उमेर नपुग्दै गर्भवती हुँदा पाठेघर क्यान्सरको जोखिम
 
            विराटनगर, ७ वैशाख । जनचेतनको कमीका कारण युवतीहरु २० बर्ष नपुग्दै विवाह गर्छन् । उमेर नपुग्दै विवाह गर्ने युवतीमा गर्भवतीको बेला जोखिम बढ्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांक अनुसार २० वर्ष नपुग्दै धेरै युवतीहरू गर्भवती हुने गरेको देखिएको हो ।
तथ्यांक अनुसार आर्थिक वर्ष ०७२/०७३ मा २४ दशमलव ५९ प्रतिशत गर्भवती महिला २० वर्ष मुनिका थिए । यो तथ्यांकमा केही कमी आउँदा आर्थिक वर्ष ०७३/०७४ मा पनि २० वर्ष मुनिका गर्भवती महिलाको संख्या २१.३३ प्रतिशत रहेको थियो ।
कम उमेरमा गर्भवती हुनेहरुको दर बढेर चालू आर्थिक वर्षको असोज मसान्तसम्म भएका गर्भवती महिलाको संख्या पुनः २४ दशमलव ३१ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष ०७२/७३ मा २९ हजार ८६ जना गर्भवती महिलामध्ये २० वर्ष मुनिकाको संख्या ७ हजार १ सय ५४ थियो । गत आर्थिक वर्षमा भने २८ हजार ८ सय ४९ जना गर्भवती महिलामध्ये ६ हजार १ सय ६५ जना महिला २० वर्ष मुनिका थिए । 
चालू आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ५ हजार ४ सय १ जना गर्भवती महिला मध्ये १ हजार २ सय १३ जना महिला २० वर्ष मुनिका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक शाखाका कर्मचारी दीपक भट्टराईका अनुसार यो तथ्यांक मोरङका सबै स्वास्थ्य संस्थामा पहिलो पटक चेकजाँचमा आएका गर्भवती महिलाको हो ।
स्वास्थ्य संस्थाको पहुँचमा नआइ गर्भवती हुने र सुत्केरी गराउनेको तथ्यांक भने यसमा छैन ।
कम उमेरमा गर्भवती हुनुमा जनचेतनाको कमी, परिवारको दबाब, सानै उमेरमा प्रेम गरेर भागी विवाह गर्नु र जबर्जस्ती विवाह गराइदिनु नै रहेको जानकार बताउँछन् ।
सरकारले छोराको उमेर २२ र छोरीको उमेर २० वर्ष कटेपछि गरेको विवाहलाई परिपक्व विवाह मान्दै आएको छ । यद्यपि विगत ३ वर्षको तथ्यांक हेर्दा यो अवस्था घटेको देखिएको छैन ।
कम्तीमा २० वर्ष उमेर पुरा नभई गर्भवती भए उनीहरूमा यौनजन्य समस्या वा जटिलता देखा पर्ने गरेको बरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.बालकृष्ण साहको भनाइ छ ।
चिकित्सकको रूपमा काम गर्दा २० वर्ष नभई गर्भवती हुँदा आइपरेका जटिल समस्या देखेको बताउँदै डा.साहले उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, महिलामा पाठेघरको क्यान्सर, आङ खस्ने समस्या, कम तौलका बच्चाको जन्म हुने र आमालाई उच्च रक्तचापको समस्या हुने गरेको बताए ।
‘डेमोग्राफी एन्ड हेल्थ सर्भे–२०११’ ले प्रकाशन गरेको तथ्यांक अनुसार विश्वभर औसत महिलाको विवाह १७ दशमलव ५ वर्षमा हुने गरेको छ । ७१ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १९ वर्ष नपुग्दै हुने गरेको छ ।
सन् २०१६ को तथ्यांकअनुसार औसत महिलाको विवाह गर्ने उमेर १७ दशमलव ९ वर्ष छ भने ५२ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १८ वर्ष नपुग्दै हुने गरेको छ । ११ प्रतिशत किशोरीले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क गरिसकेका हुन्छन् ।
                
                
- 
                View Other Stories by Author >>
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                