संकटका बेला सँधै रगत अभाव
काठमाडौं, १ चैत्र । विपत्तिका बेला राजधानीमा रगत अभाव हुने गरेको छ । माग भन्दा रगतको संकलन कम हुँदा संकटका बेला रगत अभाव हुने गरेको हो ।
विमान तथा सवारी दुर्घटनामा सबैभन्दा बढी रगतको समस्या हुने गर्दछ । रगत संकलन गरी वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) लाई रगतको माग धान्न मुस्किल परेको छ । ब्लड बैकका डा. प्रकाश यादवले रगत पु¥याउनै मुस्किल भएको बताए ।
माग भन्दा खपतको अनुपात धेरै रहेकोले रगतको अभाव हुने गरेको उनको भनाइ छ । डा.यादव आपकालीन अवस्थामा अझ धेरै समस्या हुने गरेको बताउँछन । उनी भन्छन, ‘समस्या त सधैं नै हुन्छ तर ठूला दुर्घटनामा अझै धेरै समस्या हुन्छ ।’ ‘फ्रेस ब्लड’ र ‘कम्पोनेन्ट’ बढी अभाव हुने गरेको डा.यादवको अनुभव छ ।
सर्जिकल, सुत्केरी, क्यान्सर र मुटु रोगीलाई बढी मात्रामा रगत आवश्यक पर्छ । डा.यादवका अनुसार काठमाडौंमा मात्रै दिनहुँ ४ सयदेखि ४५० यूनिटसम्म रगत खपत हुन्छ । तर संकलन भने ५० यूनिट पनि हुँदैन ।
सन् २०१६/०१७ मा नेपालमा २ लाख ३६ हजार ७९९ युनिट रगत संकलन भएको थियो । जसमा ३ लाख ३७ हजार ३२१ यूनिट रगतको माग थियो । त्यो बेला करिब एक लाख यूनिट रगतको अपुग भएको थियो । व्यक्तिगत पहलमा रक्तदान गरेर रगतको अभाव पुरा गरिने गरिएको डा.यादव बताउँछन् ।
(आजको अन्नपूर्ण पोष्टबाट