जथाभावी एन्टिबायोटिकको प्रयोग अपराध हो



Download our app to get more features


न्टिबायोटिक औषधिको बारेमा पर्याप्त जानकारी नहुँदा आजभोली सामान्य समस्या आउँदा पनि त्यसको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । एन्टिबायोटिक औषधिको बास्तविक प्रयोगका बारेमा जान्नु जरुरी हुन्छ । सैद्धान्तिक रुपमा हेर्ने हो भने एन्टिबायोटिकको प्रयोग शरीरमा प्रवेश गरेका ब्याक्टेरीया मार्न प्रयोग गरीन्छ । तर, बिरामीले चिकित्सकको सल्लाह बिना नै औषधि पसलबाट सहजै ल्याएर सामान्य ज्वरो, झाडापखालालगायतका बिरामीले पनि प्रयोग गर्ने क्रम बढेको छ । यसले स्वास्थ्यमा फाइदा भन्दा बढी हानी गरेको हुन्छ । 
जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग गर्दा हाम्रो शरीरमा भएका काम लाग्ने ब्याक्टेरियाहरुलाई मार्ने र निस्क्रिय पार्छ । जसले रोग प्रतिरोधात्मक क्षमता पनि कम गराउँछ ।  
अझ एन्टिबायोटिक औषधिका बारेमा बिरामी स्वयं सचेत नहुँदा चिकित्सकले पनि आवश्यक्ता भन्दा बढी एन्टिबायोटिक औषधि सिफारिस गरीदिने क्रम बढ्दै गएको  छ । पशुपक्षी, हरियो तरकारी र फलफूल व्यवसायीले आफ्नो लाभका लागि पनि एन्टिबायोटिकको जथाभावी प्रयोग गरीदिँदा दिनहुँ यसको प्रयोगमा वृद्धि भएरहेको छ । 
एन्टिबायोटिक औषधिले शरीरमा रहेका ब्याक्टेरीयाहरु मार्न प्रयोग गरीन्छ । तर हाम्रो देशमा विभिन्न परीक्षण गर्ने आवश्यक औजार र ल्यावको व्यवस्था नभएकाले विज्ञ चिकित्सकहरुले बिरामीका केही लक्षणको भरमा एन्टिबायोटिक औषधि सिफारिस गर्ने प्रचलन छ । 

कतिपय अवस्थामा बिरामीहरु पनि अस्पताल जाँदा चिकित्सकले अनावश्यक जाँच गर्न लगाएर शुल्क बढी तिर्ने झण्झट हुने भन्दै एन्टिबायोटिक औषधि खान नै प्रेरित हुन्छन् । चिकित्सकले विभिन्न चेकजाँच नगरी कुनै पनि एन्टिबायोटिक औषधि चलाउन हुँदैन । तर कतिपय क्लिनिक र अस्पतालहरुले बिरामीसँग मोटो रकम असुल्न अनावश्यक जाँच पनि गराउने गरेका छन् । सबै चिकित्सकले बिरामीलाई अनावश्यक जाँच भने गराउँदैनन् । त्यसैले बिरामीले पनि आफूलाई लागेको रोगको विशेषज्ञकहाँ गएर मात्र चेक जाँच गराउनुपर्छ । 

 

नेपालमा एन्टिबायोटिकको प्रयोग अत्याधिक हुने गरेको छ । दक्ष जनशक्ति र पर्याप्त स्रोत साधनको कमिले शहर बजारमा भन्दा दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीले अत्याधिक एन्टिबायोटिक औषधि चलाउने गरेका छन् । जनचेतनाको कमीका कारण पनि होला बिरामीले अस्पताल गएपछि निको भइहाल्नुपर्छ भन्ने मनोविज्ञानका कारण पनि एन्टिबायोटिक औषधिको अत्याधिक प्रयोग भएको हुन्छ । 

अर्को कुरा नौ वर्ष लगाएर डाक्टर पढेको व्यक्तिले विभिन्न जाँच गरेर पनि एन्टिबायोटिक औषधि सिफारिस गर्न चार पटक सोच्ने गर्छ । तर १८ महिना पढेर औषधि पसल शुरु गरेको व्यक्तिले हचुवाको भरमा एन्टिबाायोटिक औषधि बिक्रि गर्दा बिरामी झन समस्यामा पर्छ । व्यापारीले नाफा कमाउने उद्धेश्यले औषधि बिक्रि गर्ने भएकाले बिरामीले त्यसलाई सेवन गर्दा हुने हानीका बारेमा उनीहरुलाई जानकारी नै हुँदैन । 

एन्टिबायोटिक औषधिको कोर्स पुर्याएर सेवन गर्नु अनिवार्य हुन्छ । बिरामीले आफू निको भएको महसुस गरेर एन्टिबायोटिक सेवन गर्न छोड्नुले पनि यसको प्रतिरोधी क्षमता घट्दै गएको छ । एन्टिबायोटिकले शरीरमा रहेका ब्याक्टेरियाहरु मार्ने काम गर्छ । तर यसको लामो समयसम्म प्रयोग गर्दा हाम्रो शरीरलाई चाहिने कतिपय ब्याक्टेरियाहरु पनि मारिदिन्छ । एन्टिबायोटिकको डोज पूरा नगर्दा बाँकी रहेका शरीरलाई चाहिने ब्याक्टेरियाहरुको रोग प्रतिरोधात्मक क्षमता घटाएर संक्रमक ब्याक्टेरिया बनाइदिन्छ । त्यसैले जथाभावी एन्टिबायोटिकको प्रयोग गर्नु हुँदैन । 

हामीले दुई प्रकारका एन्टिबायोटिक औषधिहरु प्रयोग गर्ने गरेका छौं । एक समुहका विभिन्न ब्याक्टेरिया मार्ने एन्टिबायोटिक र एउटै ब्याक्टेरियालाई मात्र मार्ने एन्टिबायोटिक । सकभर नजान्ने स्वास्थ्यकर्मीले एन्टिबायोटिक औषधिको प्रयोग नगर्नु नै बिरामीलाई लाभदायक हुन्छ । 

जनुसुकै एन्टिबायोटिक औषधिले पनि साइडइफक्ट गरेकै हुन्छ । त्यसैले यस्ता मिर्गौला, आन्द्रा र रक्त समस्याका बिरामीर्लाइ निको हुन धेरै समय लाग्छ । 
दक्षिण एशियाली राष्ट्रहरुमा यसको जथाभावी प्रयोग भइरहेको विश्व स्वास्थ्य संगठनको दक्षिण एशिया कार्यालयले चिन्ता व्यक्त गरेको छ । स्वास्थ्य जाँच नगरी एन्टिबायोटिक प्रयोग गर्ने क्रम नरोकिए सन् २०५० सम्ममा यो औषधिको प्रयोगबाट विश्वमा ज्यान गुमाउने मानिसको संख्या एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनको आँकलन छ । 

 

वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. झासँग हाम्रो डक्टरले गरेको कुराकानीमा आधारित 

Last modified on 2016-05-19 17:28:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts