७६ वर्ष लागेँ, रिटायर्ड हुन मन छैन : नर्स विष्णु राई
काठमाडौं, २३ माघ । समकालीन प्रायः नर्सहरू विष्णु राईका चेली हुन् । नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलसहित गोमा निरौला, लक्ष्मी थापा, काठमाडौ विश्वविद्यालयको नर्सिड डाइरेक्टर रेजिना सिंह लगायत प्रायः नर्सिड क्याम्पसका प्रमुख उनका चेली हुन् ।
निकै कडा र अनुशासित मिजासकी विष्णु राई सन् १९५९ देखि निरन्तर नर्सिङ क्षेत्रमा सक्रिय छिन् ।
विष्णु राईको उमेर ७६ बर्ष नाघिसक्यो । तर, अहिलेसम्म पनि उनमा जाँगर घटेको छैन् । ६५औं नर्सिङ दिवसमा सहभागी हुन उनी बनेपादेखि काठमाडौंमा आएकी थिइन ।
सरकारी नर्सिङ सेवाबाट उनी ५५ बर्षको उमेरमै रिटायर्ड भएकी थिइन् । तर उनी यस पेशाबाट कहिल्यै रिटायर्ड हुन चाहन्नन् । त्यसैले त अहिलेसम्म पनि उनी बनेपाको शीर मेमोरियल अस्पतालको नर्सिङ कलेजको प्रिन्सिपलका रुपमा कार्यरत छिन् ।
ताप्लेजुङको मेवाखोलामा लिम्बु परिवारमा कान्छी छोरीका रुपमा उनको जन्म भएको थियो । उनको खानदान ब्रिटिस लाहुरे थियो । उनका बुबा लाहुरेकै क्रममा बर्मा, मलेसिया र भारतमा बसाइँसरेका थिए ।
उनको बुबा रिटायर्ड भएपछि ताप्लेजुङमा आएका थिए । तर छोराछोरीको पढाईको लागि उनी दार्जिलिङ बसाइँ सरे । दार्जिलिङमै उनको पढाई सुरु भयो ।
केयर गर्ने स्वभाव
दार्जिलिङको स्कूलमा पढ्दै गर्दा उनले स्कूलका ससाना नानीहरूलाई जम्मा पारेर पढाउने गर्थिन् । उनले भनिन् ‘स्कूल नजिकैको खोलामा लगेर उनीहरूलाई नुहाइदिने र सरसफाइ गराइदिन्थँे ।’
नर्स बन्ने चाहना उनको मनमा पहिलेदेखि पलाएको बताउँछिन् । उनको रहर शिक्षक बन्नु पनि हो ।
स्कूलबाट एसएलसी सकेर खाली बसिरहेका बेला उनको एक साथीले नेपालमा नर्सिङ शिक्षा अध्ययनका लागि जान लागेको बताइन् । त्यतिबेला युनाइटेड मिसनमा नर्सिङ पढ्नको लागि उनको साथीले फर्म भरेकी रहिछन । साथीसँग उनले आफूलाई पनि नर्स पढ्न मन लागेको बताइन् । तर फर्म नबुझाएको कारण के गर्ने दोधारमा थिइन् । दार्जिलिङमै रहेको युनाइटेड मिसनका एक प्रिन्सिपलसँग त्यसको लागि सहयोग गरिदिन उनले आग्रह गरिन् ।
नभन्दै उनले काठमाडौंमा रहेको युनाइटेड मिसनको पहलमा खुलेको शान्तावनस्थित स्कूल अफ नर्सिङको नाममा पत्र लेखी पठाइन् । उनले नेपालमा नर्सिङ पढ्न जान लागेको आमालाई बताइन् । आमाले मानिन् । तर बुबाले मान्छन् कि मान्दैनन् भन्ने डर थियो आमाछोरीलाई । नेपाल आउन पैसा समेत थिएन उनीसँग ।
कानको सुन बेचेर नर्सिङ पढ्न नेपाल आए
बुबाले ब्रिटिस लाहुरे हुँदा मलेसियाबाट कमाएर उनलाई आधा तोलाको सुनको झुम्की लगाइदिएका थिए । त्यतिबेला सुन तोलाको ८० रुपैयाँ थियो । त्यसैले उनले आफूसँग भएको आधा तोला सुन बेचेर ४० रुपैयाँ बोकेर साथीसँगै नर्सिङ पढ्न काठमाडौं आइन् ।
त्यतिबेला उनको उमेर १६ बर्षको मात्रै थियो । दार्जिलिङबाट काठमाडौं आउने यातायातको सुविधा पनि राम्रो थिएन । दार्जिलिङबाट काठमाडौंसम्म आइपुग्न निकै सकस व्यहोर्नु पर्यो उनीहरुले । रेल मार्ग भएर सिलगुडी, अमलेखगन्ज हुँदै उनीहरू काठमाडौंको शान्तवनमा आइपुगे ।
स्कूल अफ नर्सिङका डाइरेक्टर मार्गरेट फ्लेमिङले विष्णुलाई शुरुमा भर्ना लिन नसक्ने बताएका थिए । तर उनको शिक्षा र दार्जिलिङका युनाइटेड मेसिनरीका डाइरेक्टरको चिठीपछि उनलाई भर्ना गर्न राजी भए ।
विष्णुले त्यतिबेलाको मेट्रीक अर्थात अहिलेको एसएलसी सरह पास गरेकी थिइन् ।
उनीसँगै अरु सात जना नर्सिङ स्कूलमा भर्ना भए । मेट्रीक पास गरेको भने उनी एक्लै थिइन् ।
नर्सलाई हेपाइको दृष्टिले हेर्ने
त्यतिबेला नर्स पेशालाई समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको उनको अनुभव छ । उनले भनिन् ‘त्यतिबेलाको सोसाइटीमा यो पेशा ‘लुक डाउन’मा थियो । नर्स पढेकालाई कसैले विवाह गर्दैन भन्ने गर्थे ।’ यिनीहरू तल्लो जातको अछुत हुन समेत भन्थे । नेपालमा नर्सिङ पढ्ने विद्यार्थी नपाएर स्कूलहरूले भारतबाट विद्यार्थीलाई खाने बस्ने व्यवस्था गरेर बोलाउथे ।
त्यतिबेला उनीसँगै नर्सिङ पढेकी महालक्ष्मी भट्राईसँग भएको घटना उनी कहिल्यै बिर्सिनिन् ।
महालक्ष्मी पनि नर्सिङ पढ्न शान्तवन आएकी थिइन् । उनी ब्राम्हण परिवारकी थिइन् । त्यसैले उनको पढाई परिवारलाई मन परेको थिएन । पढाई शुरु गरेको केही दिनमै महालक्ष्मीकी बज्यैले यस्तो तल्लो जातको पढे तँलाई कसैले बिहे गर्दैनन् भन्दै फिर्ता लिएर गएकी थिइन् ।
ब्राम्हण परिवार भएर पनि तल्लो जातको पढाई गर्ने हो भन्दै हजुरआमाले महालक्ष्मीलाई फिर्ता लगेकी थिइन् ।
विष्णुले भनिन् ‘त्यतिबेला नर्सिङ क्षेत्रलाई पेशा नभइ ‘जात’ भन्ने गरिन्थ्यो । एक महिनापछि हजुरआमा बितेपछि महालक्ष्मीले फेरि पढाई शुरु गरेको घटना सुनाइन् । ‘स्कूलमा पढ्दा शिक्षकहरूले फ्लोरेन्स नाइटिङ्गेलको विचारलाई अंगाल्नु पर्ने र उनले जस्तै सेवा गर्नुपर्ने बताउँथेँ’ उनले भनिन् ‘हामी स्कूलको भूइँ सफा गर्ने, लुगा धुने सबै काम गर्थोँ ।’
शान्तवनमा कुनै स्वीपर राख्दैन्थ्यो, सबै काम विद्यर्थीले नै गर्ने गरेको उनको भनाइ छ । ‘बिरामीले फोहर गरेको कोपरा सफा गर्ने, उनीहरूको लुगा धोएर कौसीमा सुकाउने सबै काम गथ्यांै ।’ उनले भनिन् ।
यस्तो काम गरेको देखेर अरुले खिसीटिउरी समेत गर्ने गरेको उनले सुनाइन् । ‘यसकारण पनि समाजमा हाम्रो पेशालाई त्यतिबेला इज्जत गर्दैन थिए होला ।’ उनले भनिन् ।
पछि त समय परिवर्तन भयो । नयाँ पिढीँ आए । नर्सहरुले पनि कोपरा र भूइँ सफा गर्ने होइन बरु उनीहरुले बिरामीलाई सेवा गर्ने, औषधि दिने र डाक्टरको टीममा बसेर सहयोग गर्ने धारणा विकास भएको उनले बताइन् ।
प्रेक्षा शाहले नर्सिङ पढेपछि सबै बोल्ती बन्द
तत्कालीन महारानी रत्नराज्यलक्ष्मीकी बहिनी प्रेक्षा राज्यलक्ष्मी सन् १९७४ मा दुई जना साथीसहित नर्सिङ पढ्न महाबौद्धमा भर्ना भएकी थिइन् । समाजमा हेप्ने पेशामा अचानक शाही परिवारका सदस्यले नै शिक्षा लिन थालेपछि समाजमा कुरा काट्नेहरुको बोल्ती बन्द भएको उनले सुनाइन् । त्यसपछि नर्सिङ पढ्न अरुको ओइरो लागेको उनी सुनाउँछिन् ।
प्रेक्षाले पढाई पूरा गरेपछि वीर अस्पतालमा एक बर्ष भोलेन्टियरका रुपमा काम समेत गरेको उनले बताइन् ।
बिरामीको सेवामा तत्पर
त्यतिबेला बिरामीको सेवामा रातदिन लाग्ने गरेको विष्णुले सुनाइन् । हामी बिरामी बसेको हरेक शय्यामा गएर तपाईंलाई कस्तो छ , राति राम्रोसँग सुत्नुभयो, औषधि खानुभयो भन्दै सोध्थ्यौं । हामीलाई कस्तो माया गरेको भनेर बिरामी मक्ख पर्ने गरेको उनले स्मरण गरिन ।
‘बिरामीले बान्ता गर्छ कि भनेर औषधि नलिएसम्म उभिरहनथ्यौं, सूइँ लगाइसकेपछि पनि बिरामीले आराम महशुस नगरेसम्म बिरामीलाई केयर गरिरहनथ्यौं ।’ उनले सुनाइन् ।
दुई वर्षसम्म ननुहाएका बिरामीलाई नुहाइँदिदा ढोगे
अस्पताल आएका बिरामीको लुगा धुनेदेखि नुहाउने सम्म काम गरेको विष्णुलाई अहिलेसम्म पनि याद छ । उनले भनिन्, ‘शय्यामा रहेका हरेक बिरामीलाई नुहाइदिनु पथ्र्यो । गाउँबाट आएका एक बिरामीले दुई वर्षसम्म नुहाएका रहेनछन् । नुहाउनु हुँदैन भनेर उनी जिउभरी मैलो राखेर बसिरहेका थिए ।’
बिष्णुले साथीसँग मिलेर ती बिरामीलाई नुहाइदिएका थिए । उनले सुनाइन् ‘साथी र मैले चार बाल्टिन पानी लगाएर उनलाई नुहाइदिएका थियौं । नुहाइदिएपछि अघिसम्म मैलोले कालो भएको उनी गोरो देखिए । नुहाइदिएपछि ती बिरामीले आफू यति राम्रो छु नभेर नसोचेको बताए । श्रीमतीले समेत यत्तिको हेरचाह गरेको थिएन भन्दै हामीलाई ढोग्न आएका थिए ।’
छुट्टीको बेला समेत बिरामीको अवस्था बुझन् अस्पताल जाने गरेको उनले सुनाइन् । उनले भनिन् ‘ड्युटी अफ् भएको बेला पनि हामी बिरामी भेट्न अस्पताल पुग्थ्यौं, अपरेशनबाट ल्याएको बिरामीलाई कस्तो छ भन्ने चिन्ताका कारण उनीहरूलाई केयर गर्न अस्पताल जान्थ्यौं । बिरामीको माया लाग्थ्यो ।’
हाइक्लास व्यक्तिको व्यवहार फरक
नर्सिङ पेशालाई त्यति बेला उच्च लेबलका मानिसले अछुतलाई झै व्यवहार गर्ने गरेको स्मरण विष्णुलाई छ । बिरामीलाई चिया लिएर जाँदा समेत नर्सले छोयो भनेर फ्याँक्ने गरेको उनले सुनाइन् । ‘सायद बिरामीको फोहर भएको कोपरा बोकेको देखेर होला हामीलाई त्यस्तो व्यवहार गरेको’ उनीले अनुमान लगाइन ‘औषधि दिँदा समेत हाम्रो हातबाट खाँदैनथे, उनीहरुकै सुसारेमार्फत औषधि लिन्थे ।’
उनीहरूले आफन्तको ‘डेथ बडी’लाई समेत छुन हुँदैन भन्थे । ट्रेनिङमा ‘डेथ बडी’लाई कसरी मिलाउने भनेर सिकाइन्थ्यो । एक दिन डेथ बडी मिलाउँदै गर्दा अपवित्र भयो भनेर सुनपानी छर्केको घटना उनले सुनाइन । ‘डेथ बडी’ बाहिर लैजादासम्म पर राख्ने गरेको तितो अनुभव छ उनीसँग ।
बिरामीले कराउँदा माइन्ड गर्दैनथ्यौं
उपचारकै क्रममा बिरामी र कुरुवाहरू आफूसँग झर्किने गरेको उनलाई याद छ । उनी भन्छिन् ‘यस्तो कुरामा माइन्ड गर्ने कुरै हुँदैन । हामी नर्स हौं । पीडाका कारण बिरामीका कुरुवाले गाली गर्ने गरेकोे उनले बताइन् ।
‘विरामी भयो भने यतिकै मानसिकरुपमा तनाव बढ्छ, त्यतिबेला उनीहरु रिसाउनु स्वभाविक हो । हामीले संयमता अपनाउनुपर्छ’ उनले भनिन् ।
उपचारकै क्रममा विरामीको मृत्यु भएको अवस्थामा परिवार विचल्ली पनेगर्छ । त्यो अवस्थामा उनीहरु रिसाउँदा हामीले झर्किनु गर्नुहुन्न् ।
उनले आरके कलेजबाट आइए अध्ययन पूरा गरेकी थिइन् । भारतको अहमदाबादमा बिएस्सी नर्सिङ र दिल्लीमा मास्टर्स इन नर्सिङ पढाई पूरा गरेकी थिइन् ।
उनी सन १९६८ देखि शान्तवनको नर्सिङ स्कूलमा डाइरेक्टरका रुपमा काम गरिन् । त्यही काम गर्ने ल्याबटेक्निसियनसँग उनको बिहे भएको थियो । ५५ बर्षको उमेरमा उनी शान्तवनबाट रिटायर्ड भइन् । ०५९ मा उनले हिमालयन नर्सिङ कलेजमा सञ्चालन गरिन् ।
उनीसँगै पढेका माया, रुककमल, महालक्ष्मी, दिव्य, भद्रु, रिन्ची मध्ये तीनको मृत्यु भइसकेको छ । बाँकी चारमध्ये उनी एक्लै यस पेशामा सक्रिय रहँदै आएकी छिन् ।
शीर मेमोरियलमा प्रिन्सिपल
बनेपास्थित शीर मेमोरियल अस्पतालको नर्सिङ कलेजमा एक बर्षको लागि भनेर उनी प्रिन्सिपल भएर गइन् । तर त्यहाँको वातावरणले उनै उतै भुलिन् । अहिलेसम्म पनि उनी कलेजको प्रिन्सिपलका रुपमा कार्यरत छिन् । अहिले पनि उनी बिएस्सी नर्सिङका विद्यार्थीलाई कक्षा लिन पुग्छिन् ।
रिटायर्ड हुन मन छैन्
उनको उमेर ७६ बर्ष भइसक्यो तर अहिलेसम्म पनि उनी नर्सिङ क्षेत्रमा सक्रिय रुपमा लागिरहेकी छिन् । उनलाई घुँडामा समस्या छ, मुटु इनलार्ज गरेको छ, डाइबेटिज र हाइपर टेन्सनको समस्या छ । उनको जोश घटेको छैन् ।
उनी भन्छिन् ‘मान्छेको शरीर अजम्बरी होइन एकदिन सबैले छाडेर जानुपर्छ तर यो संसारलाई केही न केही दिएर जानु नै मेरो उदेश्य हो । अहिलेसम्म म बुढी भएकी छैन् । मेरो स्मरण हराएको छैन् ।' सम्झनको लागि डायरीमा लेख्न नपरेको उनी बताउँछिन् ।
उनले भनिन् ‘शरीरले साथ दिए सम्म म कामगर्छु, अहिले नै रिटायर्ड हुन मन छैन् ।'
8 Comments
-
She has led exemplary life being intensely focused on her holy profession and knowing how satisfying it is to serve humanity teaching and mentoring hundreds and thousands of nurses in Nepal. May the Lord bless her with showers of blessings even in days to come!
-
I feel lucky n good to be her student. All the best man n always proud of u!!May god always bless u!!
-
Bishnu mam is a my teacher.She has good personality and leadership capacity.She is my role model. I respect ✊ her. Best wishes for her health
-
She is my teacher too wonderful personality n good teacher , thanks maam your student is also campus chief now
-
Thank u soo much mam as being student of u.
-
Maam I feel very much proud to being your student I still remember those classes that you took
-
Bishnu rai is my god mother she is real Florence nightgengl of all neplies nurse she is my principal
-
Proud to hear about you Bishnu didi . I got giid memory from umn where I was working too . May mighty god bless you
हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।