‘हरेक ६ मध्ये एकको मृत्यु क्यान्सरबाट’
विश्वमा हुने मृत्यु मध्येको एउटा प्रमुख कारण क्यान्सर भएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार सन् २०१५ मा भएका मृत्युहरू मध्ये क्यान्सरबाट भएको मृत्यु दोश्रो स्थानमा थियो भने हरेक ६ ओटा मृत्यु मध्ये एउटा मृत्युको कारण क्यान्सर थियो । क्यान्सरबाट हुने मृत्युहरू मध्ये ७० प्रतिशत मध्यम तथा निम्न आय भएका देशहरूमा रहेको तथ्यांक छ । पछिल्लो समय मानिसको जीवनशैली, खानपिन र व्यवहारले गर्दा क्यान्सरको समस्या झनै विकराल बनेर बनिरहेको छ ।
के हो क्यान्सर ?
मानव शरीरमा रहेका कोषहरू सामान्य अवस्था भन्दा अनियन्त्रित रूपमा बढ्दै जाने प्रक्रियाबाट निम्तिने रोग नै क्यान्सर हो । डिएनए भनिने कोषिका सुक्ष्म भागमा असर पर्नु नै क्यान्सरको सुरूवातको कारण हो । हाम्रो शरीरको अधिकांश अंगमा क्यान्सर विकास हुन सक्छ । कतिपय क्यान्सर शरीरको एक भागबाट अर्को भागमा फैलिन पनि सक्छ । फोक्सो, कलेजो, ठूलो आन्द्रा, पेट, स्तन आदि क्यान्सरको जोखिम बढी भएका अंगहरू हुन् ।
क्यान्सरको इतिहास
चिकित्सा शास्त्रका पिता हिप्पोक्रेट्सले (इशापूर्व ४६०) करिब २५ सय वर्षअघि यो रोगलाई ग्रिक भाषाबाट क्यान्सरको नाम दिएका थिए । इजिप्टका मम्मीहरूमा इशापूर्व १५००–१६०० अगाडी नै हड्डी र स्तनका क्यान्सर भएका अवशेष फेला पारिएको छ । त्यो समयदेखि अहिले २१औं शताब्दीमा आइपुग्दा क्यान्सरको जाँच र उपचारमा चिकित्सा जगतले धेरै फड्को मारिसकेको छ । केही पहिलेसम्म ठिक हुन असम्भव भनिएका क्यान्सरहरू अहिले विभिन्न आधुनिक उपचार पद्दतीहरूबाट ठिक हुनसक्ने स्थितिमा आइपुगेका छौं ।
केही तथ्यहरू
क्यान्सरको बारेमा कुराहरू गरिरहदा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको क्यान्सर सम्बन्धी केही तथ्य केलाउन जरूरी हुन्छ ।
- सन् २०१५ मा विश्वमा भएका मृत्युहरू मध्ये करिब १६ प्रतिशत मृत्युको कारण क्यान्सर थियो ।
- क्यान्सरको कारण दैनिक २० हजार मानिसको मृत्यु हुन्छ र यो एड्स, टिबी र मलेरियाको कारण हुने मृत्यु भन्दा धेरै हो ।
- धुम्रपान विभिन्न क्यान्सरको मुख्य कारण हो र २२ प्रतिशत क्यान्सर सम्बन्धित मृत्यु धुम्रपानको कारणले हुन्छ ।
- मानिसलाई एक सय भन्दा बढी क्यान्सर लाग्न सक्छ र यसले शरीरको कुनै पनि भागलाई असर गर्न सक्छ ।
- पुरूषलाई हुने मुख्य क्यान्सरहरू फोक्सो, कलेजो, पेट, ठूलो आन्द्रा र प्रोस्टेटको क्यान्सर हुन् भने महिलालाई हुने क्यान्सरमा स्तन, फोक्सो, ठूलो आन्द्रा, पाठेघरको मुख र पेटको क्यान्सर पर्ने गर्छन ।
क्यान्सरका लक्षण
क्यान्सरले असर गर्ने अंगहरू अनुसार यसको लक्षण भिन्न भिन्न हुन्छ । केही लक्षण भने प्रायः सबै क्यान्सरमा मिल्दोजुल्दो हुन्छ ।
- शरीरमा कुनै गिर्खा, डल्लोहरू पलाउनु वा पुरानो गिर्खाहरूको रंग, आकार परिवर्तन हुनु, दुख्नु र ठूलो हुँदै जानु ।
- अचानक सामान्य भन्दा दिसा र पिसाब गर्ने बानीमा परिवर्तन आउनु
- दिसा, पिसाब गर्दा सँगसँगै रगत बग्नु
- स्तनमा कुनै किसिमको गिर्खा देखा पर्नु र त्यो अस्वाभाविक ढंगले बढ्दै जानु
- आवाजमा परिवर्तन आउनु वा बोल्न, निल्न कठिन हुनु
- लामो समय खोकी लागिरहनु
- सास फेर्न गाह्रो हुनु वा खकारमा रगत देखिनु
- उमेर अनुसार तौल स्वस्थ मानिसको भन्दा घट्नु
- खान मन नलाग्नु, आलाश्य हुनु र थकाई लाग्नु
माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा तुरून्त स्वास्थ्य संस्थामा गएर विस्तृत जाँच गराउनुपर्छ । लक्षणको प्रकृति हेरेर त्यसै अनुरूप रगत, दिसा, पिसाब, खकार आदि जाँच गर्न सकिन्छ । साथै, आवश्यक परे भिडियो एक्स रे, सिटी स्क्यान वा एमआरआइ गरेर क्यान्सर लागेको हो हैन र त्यसको स्थिति पत्ता लाउन सकिन्छ । क्यान्सर लागेको अंगबाट थोरै मासुको भाग निकालेर गरिने जाँचलाई बायोप्सी भनिन्छ । यसले क्यान्सर लागेको हो या होइन भनेर एकिन हुन्छ ।
उपचार विधि
नयाँ नयाँ उपचार पद्धतिको विकाससँगै क्यान्सरको उपचारमा पनि धेरै प्रगति भएको छ । प्रारम्भिक चरणमै पहिचान गर्न सके क्यान्सरको गम्भीरता वा चरण नाप्न प्रयोग हुने ‘फाइभ एयर्स सर्भाइवल रेट’ वा पाँच वर्ष बाच्न सक्ने दर पनि अहिले धेरै क्यान्सरको उच्च रहेको छ । हाल क्यान्सरको उपचारको निम्ति निम्न विधि प्रचलनमा छन् ।
शल्यक्रिया : शल्यक्रिया गरेर क्यान्सरले असर गरेको भाग निकाल्न सकिन्छ ।
केमोथेरापी : विभिन्न औषधिको प्रयोगबाट अनियन्त्रित भइ फैलिरहेको कोषलाई मार्न र फैलिनबाट रोक्न सकिन्छ ।
रेडियोथेरापी : रेडियोधर्मी विकिरणको प्रयोगबाट पनि अनियन्त्रित भइ फैलिरहेका कोषहरूलाई मार्न र अरू भागमा फैलिनबाट रोक्न सकिन्छ ।
विभिन्न अध्ययन र अनुसन्धानबाट इम्युनोथेरापी, हर्मोनल थेरापी, नियोएड्जुभेन्ट थेरापी आदि उपचार पद्दति विकास हुने क्रममा छन् र कतिपय क्यान्सरको उपचारमा प्रयोग पनि भैरहेका छन् ।
क्यान्सरबाट बच्न अपनाउनुपर्ने सावधानी
स्वस्थ जीवनशैली र सन्तुलित खानपान नै क्यान्सरबाट बच्ने महत्वपूर्ण आधार हो । कतिपय क्यान्सर पारिवारिक हुने र बुबा आमामा छ भने छोराछोरीमा पनि देखिने सम्भावना हुन्छ । त्यसको लागि नियमित स्वास्थ्य जाँच र कुनै संकास्पद लक्षण देखिए परीक्षण गरिहाल्नुपर्छ ।
- धुम्रपान नगर्ने
- रक्सी सेवन नगर्ने
- सन्तुलित भोजन गर्ने
- नियमित शारीरिक व्यायाम गर्ने
- तौल नियन्त्रणमा राख्ने
- व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने