हुम्लामा किन पुगेन औषधि ?
हुम्ला, ३० वैशाख । आर्थिक वर्ष सकिन दुई महिना बाँकी भए पनि स्वास्थ्य सेवा विभाग र क्षेत्रीय निर्देशनालयबाट आपूर्ति हुनुपर्ने औषधि अझै जिल्लामा पुगेको छैन ।
जिल्ला स्वास्थय कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले एक करोड पाँच लाखको औषधिमध्ये ७० प्रतिशत केन्द्र, १० प्रतिशत क्षेत्रले र २० प्रतिशत जिल्लाबाट खरिद गर्ने व्यवस्था रहेको बताए ।
जिल्लाबाट खरिद गर्नुपर्ने रकमबाट २६ लाखको औषधि खरिद गरी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको छ । रुघाखोकीको महामारी रोक्नका लागि मात्र पटक–पटक गरी २२ लाखको औषधि आएको कार्यालयले जनाएको छ ।
सरकारले ४२ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था छ । रुघाखोकी नियन्त्रणमै केन्द्रीत भएकाले अन्य प्रकारको औषधि आउन नसकेको श्रेष्ठले जनाए । औषधि नआउँदा स्वास्थ्य चौकीहरुलाई बिरामीको उपचारमा समस्या भएको छ भने स्थानीयवासी धामीझाँक्रीको भर पर्न बाध्य छन् ।
कान्तिपुर दैनिकबाट
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।