पूर्वमन्त्री पासवानको उपचार खर्च ७३ लाख
भारतीय नोट सटही देखि पाउरोटी खाएको सम्म बिल पेस
काठमाडौं, २९ माघ । पूर्व जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख रुपैयाँ खर्च भएको भन्दै उक्त रकम उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा ताकेता गरेका छन् ।
०७३ असार २६ गतेको मन्त्री परिषद बैठकको निर्णयलाई आधार मान्दै पूर्व मन्त्री पासवानले शिक्षण अस्पताल महाराजगञ्ज र भारतको मेदान्त अस्पतालमा ७३ लाख रुपैयाँ खर्च भएको निवेदन सहित तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा ताकेता गरेका हुन ।
मन्त्री पासवानको स्वास्थ्यमा समस्या देखिएको भन्दै गत ०७३ असार २६ गतेको मन्त्री परिषद बैठकले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्दा लागेको खर्च र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गर्दा लागेको आर्थिक रकम बिलका आधारमा पासवानलाई उपलब्ध गराउने भनेर स्वास्थ्य मन्त्रालयमा निर्णयको पत्र पठाएको थियो । तर, पूर्व मन्त्री पासवानले उपचार गर्दा लागेको भन्दा दोब्बर बिल स्वास्थ्यमा पेस गरेपछि स्वास्थ्य मन्त्रालयका कर्मचारी रकम दिने वा नदिने भन्नेमा अन्यौलमा देखिएका छन् । मन्त्री पासवानलाई प्यान्क्रीयाजमा समस्या भएको अनुमान गरिएको थियो ।
भारु नोट साटेको देखि पाउरोटीको समेत बिल पेस
मन्त्री पासवानले स्वास्थ्य मन्त्रालयमा पेश गरेको खर्च बिवरणमा उपचार खर्च संगै भारतीय नोट सटही गरेको र आवास, खाजा खर्च जस्ता विषयमा भएको खर्च पनि समावेश गराएका छन् । उनले भारतीय नोट लिदा नेपाली ४ रुपैयाँ थप गरी १५ लाख २ हजार ९ सय ९४ रुपैयाँ लागेको उल्लेख गरेका छन् । त्यस्तै होटल बास, चियाँ खाजा खर्च बापत १८ लाख ७३ हजार ६ सय रुपैयाँ देखाएका छन् । त्यस्तै यातायातमा ८ लाख ९१ हजार ५७ रुपैयाँ खर्च भएको बताएका छन् ।
पूर्व मन्त्री पासवानले शिक्षण अस्पतालमा उपचार गर्दा ७ लाख १६ हजार र मेदान्त अस्पतालमा औषधि उपचारको २३ लाख ४८ हजार ४ सय २८ रुपैयाँ खर्च भएको माग दावी गरेका छन् । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘पूर्व मन्त्री पासवानले जम्मा ७३ लाख ३२ हजार माग दावी गर्नु भएको छ । तर, सबै बिलका आधारमा दिन नमिल्ने भएपछि हामीले ४३ लाख सिफारीस गरेका हौं । मोटो रकम भएकाले उनले पासवानले पाउनेमा भने आशंका उब्जिएको छ ।’
ती कर्मचारीले औषधि उपचारमा लागेको रकम भन्दा बाँकी दिन नसक्ने बताए । उनले थपे, ‘उहाँ सरकार ढल्न लाग्यो मेरो रकम निकासा गर्नुस भनेर दिनहु आउनु भएको छ । तर, हामीले ४३ लाख मात्रै दिन मिल्ने सिफारीस गरेका छौं । अर्थले सहमति दिन्छ दिदैन भन्न सक्ने अवस्था छैन ।’ मन्त्री परिषदले गरेको निर्णय भएकाले औषधि उपचारमा लागेको बिलका आधारमा ४३ लाख रुपैयाँ सिफारीस गरेका छौं लेखा शाखाका एक कर्मचारीले बताए ।
कर्मचारीको कुरा सुनेर सोफामै ढले पासवान
आफुले निवेदनमा दावी गरे अनुसार तत्काल रकम निकासा गर्न भन्दै स्वास्थ्य मन्त्रालय पुगेका पासवान कर्मचारीको कुरा सुनेर सोफामा ढलेका थिए । कर्मचारीले उपचार खर्च भन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउने बिषयमा कठिन भएको बताएपछि उनि रिङ्गटा लागेको भन्दै मन्त्रालयको सोफामै ढलेका थिए । उपचार खर्चको नाममा ७३ लाखको बिल पेस गरेका पासवानले रकम नपाउने जस्तो देखेपछि शरीरको प्रेशर कम भएको भन्दै सोफामा ढलेको मन्त्रालयका कर्मचारीले बताए । मन्त्रालय उच्च स्रोतका अनुसार पछिल्लो केही दिन यता पासवान निरन्तर स्वास्थ्य मन्त्रालयमा रकम निकासा गरिदिन भन्दै धाइरहेका थिए ।
(आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेको समाचार)