कमालको कपाल प्रत्यारोपण

What's This?


Download our app to get more features

केश अर्थात कपाल झरेर तालु भएको ठाउँमा पुनः कपाल उमार्ने उपचार विधि केश प्रत्यारोपण हो । कपाल मात्र नभएर पातलिदै गएको दाह्री, जुँगा, पनि प्रत्यारोपण गर्ने गरिन्छ । यसैगरी आँखी भौ रोपेर बाक्लो पार्ने, जलेको वा कुनै रोगका कारण टाउको वा अन्य भागमा रांै कम भएमा त्यस स्थानमा पनि रौं रोपेर यो प्रक्रियाबाट बाक्लो पार्ने सकिन्छ । 

डम्र्याटोलिस्ट तथा हेयर ट्रान्सप्लान्ट सर्जन डा. रुपक घिमिरेका अनुसार नेपालमा पछिल्लो समय कपाल प्रत्यारोपण गराउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कपाल प्रत्यारोपण गराउन आउनेमा ९५ प्रतिशत पुरुष र बाँकी महिला हुने गरेका छन् । डा. रुपकका अनुसार उनीसँग सेवा लिनेमा ५० प्रतिशत त विदेशी नागरिक नै हुने गर्दछन् । यो सेवा २० वर्षदेखि ७० वर्षसम्मका मानिसलाई दिन सकिने डा. रुपक घिमिरेको भनाइ छ । विशेषगरी २५ देखि ३५ वर्ष उमेर समूहका युवा कपाल प्रत्यारोपण धेरै आउने गरेको उनले बताए ।  

खर्च कति लाग्छ ?
व्यक्तिको कपाल झराईको प्रकृति र कुन भागमा कति प्रतिशत कपाल झरेर खाली भएको छ सोही अनुसार प्रत्यारोपण खर्च लाग्छ । डा. रुपेशका अनुसार नेपालमा १० हजारदेखि ५ लाखसम्मको खर्चमा कपाल प्रत्यारोपण भएका छन् । तर, विदेशतिर भने यो भन्दा निकै खर्च लाग्छ । 
डा. रुपकका अनुसार विदेशमा कपाल प्रत्यारोपण गर्दा पनि सफल नभएकाहरूको उनले उपचार गरेका छन् । उनी भन्छन् ‘यसकारण नेपालीले कपाल प्रत्यारोपण गर्न विदेश जानै पर्दैन । विदेशमा भन्दा राम्रो र सस्तो मुल्यमा यही प्रत्यारोपण भइरहेको छ ।’ हालसालै पनि बेलायतका एक पाइलटको नेपालमै आएर कपाल प्रत्यारोपण गरेको डा. रुपेशले सुनाए । यसर्थ, नेपालमा कपाल प्रत्यारोपण सेवा निकै उत्कृष्ठ रहेको उनी दावी गर्छन् । कपाल थोरै पातलो मात्र भएको हो भने १० हजारसम्ममा प्रत्यारोपण हुन्छ भने निधार वरपरको अलिकति भाग खुइलिएको छ भने १ लाख र टाउकोको अधिकाँश भाग खाली छ भने ४ देखि ५ लाख रुपैयाँसम्म खर्च लाग्छ ।
 
कपाल रोप्न चाहनेले जान्नै पर्ने केही कुरा
मानिसको सुन्दरतमा कपालले पनि महत्वपूर्ण भूमिका रहन्छ । स्वस्थ, शुन्दर कपाल के महिला के पुरुष जसको पनि पहिचान र सुन्दरताको विषय हो । तर, दुर्भाग्यवश कपाल झरेर रुप नै फरक भएका हामीले धेरै व्यक्ति देखेका छौं । विशेष गरी पुरुषमा यो समस्याले बढी छ ।
कपाल झरेर तालु भएका धेरै व्यक्ति अस्थायी र झन्झटिलो ‘विग’ लगाएर हिँडेको हामी देख्छौं । कपाल उमार्ने तथा झर्नबाट रोक्ने भन्दै भ्रमपूर्ण औषधि बेच्नेहरू पनि बजारमा प्रशस्तै भेटिन्छन् । जसको विश्वासमा परी पैसा खर्च मात्रै भइरहेको हुँदैन स्वास्थ्यमा पनि असर पर्ने डा. रुपक बताउँछन । 
विश्वमै पहिलो पटक सन् १९५० को दशकतिर अमेरिकास्थित न्युयोर्कका ड्रमोलोजिस्ट नरम्यान ओरेन्टेरिकले टाउकोको पछाडीको भागबाट खाली भएको स्थानमा कपाल प्रत्यारोपण शुरुवात गरेका थिए । 
उनले टाउको पछाडि भागबाट ‘ग्राप्ट’ निकालेर कपाल नभएको ठाउँमा रोप्दा त्यही प्रकारले नयाँ कपाल आएको थियो । 

यसरी निकालिन्छ कपाल ?
डोनर क्षेत्र (कपाल बाक्लो भएको ठाउँ) अर्थात् टाउकोको पछाडि र दाह्रीबाट गरी मुख्य दुई विधिद्वारा कपाल निकाल्न सकिन्छ । कहिलेकाही छातीको रौं पनि प्रयोगमा ल्याउने गरिन्छ । 
१. स्ट्रिप विधि
यो विधिमा छालाको १० देखि १५ सेमी लामो र १ देखि १.५ सिमी चौडा हेयर फोलिसिससहितको स्ट्रिप टाउकोको पछाडिको भागबाट निकाल्ने गरिन्छ । जसले टाउको पछाडिको भागमा लामो खत बस्छ । त्यसपछि यो स्ट्रिपबाट खाली ठाउँमा प्रत्यारोपण गर्न एक–एक फोलोसिस छुटाइन्छ ।
२.फोलिक्युलर यूनिट एक्स्ट्रयाक्सन (एफयुई)
यो विधि विश्वमै आधुनिक तरिका हो । यसमा एक–एक फोलिसिस यूनिट अथवा ग्राफ्टलाई निकालिन्छ । यो विधिमा भएको घाउ एक दुई सातामै ठीक हुन्छ । यसरी निकाल्दा खत बस्दैन । यो प्रविधिअनुसार कपाललाई निकालेर स्टोर नगरी तुरुन्तै प्रत्यारोपण गरिन्छ । यसले कपाल मर्ने सम्भावना कम हुन्छ र कपाल निकालेर स्टोर गर्दा ५ डिग्री सेल्सियम भन्दा कम तापक्रममा राख्नुपर्छ ।

यसरी गरिन्छ कपाल प्रत्यारोपण
कपाल प्रत्यारोपण गर्दा टाउकोको पछाडिपट्टिको भाग ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ को कपाल निकालेर झरेको भागमा एक–एक वटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने गरिन्छ । सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोश बनाउनु पर्दैन । कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल २ देखि ३ साता पछाडि झर्छ । तर, १० देखि १६ साताको बीचमा कपाल अझै बाक्लो भएर उम्रिन्छ । २ हजार वटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टा लाग्छ ।

प्रत्यारोपण पछिको हेरचाह
प्रत्यारोपणपछि डोनर क्षेत्र अर्थात कपाल झिकेको भागलाई ब्यान्डेज र पेपरटेप प्रयोग गरेर छोपिन्छ । सो ब्यान्डेज ४८ देखि ७२ घण्टाभित्र निकालिन्छ । ब्यान्डेज निकालेपछि सात दिनसम्म एन्टीबायोटिक लगाउनु पर्छ । कपाल रोपेको क्षेत्रलाई भने खुल्ला क्यापले छोप्नु पर्छ, ताकी त्यस क्षेत्रमा कुनै संक्रमण नहोस् । प्रत्यारोपण गरेको ७२ घण्टापछि क्लिनिकमै गएर पहिलो पटक बेबी स्याम्पूले नुहाउनु पर्छ । 
ट्रान्सप्लान्ट गरेको एक वर्षसम्म एक प्रकारको औषधि प्रत्यारोपण गरेको क्षेत्रमा लगाउनु पर्छ । जसले ट्रान्सप्लान्टेड कपालमा रक्त सञ्चार गर्न र कपाल छिटो बढन् मद्दत गर्छ

कपाल झर्ने प्रकृति कस्तो हुन्छ ?
एउटा सामान्य स्वस्थ मानिसको टाउकोमा लगभग एक लाख भन्दा बढी रौं हुन्छ । जहाँ प्रति एक सेन्टिमिटरमा २ सय वटा कपाल हुन्छन् । पुरुषको कपाल सामान्यता २० वर्षको उमेरपछि झर्न थाल्छ । पुरुषको तालुखुइलेपन टाउकोको अघिल्लो भागबाट सुरु हुन्छ । यसलाई नाइट्रेम्पोरल रिसेसन भनिन्छ । यो बिस्तारै पछाडितिर बढ्छ । यद्यपि, टाउकाको पछाडिको भाग कपालको स्थायी क्षेत्र हो जहाँ बूढेसकालमा पनि कपाल रहिरहन्छ ।

कपाल प्रत्यारोपणपछि ध्यान दिनुपर्ने केही कुरा:
—कपाल प्रत्यारोपण गरेको ४ देखि ५ दिनसम्म उत्तानो परेर सुत्नुपर्छ । कोल्टे सुत्दा कपाल रोपेको भाग सुनिने तथा दुख्ने हुन सक्छ । 
—प्रत्यारोपण गरिएको ४–५ दिनसम्म निहुरिएर गर्ने काम नगर्ने ।
—कम्तिमा एक हप्तासम्म चिल्लो, पिरो, अमिलो खाना सकेसम्म नखाने । 

यस्ता मानिसले गर्नु हुँदैन कपाल प्रत्यारोपण
—उच्च रक्त चाप भएका, औषधि सेवन गरिरहेका तथा अस्वस्थ व्यक्तिले । 
– मधुमेह भएका मानिसको मधुमेह नियन्त्रणमा आएपछि मात्रै कपाल प्रत्यारोपण गर्न सक्छन ।
– अन्य कुनै समस्याले अप्रेसन थिएटरमा जाँदा वा कुनै कुराको एलर्जी छ भने पनि कपाल प्रत्यारोपण गराउनु हुँदैन ।
कुनै रोगका कारण केश झरेको भए प्रत्यारोपण गर्नु हुँदैन ।

प्रत्यारोपणपछि के–कस्ता असर देखा पर्छन् ?
कुनै औषधिले एलर्जी हुने, चिन्ता बढ्ने, प्रत्यारोपण गरेको ठाउँमा हल्का रगत देखिन सक्छ । शल्यक्रियापछि केही मानिसमा डोनर तथा केश रोपेको क्षेत्रमा पीडा हुनसक्छ । यो व्यक्ति अनुसार फरक हुन्छ । कसैको आँखा सुन्निन पनि सक्छ तर एक सातापछि सबै आफै ठीक हुन्छ ।

कपाल प्रत्यारोपणको वास्तविकता र भ्रंम 
– प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घन्टापछि बढ्न थाल्छ ।
– ५ महिनापछि कपाल काट्न मिल्छ ।
– एक वर्षभित्र कपाल बाक्लो भएर आउँछ । मुण्डन गरे पनि केश पलाइरहन्छ ।
– कपाल प्रत्यारोपण गर्दा मस्तिष्कमा असर पर्दैन । किनभने टाउकोको छालामा पाँच पत्र हुन्छन् । कपाल छालाको सबैभन्दा माथिल्लो पत्रबाट उम्रन्छ । 
– मस्तिष्कलाई यो पत्र भन्दा निकै तल रहेको स्कोल बोनले संरक्षण गरेको हुन्छ । केश प्रत्यारोपण छालामा गरिने भएकाले मस्तिष्कमा असर पर्दैन ।
– केश प्रत्यारोपण गर्दा क्यान्सर हुन्छ भन्ने भ्रम छ जुन विल्कुल गलत हो । प्रत्यारोपण गर्दा एक ठाउँको कपाल अर्को ठाउँमा सार्ने मात्र हो ।

कपाल तथा रौं पत्यारोपण अघि निम्न कुरामा ध्यान दिन जरुरी छ :
१. यदि तपाईं कपाल प्रत्यारोपण गर्ने योजनामा हुनुहुन्छ भने प्रत्यारोपण गर्न लागेको ठाउँका डाक्टरहरू कस्ता छन्, को हुन, कहाँबाट विशेषज्ञता हासिल गरेका हुन भनेर पृष्ठभूमि बुझ्होस् । 
२. सो क्लिनिक वा अस्पतालका डाक्टरसँग उसले गरेका काम र परिणाम बारे पूर्ण विवरण माग्नुहोस् । उसले गरेको कामको फोटोहरू मागेर राम्ररी अवलोकन गर्नुेहोस् । कपाल प्रत्यारोपण अघिको, प्रत्यारोपणपछि तीन महिना, ६ महिना, १२ महिनासम्मको फोटोहरू माग्नुहोस् ।
३. कपाल प्रत्यारोपण गर्ने क्लिनिक वा अस्पतालको पृष्ठभूमिको बारेमा राम्ररी बुझेर मात्र अघि बढ्नुहोस् । 

(हाम्रो डक्टर म्यागजिनबाट)

Last modified on 2018-03-07 15:58:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts