप सुदृढीकरण गर्न र यस पेशालाई थप मर्यादित बनाउन चिकित्सक, मेडिकल कलेज, सर्वसाधारण सबैको उत्तिकै जिम्मेवारी छ । हाम्रो चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रलाई गुणस्तरीय र विश्वकै नमुना बनाउन सबै सरोकारवालाबीच हातेमालो र खबरदारी गर्दै अघि बढ्न जरुरी छ ।
(लेखक डा. पुरुषोत्तम अधिकारी कान्ति बाल अस्पतालमा मेडिकल अफिसरका रुपमा कार्यरत हुनुहुन्छ ।) 

Last modified on 2018-04-24 15:50:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts