डा.ओममुर्ति अनिलको सुझाव : यसरी मनाऔं नयाँ वर्ष

What's This?


Download our app to get more features

आजबाट अंग्रजी नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । यस अवसरमा सबैले एक अर्कामा खुशि, शुभकामना आदान प्रदान गरिरहेका छन् । त्यतिमात्र होइन नयाँ बर्षमा सबैले एकअर्काको समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गर्छन् । कोही नयाँबर्षमा रमाइलो गर्ने भन्दै चुरोट, मासु र रक्शीको सेवन गर्छन् । जसले सुस्वास्थ्य होइन खराब स्वास्थ्य बनाउँछ । 
नयाँ बर्षलाई रमाइलोको लागि भन्दा पनि नराम्रो बानीलाई त्याग्ने नयाँ काम शुरु गर्ने उदेश्यका साथ मनाउनु राम्रो हुन्छ । 

यदि कसैको चुरोट, मासु र रक्शी सेवन गर्ने बानी छ भने नयाँबर्षको अवसरमा यसलाई छोड्ने प्रतिबद्धता गर्नु नै उचित हुन्छ । खाने बानी छोड्न नसक्ने भन्दै कोही यसलाई आफ्नो बाध्यता ठान्छन्, जुन बिलकुल गलत हो । खानको लागि अनेक बहाना गर्नु भनेको उसले आफ्नो स्वास्थ्यलाई नै ढाँटिरहेको हुन्छ ।  

सामान्यतः विरामी नभइकन स्वास्थ्यलाई ध्यान दिने हाम्रो बानी छैन् । स्वास्थ्य बिग्रेर जटिल अवस्थामा पुगेपछि मात्रै पश्चाताप गर्नु बेकार हो । आर्थिक र पेशागत ब्यस्तता देखाउँदै प्रायः स्वास्थ्यलाई प्राथमिकता राख्न नसकेको बताउँछन् । आफ्नो स्वास्थ्यको सबैभन्दा जिम्मेवार व्यक्ति स्वयम हो । 

कोही पोषणयुक्त खानाको लागि पैसा नभएको बहाना गर्छन् त कोही व्यापार वा रोजगारीका कारण नियमित व्यायाम गर्ने समय नभएको बताउँछन् ।

नयाँबर्ष सन् २०१९ को अवसरमा मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भन्दै निम्न सुझाव दिन्छन् ।  

नियमित ब्यायाम

अल्छि जीवनशैलीका कारण अहिले नसर्ने रोगको बिगबिगी छ ।  २० देखि ६० बर्ष उमेर समुहका व्यक्तिलाई नसर्ने रोग लाग्ने गरेको तथ्यांक छ । २४ घण्टामा एकघण्टा समय पनि आफ्नो स्वास्थ्यको लागि छुट्याउन सक्नुपर्छ । दैनिक आधाघण्टादेखि एकघण्टा नियमित व्यायाम गर्दा शरीर तन्दुरुस्त र स्वस्थ रहन्छ । 

खानपिनमा ध्यान दिने 
नयाँबर्ष मनाउन वा कुनै चाडबाडका अवसरमा प्रायःको बाहिर रेष्टुरेन्ट गएर खाने बानी हुन्छ । रेष्टुरेन्टले सकेसम्म सस्तो दरमा खानेकुरा बनाउने गर्छन् । जुन स्वास्थ्यको लागि हानीकारक हुन्छ । 
रेष्टुरेन्टमा बढी तारेको वा डढेको खानेकुरा, जंकफुड र फास्टफुडले स्वास्थ्यमा हानी गर्छ । 
सकेसम्म रेसायुक्त तरकारी खाने बानी गर्नुपर्छ । 

चुरोट, रक्सी नखाने
अत्याधिक  चुरोट र रक्शी पिउने मानिसमा हृदयघातको खतरा बढी हुन्छ । त्यसैले समयमै यसबाट जोगिन सकेन भने हृदयघात र क्यान्सरको जोखिम उच्च हुने गर्छ । 

मोटोपना नियन्त्रण गर्ने 
मानिसले खानपिनमा ध्यान नदिँदा यसले अत्याधिकरुपमा मोटोपनाको समस्या हुन्छ । मोटो मानिसलाई अरु रोगले छिट्टै च्याप्ने सम्भावना बढी हुन्छ । साथै उसलाई उच्च रक्तचापको खतरा पनि उतिकै हुन्छ । त्यसैले पोषणयुक्त र शाकाहारी खानेकुरा खाने बानी गर्नुपर्छ । 

तनाव नलिने
हरेक कुरामा असन्तुष्ट बढ्दै जानु र बढी तनाव लिने बानीका कारण स्वास्थ्यमा गम्भीर असर पर्छ । सकारात्मक कुराभन्दा बढी नकारात्मक कुरा सोचिरहने र ससानो कुरामा अनावश्यक चिन्ता लिने बानीले शरीरमा विभिन्न समस्या आउँछ ।  

अरुको यस्तो प्रगति भइसक्यो आफ्नो भने केही छैन् भन्दै आफूलाई कमजोर सोच्ने बानीले जीवनमा तनाव बढाउँछ । बढी तनावका कारण अनिद्राको समस्या हुँदा शरीरलाई हानी गर्छ ।
मनलाई शान्त बनाउन समय समयमा ध्यानभावनाको पनि ठूलो महत्व हुन्छ । हाँस्ने बानीले पनि शरीर स्वस्थ राख्न मद्दत गर्छ ।  

नियमित स्वास्थ्य परीक्षण
बेलाबेलामा स्वास्थ्य परीक्षण गरिरहनुपर्छ । प्रायः ६ महिनामा एकचोटी स्वास्थ्य जाँच गराउने र ३ महिनामा एकचोटी ब्लड प्रेसर जाँच गर्नुपर्छ ।  

Last modified on 2019-01-01 14:53:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts