त्रिविका मेडिकल कलेज पत्याएनन् विद्यार्थीले
काठमाडौं, ३० पुष । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरू सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुइटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले त्रिवि सम्बन्धनप्राप्त ८ वटा मेडिकल कलेजमा भर्ना लिन बिहीबार र शुक्रबार आईओएमको प्रवेश परीक्षा पास भएका ३ हजार ३ सयमध्ये १ हजार ६ सय विद्यार्थीलाई ‘ओपन हाउस काउन्सिलिङ’ मा बोलाएको थियो । काउन्सिलिङमा सहभागी अधिकांश विद्यार्थीले काठमाडौंको महाराजगन्ज मेडिकल कलेज र नेपाली सेनाको स्वयम्भूस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन रुचाए । यी दुवै कलेजमा पूरा सिट भरिए पनि अन्य ६ वटा कलेजमा अझै सिट खाली छन ।
काउन्सिलिङका क्रममा वीरगन्जको नेसनल मेडिकल कलेजमा भर्ना हुन एक जनाले पनि रुचि देखाएनन् भने जनकपुरको जानकी मेडिकल कलेजमा दुई जनाले मात्र भर्ना हुने चाहना राखे । अन्य ४ वटा कलेजका पनि थुप्रै सिट खाली रहे । ओपन हाउस काउन्सिलिङका क्रममा छानिएका विद्यार्थीले रोजेका कलेजमा एक साताभित्र अनलाइनबाट भर्ना हुनुपर्छ । आईओएमले यस वर्ष नेसनललाई ८१ र जानकीलाई ७२ सिट भर्ना कोटा दिएको छ ।
यस्तै, भैरहवाको युनिभर्सल मेडिकल कलेजलाई ९०, ललितपुर ग्वार्काेको किस्ट मेडिकल कलेज, चितवन भरतपुरको चितवन मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजलाई ८१÷८१ सिट पूर्ण शुल्कको कोटा दिएको छ । नेपाली सेनाको कलेजले ९० सिट पाएको छ । विद्यार्थीको पहिलो रोजाइ महाराजगन्ज कलेज, दोस्रो सेना, तेस्रो पोखराको गण्डकी, चौथो किस्ट र पाँचौं युनिभर्सल परे ।
(आजको कान्त्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>