नर्सिङको सम्बन्धन स्थगित
काठमाण्डौं, ३० वैशाख । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी)ले स्वास्थ्य शिक्षा नीति नबनाएसम्म नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति नदिने भएको छ ।
गत बिहीबार शिक्षामन्त्री गिराराजमणि पोखरेलको अध्यक्षतामा बसेको सीटीईभीटीको बैठकले तीन वर्षे प्रमाणपत्र तह नर्सिङ कार्यक्रम रोकेर अन्य कार्यक्रम सञ्चालनको अनुमति दिने निर्णय गरेको हो ।
सीटीईभीटीका निर्देशक शिवशंकर घिमिरेका अनुसार सामान्य चिकित्सकको ६ वटा संस्था, ल्याबको ७, फार्मेसीको ५, अप्थाल्मिक ३, सिभिल इन्जिनियरिङको एक, फरेस्टीको एक, सोसियल वर्कर एक र डेन्टल साइन्सको एउटा संस्थालाई सम्बन्धन दिएको छ ।
सीटीईभीटीका अध्यक्ष समेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितका केही पदाधिकारीले चार वटा नर्सिङ कलेजलाई समेत सम्बन्धन दिने प्रक्रिया अघि बढाएका थिए । शिक्षा सचिव विश्वप्रकाश पण्डितले नर्सिङ कलेजलाई सम्बन्धन दिँदा मन्त्री परिषदको निर्णयविरुद्ध हुने अडान लिएपछि रोकिएको परिषदका एक सदस्यले बताए । ‘नर्सिङलाई सम्बन्धन दिन एउटा संस्थाबाट १० लाख रुपैयाँ लिएको हल्ला चलेको र सम्बन्धन दिँदा क्याबिनेटको निर्णयविरुद्ध हुने सचिवज्यूले अडान लिएपछि रोकिएको हो,’ स्रोतले भन्यो । शिक्षा सचिव परिषदको बोर्ड सदस्य हुने व्यवस्था छ ।
नियम विपरित सम्बन्धन दिन लागेपछि सचिव पण्डित बैठकमै अनुपस्थित हुने अडान राखेको स्रोतले जनाएको छ । मन्त्रिपरिषदको सामाजिक समितिले गत भदौ १५ गते शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट नीति तर्जुमा भएपछि मात्रै नर्सिङको स्वीकृत दिनुपर्ने निर्णय गरेको थियो ।
–कान्तिपुर दैनिकबाट
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।