सोलुखुम्बु, कालिकोट, जाजरकोट र बाजुरामा सिजनल ईन्फ्लुएन्जाको प्रकोप
कालिकोटका शैक्षिक संस्था एक हप्ता बन्द
काठमाडौं, ८ माघ । पछिल्लो समय सोलुखुम्बु, कालिकोट, जाजरकोट र बाजुरामा सिजनल ईन्फलुएन्जा (मौसमी रुघाखोकी) को प्रकोप देखिएको छ ।
विगत एक महिना यता देखिएको मौसमी रुघाखोकीको प्रकोप अझैे नियन्त्रण बाहिर छ ।
ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार सिजनल ईन्फलुएन्जाका कारण एक महिना यता ७ जनाको मृत्यु भईसकेको छ । सिजनल ईन्फलुएन्जाको संक्रमण बढेपछि सरकारले स्वास्थ्य सेवामा उच्च सतर्कता अपनाएको छ । महाशाखाका निर्देशक डा. भिम आचार्यका अनुसार प्रकोपबाट आउन सक्ने समस्यालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाएको हो ।
सोलुखुम्बुबाट बिरामीहरुको नमुना हामीले मगाएका छौं निर्देशक आचार्यले भने, ‘सिजनल ईन्फलुएन्जा भएको हुनसक्ने आशंकामा आवश्यक औषधि र चिकित्सकको टोलि सम्बन्धीत क्षेत्रमा पुगिसकेको छ ।’
उनले सोलुखुम्बु र जाजरकोटमा देखिएको प्रकोप केही कम भएपनि पुर्ण नियन्त्रणमा भने नआएको बताए । खवर पाउना साथ चिकित्सक र औषधि सहितको टोलि प्रभावीत क्षेत्रमा पठाएका थियौं । अहिले धेरै कम भएको छ उनले भने ।
७ जनाको मृत्यु, २५ सय बढी बिरामी
महाशाखाका अनुसार सिजनल ईन्फलुएन्जा बाट एक महिनाको बिचमा ७ जनाको मृत्यु भएको छ भने, २५ सय बढी मानिस बिरामी परेका छन् । बिरामी पर्नेहरु सबैमा सिजनल ईन्फलुएन्जा नरहेको निर्देशक आचार्यले स्पष्ट पारे । यो समय मौसमी रुघाखोकीको समय भएपनि बिरामी र मृत्यु भएकाहरु सबैमा सिजनल ईन्फलुएन्जा नदेखिएको उनको भनाई छ । कालिकोटमा २ सयको संख्यामा भाईरल ज्वरोका बिरामीहरु देखा परेका छन् । कालिकोटमा ४ जनाको मृत्यु भएको छ भने, सोलुखुम्बुमा १ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अन्तर्गत पेलवाङमा भाइरल ज्वरोका ५ सय ४ जना बिरामीले उपचार गराईरहेका छन् ।
महाशाखाका अनुसार जाजरकोटमा २ जनाको सिजनल ईन्फलुएन्जाका कारण मृत्यु भएको पाइएको छ । जिल्लाको जुनी चाँदे गाउँपालिकामा फैलिएको भाईरल ज्वरोको प्रकोपले १८ सय ४५ जनाले स्वास्थ्य उपचार गराएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालाका निर्देशक डा. राजकुमार महतोका अनुसार बाजुरामा ५ जनामा सिजनल ईन्फलुएन्जा एच थ्री देखिएको छ । १२ जनाको नमुना परिक्षण गरिएकोमा ५ जनामा सिजनल ईन्फलुएन्जा देखिएको उनले बताए ।
एक हप्ता शैक्षिक संस्था बन्द गर्न माग
कालिकोटमा भाईर ज्वरोको प्रकोप बढेपछि सरकारले जिल्लाका शैक्षिक सस्था एक हप्ताका लागि वन्द गर्न आग्रह गर्ने भएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले कालिकोटका शैक्षिक सस्था एक हप्ताका लागि बन्द गर्न जिल्ला शिक्षा कार्यलयलाई अनुरोध गर्ने भएको छ । हामीले स्वाथ्यमा देखिने संवेदन शिलतालाई ध्यानमा राखेर एक हप्ता विद्यालय बन्द गर्न आग्रह गर्नेछौं । त्यसलाई मान्ने नमान्ने जिल्ला शिक्षा कार्यलयमा भर पर्छ, महाशाखाका निर्देशक डा. आचार्यले भने ।
बालबालिका र बृद्ध बृद्धा समस्यामा
सिजनल ईन्फलुएन्जा (मौसमी रुघाखोकी) को प्रकोपबाट बालबालिका र बृद्ध बृद्धा बढी समस्यामा परेका छन् । चिसो मौसम भएका कारण यो समय ५ बर्ष मुनिका बालबालिका र ६० बर्ष माथिका बृद्ध बृद्धा समस्यामा परेको सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए । उनका अनुसार स्वासप्रश्वास र दमका बिरामीहरुलाई सिजनल ईन्फलुएन्जाले बढी सताउने गरेको छ ।
(आजको नयाँ पत्रिका दैनिकबाट)