गाउँभरी भाईरल ज्वरोका बिरामी
औषधि र स्वास्थ्यकर्मीको अभाव
काठमाडौं, ७ माघ । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा महामारीको रूप लिएको छ ।
सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ वडामा मात्रै ८ सय १४ बिरामी भेटिएका छन । कालिकोटको खाडाचक्रमा भाईरल ज्वरोले थलिएका महिला र बालबालिका ।
जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले वडा २ मा २ सय ७० र वडा ४ मा ५ सय ४४ भाइरल ज्वरोका बिरामी भेटिएको जानकारी दिए । उनले दुवै वडामा भाइरलले महामारीको रूप लिएको जनाउँदै बिरामी पर्नेमा अधिकांश बालबालिका रहेको बताए ।
‘गाउँमा अवस्था जटिल छ,’ डा. अलीले भने, ‘केन्द्रबाट थप औषधि र स्वास्थ्यकर्मी माग गर्नुपर्ने स्थिति आएको छ ।’ भाइरलबाट ५ सय ११ बालबालिका र ६० वर्षभन्दा बढी उमेरका २३ बिरामी छन । उनले दुई बालबालिकाको भाइरलबाट मृत्यु भइसकेको पुष्टि गरे ।
बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ ।वडा ४ का अध्यक्ष धनसिंह कामीले गाउँभरि सिकिस्त बिरामीहरू रहेको बताए । उनको घरमा मात्रै चार जना बिरामी छन् ।
‘बच्चादेखि वृद्धसम्म सबै बिरामी छन,’ उनले भने, ‘औषधिको कमीले सबैको उपचार हुन सकेको छैन ।’
खाडाचक्र नगरपालिकाका दुई वडामा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएपछि स्वास्थ्यकर्मी खटाइएको जिल्ला प्रशासनले जनाएको छ । शनिबार वडा २ मेग्रमा डा. नहकुल शाहीको नेतृत्वमा ८ जना र वडा ४ ताडी दलित टोलमा जिल्ला स्वास्थ्य प्रमुख डा. अलीको नेतृत्वमा ८ स्वास्थ्यकर्मीले बिरामी पहिचान गरेको निमित्त प्रजिअ राजकुमार दुलालले बताए ।
उनका अनुसार भाइरलको महामारी भएकाले थप स्वास्थ्यकर्मी र औषधि माग गर्ने निर्णय भएको छ ।
(कान्त्तिपुर दैनिकबाट)