स्वास्थ्यका दश हजार कर्मचारी सरुवाको तयारीमा
काठमाण्डौं १८ पुष ।स्वास्थ्य मन्त्रालय अन्तर्गतका कम्तिमा दश हजार कर्मचारी सरुवाको तयारीमा रहेका छन् ।
निर्वाचन आधार संहिताले नियमित हुने सरुवा रोकिए पछि स्वास्थ्य मन्त्रालयलाई ठुलो संख्यामा सरुवा गर्न सकस परेको छ ।
स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीको सरुवा रोकिएकोले समस्या भएको बताए ।
हिजो निर्वाचन आचार संहिताले दिएन अहिले सामान्यले मानिरहेको छैन । हामी ठुलो समस्यामा पर्यौ खनालले भने । अहिले नियमित सरुवाको समय नभएपनि सरुवाका लागि बाध्यता परेको उनले स्पष्ट पारे । स्वास्थ्यका कर्मचारीको सरुवा चार चरणमा हुने गरेको छ । असोजमा मन्त्रालय, कात्र्तिकमा विभाग, मंसिरमा क्षेत्र र पुसमा जिल्लाले कर्मचारीको सरुवा गर्ने प्रचलन रहेको छ ।
स्थानीय तहमा राम्रो काम गर्दा सरुवा रोकियो
स्थानीय तहमा स्वास्थ्यका कर्मचारीले राम्रो काम गरेकाले सामान्य प्रशासन मन्त्रालयले सरुवाको अनुमति दिइरहेको छैन उपसचिव खनालले भने । उनले बिभिन्न तहका दश हजारको हाराहारीमा सरुवाको फायल आएको भन्दै स्थानीय बिकास मन्त्रालयसंग छलफल गरेर अगाडी बढ्ने बताए । ७ औं तह भन्दा माथिका कर्मचारीको सरुवा मन्त्रालय आफैले गर्ने गरेको छ । छैटौं र सातौं तहका कर्मचारी सरुवा विभागले गर्ने छ भने, ५ तह सम्मका कर्मचारीको सरुवा क्षेत्र र जिल्लाले गर्ने प्रावधान रहेको छ ।
यी हुन स्थानीयमा नजाने स्वास्थ्यकर्मी
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक स्वास्थ्यकर्मीलाई स्थानीय तहमा नपठाउने निर्णय गरेको छ । बिरामीको उपचारमा आवश्यक पर्ने भन्दै मन्त्रालयले डाक्टर, अस्पताल नर्स, ल्याब टेक्निसीन, रेडियोग्राफिलाई स्थानीय तहमा नपठाउने भएको खनालले बताए । केही चिकित्सकले स्थानीय तहमा जाने इच्छा देखाएपनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर रोकिएको छ ।
(आजको नयाँपत्रिका दैनिकबाट)