पेट–सिटी स्क्यानको व्यवस्थापन चुनौती



Download our app to get more features

डेढबर्ष अघि सूर्या डाइग्नोष्टिक सेन्टरले पहिलो पटक नेपालमा पेट–सिटी स्क्यान मेशिन भित्र्याएको थियो ।

यसअघि क्यान्सरका बिरामीहरू स्वास्थ्य परीक्षणको लागि भारतका विभिन्न अस्पतालमा धाउने गर्थे । पेट–सिटी मेशिनको विकास सन् २००२ मा भएको थियो । विशेषतःक्यान्सरका बिरामीमा क्यान्सर कति फैलिएको छ, कुन अवस्थामा छ र उपचारपछि कति निको भयो भन्ने पत्ता लगाउन पेट–सिटी स्क्यान प्रयोग गरिन्छ । 

पेट–सिटी स्क्यान मेशिन सूर्या डाइग्नोष्टिक सेन्टरले १२ करोड लागतमा भारतबाट नेपालमा भित्र्याएको थियो । नेपालमा यसको स्थापनाको लागि स्वास्थ्य मन्त्रालयमा निकै धाउनु परेको बताउँछिन सूर्या डाइग्नोष्टिक सेन्टरकी व्यवस्थाप कडा.कृताञ्जली कोइराला । यस मेशिनमार्फत एनाटोमी र फिजीयोलोजी दुबैको एकैपटक जानकारी लिन सकिन्छ । 

पेट–सिटी स्क्यान मेशिन व्यवस्थापनका चुनौती


यो हाइब्रिड इमेजिङ प्रविधिहो । यसलाई चौबीसै घण्टा विद्युत आवश्यकपर्छ । लोडसेडिङ भएको बेला पनि ठूलो जेनेरेटर मार्फत विद्युत प्रवाह गरिराख्नुपर्छ । 
मेशिन किनेको दुईबर्षसम्म वारेन्टी रहन्छ । तेस्रो बर्षपछि केही गरी मेशिनमा खराबी आए बनाउन निकै महँगो पर्ने डा. कृताञ्जली बताउँछिन् । मेशिन बनाउन भारतबाटै टेक्निकल टीमलाई बोलाउनु पर्छ भने मेशिनको पार्टपुर्जा फेर्नुपरेमा करोडसम्मको खर्च जाने उनले बताइन् । 

भारतबाट एफडिजी ल्याउन समस्या
पेट–स्क्यानगर्न पोजिट्रोन नामका विकिरण निकाल्ने एफडिजी औषधि आवश्यक पर्छ । यो एक न्यूक्लियर मेडिसिन भएका कारण एक ठाउँबाट अर्को ठाउँमा ल्याउन निकै जटिल हुन्छ । डा. कृतान्जलीका अनुसार हवाइ मार्गबाट ल्याउँदा विशेष किसिमको महँगो बाकस आवश्यक पर्ने र भन्सारदेखि प्रशासनिक झन्झट व्यहोर्नुपर्ने हुन्छ । 

यो औषधि उत्पादन भएको दुई घण्टामा आधा मात्रै बाँकी रहन्छ भने १२ घण्टा भित्रमा लगभग औषधि नै सकिन्छ । त्यसैले भारतबाट एफडिजी नेपालमा ल्याउनु आफैमा चुनौतीपूर्ण कामहो । एफडिजी उत्पादन गर्ने मेशिनलाई साइक्लोट्रोन भनिन्छ । यसको सञ्चालनको लागि विशिष्ट ज्ञान भएको जनशक्ति चाहिन्छ । यसको लागत करिब ६० करोड पर्छ । नेपालमा यो मेशिनन भएका कारण पेट–सिटी स्क्यान सञ्चालन गर्दै आएको सूर्या डाइग्नोष्टिक सेन्टरले पनि भारतबाटै एफडिजी ल्याएको छ ।

नेपालमा अन्य अस्पतालमा पनि यस प्रकारको मेशिन स्थापना नभएकै कारण क्यान्सर उपचारको लागि दिल्ली धाउनुपर्ने बाध्यता छ । यसरी ल्याइएको एफडिजी क्यान्सरका बिरामीको नशामार्फत शरीरमा प्रवेश गर्छ र बिरामीको शरीरमा गाम्मा विकिरणको प्रवाह हुन थाल्छ । मेडिसिन लगाएको एक घण्टाभित्र बिरामीलाई पेट–सिटी स्क्यान मेशिनमा राखिन्छ । परीक्षणका बेला बिरामीलाई राखे छुट्टै कोठा हुनुपर्छ । किनकी उसँग रहेको विकिरण बाहिर फैलिन नपाओस् । 

भारतमा पेट–सिटी स्क्यान गर्न २० देखि २५ हजारसम्म पर्छ । नेपालमा भने ६० हजार लाग्ने गर्छ । पेट–सिटी स्क्यान गर्न चाहिने एफडिजी भारतबाट हवाइमार्ग मार्फत निर्यात गर्नुपर्ने, औषधि ल्याउन छुट्टै सुरक्षित बाकस र निश्चित समयभित्र ल्याउनुपर्ने भएकाले नेपालमा यसको शुल्क बढी परेको सुर्या डाइग्नोष्टिक सेन्टरका डा. कृताञ्जली बताउँछिन् । उनले भनिन् ‘सेन्टरमा हामीले पेट–सिटी स्क्यान,एमआरआई, सिटी स्क्यानको समेत व्यवस्था गरेका कारण मात्रै निरन्तर सञ्चालनमा ल्याउन सकेका छौं ।’ उनले पेट–सिटी स्क्यान मेशिन ल्याउँदाको लागत र भारतबाट एफडिजी ल्याउनुपर्ने जोखिमका कारण शुल्कमा फरक भएको बताइन । 

पेट–सिटी स्क्यान स्थापना गर्नु मुनाफाका लागि भन्दा सेवाको लागि भएको उनको भनाइ छ । यो सेवा शुरू गरेसँगै नेपालका क्यान्सर रोग विशेषज्ञहरूले बिरामीको परीक्षणको लागि सेन्टरमा रिफर गर्ने गरेको उनले बताइन । जसले गर्दा पेट–सिटी स्क्यानको लागि भारत धाउनुपर्ने बाध्यता हटेको छ । यस सेन्टर मार्फत महिनामा २० देखि ४० जनासम्मको पेट–सिटी स्क्यान गर्ने उनले बताइन् । 

( हाम्रो डक्टर म्यागजिनका लागि सूर्या डाइग्नोष्टिक सेन्टरका सञ्चालक डा. कृताञ्जली कोइरालासँग गरिएको कुराकानीमा अधारित )  

Last modified on 2018-01-31 16:22:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts