पिउने पानी शुद्ध राख्न अपनाऔं यी उपाय
स्वस्थ पिउने पानी मानव जीवनका लागि अपरिहार्य छ । नेपालमा अधिकांश रोगको मुख्य कारण पिउने पानी स्वस्थ नहुनु हो । दूषित पानीका कारण धेरै मानिस बिरामी पर्ने गरेका छन् भने कतिले त ज्यानैसमेत गुमाउने गरेका छन् ।
गर्मी मौसममा पिउने पानी धेरै प्रयोग हुन्छ । पिउने पानी शुद्ध राख्न सर्वप्रथम पानीका मुहान सुरक्षित राख्नु आवश्यक छ । धेरै नेपालीले प्रयोग गर्ने पानीका मुहानवरिपरि फोहोरमैला फ्याँकिदिने, दिसा–पिसाब गरिदिने, चराचुरुंगी आदिको मलमूत्र पारिदिनाले पानी दूषित हुने गरेको छ । अर्कोतर्फ औद्योगिक कलकारखानाबाट निस्कने प्रदूषणबाट पनि पानीको स्रोत प्रदूषित भइरहेका छन् । यसरी पानीका स्रोत सफा राख्न नसक्दा बर्षेनि आउँ, हैजा, झाडापखाला, टाइफाइडजस्ता पानीजन्य रोगबाट धेरै मानिस संक्रमित हुने गरेका छन् ।
मानिसलाई लाग्ने रोगमध्ये धेरैजसो पिउने पानी भए पनि यसको शुद्धीकरणका लागि खासै ध्यान पुर्याइएको पाइँदैन । खानेपानी शुद्ध नहुँदा हैजा, आउँ, जन्डिस, टाइफाइड, रगतमासी, जुका, झाडापखाला बढ्दै गएका छन् । खानेपानीलाई शुद्ध राख्न सकेमा यस्ता रोगबाट ९० प्रतिशत मुक्त हुन सकिने सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् ।
राज्यद्वारा वितरण गरिएको खानेपानी नै शुद्ध छैन । धाराबाट वितरीत खानेपानी पनि अन्य प्रक्रियाबाटै शुद्धीकरण नगरी पिउन सकिने स्थिति छैन । त्यसैले स्रोतबाट आइरहेको पानीलाई शुद्ध गर्न आवश्यक छ । हामीले प्रयोग गर्ने खानेपानी कम खर्चमै पनि विभिन्न प्रविधि अपनाएर पानी शुद्धीकरण गर्न सकिन्छ ।
फिल्टर प्रविधि
पानी शुद्धीकरण गर्ने प्रविधिमध्ये फिल्टर प्रविधि पनि एक हो । पानीको फिल्टर दुईप्रकारले गर्न सकिने विशेषज्ञहरू बताउँछन् । कञ्चन फिल्टर एक सुधारिएको बायोस्यान्ड फिल्टर हो । विशेष पाइपजडित एउटा प्यास्टिकको बाल्टिनमा गिटी, बालुवा राखिएको हुन्छ । यसले पानीमा भएका आइरन र धमिलोपना घटाउनुको साथै जीवाणुसमेत हटाई पानीमा शुद्धीकरण आउँछ ।
यसबाट प्रतिघण्टा १५ लिटर पानी छान्न सकिने विज्ञहरूको धारणा छ । यो सजिलो घरेलु प्रविधि भएकाले विश्व बैंकले अमेरिकामा आयोजित डेभलपमेन्ट मार्केट प्लस २००३ मा पुरस्कृतसमेत गरेको थियो । यस फिल्टरमा भएका मसिना बालुवाका कणबाट धेरै प्रकारका ठूला जीवाणु छानिन्छन् । र, स–साना जीवाणु बालुवाको माथिल्लो भागमा हुने जैविक प्रक्रियाबाट नष्ट हुन्छन् ।
अर्को सिल्भर फिल्टर पनि पानी शुद्धीकरणको सजिलो विधि हो । यसमा राखिएको डिस्कमा चाँदीको लेपन गरिएको हुन्छ । त्यही लेपनले पानीमा भएका रोगजन्य कीटाणु (भाइरस ब्याक्टेरिया–फङ्स) आदिलाई नष्ट गरिदिन्छ । एक कोषीय जीव चाँदीको लेपन भएको ठाउँमा आएको एक मिनेटभित्रै निसासिएर मर्छन् । यसले रासायनिक प्रतिक्रियाविना नै कीटाणुलाई नष्ट पारिदिन्छ । यसले प्रतिघण्टा एक लिटर पानी छान्ने हु“दा ठूलो परिवारलाई समेत पिउन पुग्छ ।
पीयूषको प्रयोग प्रविधि
पीयूष क्लोरिन भनिने एक रासायनिक झोल हो । विश्व स्वास्थ्य संघका अनुसार पीयूषमा ०.५ प्रतिशत क्लोरिन हुन्छ । एक लिटर पानीमा तीन थोपा पीयूष मिसाएपछि पानी जीवाणुरहित बन्छ । सो पानी आधा घन्टापछि पिउनयोग्य बन्छ । तर, तोकिएको परिणामभन्दा बढी मिसाएमा स्वास्थ्यलाई हानि पुग्न सक्ने भएकाले यसप्रति सचेत रहन पनि जरुरी भएको डा. पुन बताउँछन् ।
यो खाने पानीलाई जीवाणुरहित पार्ने एक सजिलो र सस्तो प्रविधि हो । यो दैनिक घरमै प्रयोगसमेत गर्न सकिन्छ । पीयूषको प्रयोगपछि पानी उमाल्नुपर्दैन । बजारमा पाइने पीयूष ६० मिलिको हुन्छ । यसले चार सय लिटर पानीलाई जीवाणुरहित पार्छ । तर, पीयूष सिधै पिउनुहुँदैन । कपडा तथा शरीरको कुनै भागमा परेमा धेरै पानीले पखाल्नुपर्छ । चिसो, अध्याँरो र केटाकेटीले नभेट्ने ठाउँमा राखी पीयूषद्वारा पानीलाई शुद्धीकरण गर्न सकिन्छ ।
सोडिस प्रविधि (घाममा राख्ने)
घाममा राखेर पानी स्वच्छ बनाउने विधिमध्ये सोडिस प्रविधि सरल र विनाखर्च पूरा हुने प्रविधि हो । यस प्रविधिका लागि एक÷दुई लिटरसम्मको प्लास्टिकको पारदर्शी बोतल र पर्याप्त सूर्यको किरण भए पुग्छ । सूर्यको तापबाट निस्कने परावैजनी किरणले पानीमा रहेका झाडापखाला, आउँ, टाइफाइड, जन्डिसजस्ता रोगका हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट गर्ने डा. पुनको भनाइ छ ।
यो सजिलो भरपर्दो र साधारण जानकारीको भरमा सबैले प्रयोग गर्न सक्ने विधि हो ।
यसको प्रयोग गर्दा सर्वप्रथम बोतलमा भएको लेबल झिकी भित्री र बाहिरी भाग सफा गर्नुपर्छ । पानी भरेर बोतलको बिर्को बन्द गरेपछि पानीलाई बिहान घाममा राखेदेखि घाम नअस्ताएसम्म पारिलो घाममा करिब ७ घन्टा र बादल लागेमा दुई दिनसम्म ढल्काएर राखिदिनुपर्छ । त्यसपछि पानी कीटाणुरहित भई पिउनयोग्य बन्छ । तर, पानी धमिलो भए फिल्टर गरेरमात्र घाममा राख्नुपर्छ । यसका लागि जर्किन वा रंगीन बोतल प्रयोग गर्नुहुँदैन । यो प्रविधिलाई विश्व स्वास्थ्य संघ, युनिसेफ, नेपाल सरकार खानेपानी विभागबाट पनि मान्यताप्राप्त भइरहेको छ ।
खानेपानीको गुणस्तर जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा गरिएको छ । खानेपानी शुद्धीकरणका लागि राज्यको मात्र नभएर पानी प्रयोगकर्ताको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले यस्ता विधिद्वारा घरमै शुद्धीकरण गर्न सकिएमा विभिन्नप्रकारका रोगबाट मुक्त रहन सकिन्छ ।