चितवनका अस्पतालको विद्युत सेवा काटियो, स्वास्थ्य सेवा प्रभावित

What's This?


Download our app to get more features

फागुन १८, चितवन । पुनरावेदन अदालत हेटौँडाले निजी अस्पताल, स्वास्थ्य संस्थाहरुलाई लोडसेडिङ नगर्न निर्देशन दिएपनि नेपाल विद्युत् प्राधिकरणले अटेर गरी विद्युत  काटेपछि चितवनका स्वास्थ्य सेवा प्रभावित भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निजी स्वास्थ्य संस्थाहरुलाई दिँदै आएको विशेष डेडिकेटेड विद्युत सेवा काट्ने निर्देशनलाई पुनरावेदन अदालत हेटौँडाले खारेज गरीदिएको छ । तर सोमबार देखिनै अदालतको अन्तरिम आदेशनै नमानि डेडिकेटेड फिडर काटिएको छ ।

विद्युत् काटिएसँगै शल्यक्रियालगायतका काम रोक्नुपर्ने अवस्था आएको निजी अस्पतालहरुले बताएका छन् ।

निजी अस्पताल समन्वय समिति चितवनका सचिव तथा नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक पुष्प धिताल भने १३ घन्टाको विद्युत्भार कटौतीमा मेडिकल उपकरण सञ्चालन गर्न नसकिने बताउँदै सेवा रोक्नुको विकल्प नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो –“ठूलो दुर्घटना भएमा त्यसको व्यवस्थापन गर्न मुस्किल हुने अवस्था सिर्जना भएको छ ।” पुनरावेदन अदालत हेटौँडाले सात दिनअघि अन्तरिम आदेश जारी गरी नकाट्ने भने पनि प्राधिकरणले काटेको बताउनुहुन्छ ।

१३ घन्टाको विद्युत्भार कटौतीमा मेडिकल उपकरण सञ्चालन गर्न नसकिने बताउँदै सेवा रोक्नुको विकल्प नरहेको  र  ठूलो दुर्घटना भएमा त्यसको व्यवस्थापन गर्न मुस्किल हुने अवस्था सिर्जना भएको छ ।  - निजी अस्पताल

उहाँले भन्नुभयो – “अदालतले सात दिनको म्याद दिएको थियो, सोमबार सात दिन पुगेपनि अदालतमा भएको छलफलपछि पुनः मुद्दाको किनारा नलागेसम्म विद्युत् नकाट्न आदेश दिएको छ । तर प्राधिकरणले किन काट्यो हामीलाई थाहा छैन । अदालतको अन्तरिम आदेशनै नमानेपछि हामिले मात्रै के गर्ने ।”

यहाँका ११ निजी अस्पताल र दुई मेडिकल कलेजमा विद्युत्भार कटौती नहुने गरी डेडिकेटेड फिडरबाट विद्युत् जडान गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले सोमबार डेडिकेटेड फिडर काटेर सिटी फिडरबाट लाइन जोडिदिएको छ ।

वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले माथिको आदेशअनुसार नै डेडिकेटेड फिडर काटिएको बताउनुभयो । इञ्जिनियर पौडेल भने अदालतको आदेश आधिकारिक रूपमा आफूकहाँ आइनपुगेको र माथिको आदेशअनुसार काटेको बताउनुहुन्छ । अदालतको आदेश आए केन्द्रमा समन्वय गरेर सोहीअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।

अदालतको आदेश आधिकारिक रूपमा आफूकहाँ आइनपुगेको र माथिको आदेशअनुसार काटेको  हौँ । -  ई.राजेन्द्र पौडेल, नेपाल विद्युत प्राधिकरण

 प्राधिकरणले गत फागुन ६ गते निजी अस्पताललाई पत्र लेखेर फागुन ११ गते मंगलबारदेखि विद्युत् सेवा बन्द गर्ने जानकारी दिएपनि पुनरावेदन अदालत हेटौँडाले खारेज गरीदिएको थियो ।

Last modified on 2016-03-01 16:14:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts