पूर्वमन्त्री पासवानको उपचार खर्च : ४३ लाख निकासा, पाउरोटी खाएको देखि भारु साटेको ३० लाख रोकियो
काठमाडौं, ५ चैत्र । पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख लागेको बिल पेस गरेपनि सरकारले ४३ लाख रुपैयाँ मात्रै उपलब्ध गराएको छ ।
स्वास्थ्य मन्त्रालयले औषधि उपचार बाहेकको बिल समावेश नगराए पछि अर्थले ३० लाख रुपैयाँ कटौती गरेर रकम आइतवार निकासा गरेको हो । केही समय अघि नयाँ पत्रिका दैनिकले पूर्वमन्त्री पासवानको उपचार खर्च ७३ लाख, औषधि उपचार मात्र होइन, कालो बजारमा भारु साटेको कमिसन पनि सरकारसँग माग शिर्षकमा समाचार प्रकाशित गरेपछि स्वास्थ्य मन्त्रालयले औषधि उपचारको बिल मात्रै समावेश गराएर अर्थमा पठाएको थियो । पासवानले हामीलाई तनाव दिएका थिए । हाम्ीले अन्तिममा उनले उपलब्ध गराएको अस्पताल र औषधिको बिलका आधारमा मात्रै पैशा निकासा गर्न अर्थमा पठायौं स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार पासवानले ७३ लाख कै बिल बनाउन अन्तिम सम्म पनि दबाव दिएका थिए ।
४३ लाख ४१ हजार निकासा
२६ असार २०७४ को नणर्यानुसार तत्कालीन माननीय जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन नियमको परिधिभित्र रहि उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार ५ सय ५२ रुपैयाँ रकम निकासा गरेको छ अर्थले भनेको छ । उक्त निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा ७३ लाख खर्च भएको निवेदनसहित तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा बिल पेस गरेका थिए ।
पासवानले औषधि उपचार खर्च बाहेक भारतमा गएर पाउरोटी खाएको, कालो बजारमा भारु साटेको कमिसन सरकारसँग माग गरेपछि स्वास्थ्य मन्त्रालयले लामो समय सम्म अर्थ मन्त्रालयमा पत्र नपठाई रोकेर राखेको थियो । अन्तिममा लागेको खर्च बाहेकको २९ लाख ९० हजार ४ सय ४८ रुपयाँ कटाएर निकासा भएको छ ।
पासवानले पेस गरेका बिलको शीर्षक यस्तो थियो
- भारतीय नोट सटही रु १५ लाख दुई हजार ९९४ (एक सय ६० नेपालीबराबर सय भारु हुन्छ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी थियो ।
- पाउरोटी आएको, होटेल बास, चिया खर्च रु १८ लाख ७३ हजार ६ सय ।
- यातायात रु ८ लाख ९१ हजार ५७
- काठमाडौंको शिक्षण अस्पतालमा उपचार रु ७ लाख १६ हजार
- भारतको मेदान्त अस्पतालमा उपचार रु २३ लाख ४८ हजार ४२८
(नयाँ पत्रिका दैनिकबाट)