नेपालमा मेडिकल पत्रकारिता र चुनौती



Download our app to get more features

मानिसको स्वास्थ्य उपचारसँग सम्बन्धित सम्पूर्ण विषयवस्तुसँग नजिक रहेर समाचार तयार गर्ने पत्रकारितालाई मेडिकल पत्रकारिता भन्दा फरक पर्दैन ।

यसमा स्वास्थ्यसँग सम्बन्धित चिकित्सक, नर्स, ल्याब टेक्निसियन असिस्टेन्ट, अहेबहरू, अस्पताल, अस्पतालमा काम गर्ने कर्मचारीहरू, फर्मासिस्ट, स्वास्थ्य मन्त्रालयको नीति निर्माणको तहदेखि स्वास्थ्य इकाइहरू, सर्जिकल तथा मेडिसिन कम्पनीहरू, इकुपमेण्ट तथा सम्पूर्ण स्वास्थ्यसँग गाँसिएका विषयवस्तुमा रहेर गरिने पत्रकारिता मेडिकल पत्रकारिता हो ।

राजनीतिक हिसाबले जति संक्रमित छ हाम्रो देश त्यो भन्दा बढी संक्रमित हाम्रो चिकित्सा पेशा र स्वास्थ्य क्षेत्र छन् । दिनहुँ हड्ताल, तालाबन्दी र नाराजुलुश चिकित्सा क्षेत्रको पर्यायवाची बनेको छ ।

६–६ महिनामा फेरिने सरकार र सरकारलाई जसरी पनि घुँडा टेकाउन तम्सिएका मेडिकल माफियाको चंगुलमा सम्पूर्ण चिकित्सा क्षेत्र परेको छ ।

एकातिर सरकार आफैले छात्रवृत्ति दिएर पढाएका डाक्टरलाई सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूमा परिचालन गर्न सकिरहेको छैन् भने अर्कातिर निजीमा महंगो शुल्क तिरेर पढेका डाक्टरहरूलाई जबरजस्ती आफ्नो नियम र कानुनमा बाँधेर छात्रवृत्तिमा पढेका डाक्टरहरूले दिनुपर्ने योगदान उनीहरूबाट खोजिरहेको छ । चिकित्सा पेशा आफैंमा संवेदनशिल पेशा भएपनि निजीमा लाखौंं खर्च गरेर डाक्टर पढेकाहरूलाई यो गर वा त्यो गर भनेर बाध्य बनाउने अधिकार सरकारलाई छैन् ।

उसले त्यो हैसियत राख्न लाखौं खर्च गरेर पढेकाहरूलाई  दिनुपर्ने सेवा सुविधाहरूको निक्र्योल र त्यसको ग्यारेन्टी गर्नुपर्छ ।

 अब पालो मेडिकल पत्रकारिताको । संसारमा मेडिकल पत्रकारिता कहाँबाट र कहिलेदेखि सुरु भयो भन्ने वास्तविक तथ्यांक देखिँदैन । तर के भन्न सकिन्छ भने, जव बिट पत्रकारिताको आवश्यकता महशुस भयो ।

त्यही शिलशिलामा मेडिकल विटको पनि सोच आयो । हाम्रो देशमा बिट पत्रकारिता सुरु भएको धेरै भएको छैन । हाम्रो पत्रकारिता ट्रेन भनेको सोलोडोलो खालको हो । साप्ताहिक पत्रकारिताबाट हाम्रो पत्रकारिता अगाडि बढेको हो । अझै भनौं, नेपालको पत्रकारिताको सुरुआत मिसन पत्रकारिताबाट भएको हो । यो राजनीतिक परिवर्तनसँग सम्बन्धित छ । हामीले गर्ने पत्रकारिता भनेको मल्टीपर्पोज टाइप कै हो । एउटा पत्रकार उसले जुन विषयबस्तु पाउँछ त्यसलाई समाचार बनाउँछ । नेपालमा जब व्यवसायिक पत्रकारिताको सुरुवात भयो त्यसपछि बिट पत्रकारिताको आवश्यकता महशुस गरियो । विभिन्न दैनिक पत्रपत्रिकाहरू प्रकाशन हुन थाले । रेडियो, टेलिभिजन सञ्चालनमा आए । त्यसपछि मात्र विधागत (बिट) पत्रकारिताको सुरुआत भयो । नेपालमा मेडिकल पत्रकारिता, पत्रकारिता क्षेत्रको कान्छो बिधा हो भन्दा अन्याय नहोला । 

हाम्रो मुलुकमा बिट हेर्ने पत्रकारले आफ्नो क्षमताले जे जति जानिन्छ  कनिकुथी आफ्नो दिमागले जति भ्याउँछ त्यही अनुरुप हेर्ने हो । आजसम्म न सम्बन्धित मिडिया न सरकार कसैले पनि बिट अनुसारको दक्ष पत्रकार उत्पादनको लागि कुनै पनि खालको योजना तर्जुमा गरेको पाइदैन ।  

बिट पत्रकारिता मध्ये आजभोलि स्वास्थ्य सम्बन्धी समाचारहरू र पत्रकारहरूप्रति धेरै गुनासो आउन थालेको छ । कारण, पत्रकारले विषय वस्तु नै नबुझी समाचार बनाए भन्ने । मेरो हिसाबमा चिकित्सा क्षेत्रमा डक्टरहरू पेशाप्रति जति संवेदनशिल हुनुपर्छ त्यो भन्दा दुई गुणा बढी संवेदनशिल स्वास्थ्य पत्रकारिता गर्नेहरू हुनुपर्छ । एउटा पत्रकारको एउटा सानो गल्तीले डाक्टरको भविष्य क्षणभरमै समाप्त हुन सक्छ भने एउटा अस्पताललाई करोडौँ नोक्सान हुन सक्छ ।

त्यही भएर स्वास्थ्य बिट हेर्ने पत्रकार अत्यन्तै चनाखो र  विषयवस्तुप्रति अध्ययनशिल हुनुपर्छ । गुनासो के आउँछ भने कतिपय पत्रकारलाई त चिकित्सा सम्बन्धी सामान्य ज्ञान पनि हुँदैन् । स्वास्थ्य क्षेत्रमा प्रयोग हुने कतिपय शब्दहरू पत्रकारका लागि जटिल लाग्न सक्छ । कुन डाक्टरको कुन विशेषज्ञताले कुन रोगको उपचार हुन्छ भन्ने सामान्य कुरामा पनि स्वास्थ पत्रकारहरु दुबिधामा रहेको पाइन्छ । सर्जन र फिजीसियनको भिन्नता पनि स्वास्थ्य पत्रकारिता गर्दै आएकाले छुट्याउन नसकेको अवस्था छ । 

हुनत सम्पूर्ण एनोटोमी पत्रकारले पढ्न सक्दैनन् र बुझ्न पनि गाह्रो होला । तर सामान्य कुराहरू एनेस्थेसिया, सर्जन, फिजीसियन, न्यूरो सर्जरी, कार्डियाक सर्जरी, डक्टर, अस्पताल, मेडिसिन, सर्जिकल इक्यूपमेण्ट, ल्याब, विभिन्न वार्ड, आइसीयू, भेन्टिलेटर इत्यादीको बारेमा जानकार हुनै पर्छ । 

स्वास्थ्य सम्बन्धी नीतिहरू थाहा पाउनु पर्यो । डाक्टरहरूको विशेषज्ञताको वर्गिकरण त गर्न सक्ने हुनै पर्यो  । हाम्रो देशमा बिरामी तलमाथि भए सम्पूर्ण दोष डाक्टरलाई लगाइन्छ । तर त्यसमा मेडिसिनको दोष केही पनि दिइदैन र अस्पतालबाट हुने संक्रमणको ख्याल पनि गरेको देखिदैन् । सामान्यतया सबै सर्जरीहरू मेजर नै हुन्छन् तर, तुलनात्मक हिसाबमा कुनै कुनै सर्जरी संवेदनशील हुन्छन् भने, कुनै अति संवेदनशिल हुन्छन् । त्यो थाहा पाउनुपर्यो ।

जस्तो हड्डीको सर्जरी र  ब्रेनको एनोरिजमको सर्जरी पक्कै समान हुँदैनन् । सर्जरीको बारेमा कुरा गर्दा सबै सर्जरीका बारेमा पत्रकारहरूलाई थाहा नहुनसक्छ र यो सबै कुरा पत्रकारलाई थाहा हुने विषय पनि होइन् । न्यूरो सर्जनले कार्डियाक सर्जरीको बारेमा थाहा पाउन सक्दैन भने पत्रकारले कसरी थाहा पाउने ? विभिन्न सर्जरी तथा उपचारको बारेमा हामीलाई डाक्टरले जे भन्छन् त्यो नै पत्रकारले बुझ्ने माध्यम र स्रोत हो । 

हामीले मेडिकल पत्रकारिताको सुरुआत गरेर स्वास्थ्य क्षेत्रमा धेर थोर सहयोग गरेका छौं । त्यो पनि विना तालिम, विना दक्षता । यो अत्यन्तै संवेदनशिल पेशा हो  ।

आजको युगमा  मेडिकल पत्रकारिता अत्यन्त आवश्यक छ र त्यो दक्षतासहितको ।  तर दक्ष जनशक्ति उत्पादनका लागि कसले ध्यान दिने ? सरकारले, सम्बन्धित मिडियाले, पत्रकार महासंघले वा मेडिकल काउन्सिलले ? 

मेरो विचारमा यी चारै क्षेत्रले स्वास्थ्य सम्बन्धि कलम चलाउनेलाई तालिम लगायत विभिन्न गतिविधि गराएर दक्ष बनाउनु पर्दछ । पत्रकार माहासंघ सम्पूर्ण पत्रकार हरुको छाता संगठन भएको नाताले आफ्नो मातहतका सदस्य हरुलाई दक्ष बनाउनु उसको कर्तव्य हुन आउँछ ।  साथै सम्वन्धित मिडियाको पनि आफ्नो मिडियामा काम गर्ने पत्रकारलाई अब्बल बनाउने कर्तव्य हुन आउँछ ।  पत्रकारहरु जति दक्ष र सक्षम हुन्छन् त्यसको जस पत्रकार महासंघ र सम्वन्धित मिडियाले नै पाउने हो ।
 

Last modified on 2018-01-12 17:45:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts