सेवा नै बन्द गरी किष्टका नर्सहरू आखिर किन हड्तालमा उत्रे ? 

What's This?


Download our app to get more features

मेरो नाम सुनिता चक्रधर हो । म बिगत ६ बर्षदेखि किष्ट मेडिकल कलेजमा स्टाफ नर्सको रुपमा काम गर्दै आएकी छु । अहिले अस्पतालमा कार्यरत करिब एकसय जना नर्सहरु हड्तालमा छौं । र, १२ दिनदेखि अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवाहरु ठप्प छन् । 

आफ्नो व्यक्तिगत जीवनलाई टाढा राखेर बिरामीको सेवामा खटिनुपर्ने हाम्रो पेशागत धर्म हो । तर हाम्रो समस्यालाई प्रशासनले सुन्ने प्रयत्न नै नगरेपछि बाध्य भएर हामी हड्तालमा आएका छौंं । 

नर्सहरुको समस्या सँधै अन्यौलमा पर्छ । मर्यादित पेशाभित्रको बाध्यता थोरैले मात्रै देख्छन् । अस्पताल प्रशासनले हाम्रो समस्याको बारेमा कहिल्यै सुन्न चाहेनन् । ब्यक्तिगत समस्यालाई लुकाएर बिरामीको सेवामा खटिनुपर्ने हाम्रो बाध्यकारी जिम्मेवारी हो । 

मैले किष्ट अस्पतालमा निकै थोरै तलबमा काम शुरु गरेको थिएँ । काम शुरु गरेको ६ बर्ष बितिसक्दा पनि प्रशासनले न तलबबृद्धिको कुरा गर्छ, न हाम्रो समस्या सुन्ने नै काम गर्छ । एकजना बिरामीले दशदेखि पन्ध्र जना बिरामी हेर्नुपर्ने हाम्रो बाध्यता छ । एउटा फ्लोरमा एकजना मात्रै हेल्पर भएका कारण हेल्परको काम समेत हामी आफैले गर्नुपर्ने बाध्यता छ । 

राति ड्युटी परेका नर्सहरुलाई नाइट अलाउन्सका रुपमा जम्मा ५० रुपैयाँ मात्रै उपलब्ध गराइएको छ । जुन अहिलेको अवस्थामा निकै न्यून हो । आइसियु कक्षमा काम गर्दा अपनाउनुपर्ने सेफ्टीका लागि चाहिने सामाग्री समेत अस्पतालले उपलब्ध गराएको छैन् जसले गर्दा विभिन्न रोगको संक्रमणको खतरा समेत उतिकै रहन्छ । 

पहिलाभन्दा अहिले कामको भार पनि निकै बढेको छ । एकजना नर्सले धेरैजना बिरामी हेर्नुपर्दा ड्युटीमा निकै तनाव व्यहोर्नुपर्छ । राति ड्युटी पर्दा अस्पतालभित्रै सुरक्षाको वातावरण छैन् । अस्पतालमा बस्ने सुरक्षाकर्मी अस्पतालको भूइँतल्लामा बस्छन् तर बिरामीको वार्ड पाँचतल्लामा राखिएको छ । 

कहिलेकाही बिरामीका आफन्तहरुले अनावश्यक तनाव दिने र झगडा गर्ने गर्छन् । त्यस्तो अवस्थामा समेत हामीले सहेर बस्नुपर्छ । हामी आफै बिरामी पर्दा समेत अस्पतालमा पूर्ण निशुल्क उपचारको व्यवस्था छैन् ।  काम गरेको यतिका बर्ष भइसक्यो तर अहिलेसम्म प्रशासनले तपाइँहरुको के समस्या छ भनेर एकचोटी पनि सोधेको थाहा छैन् । बेलुकी डयुटी सकेर घर फर्किन अबेर हुँदा समेत यातायातको भरपर्दो व्यवस्था छैन् ।

हामीलाई समस्या पर्यो भनेर अस्पतालका अरु कर्मचारी र सम्पूर्ण नर्सहरुले १५ वटा बुँदामा माग प्रशासन समक्ष राखेका छौं । कर्मचारीहरु हड्तालमा उत्रेको भन्दै प्रशासनले पुष २ गतेदेखि हामी सबैको हाजिर समेत बन्द गरेको छ । 

हाम्रो समस्या नसुनेर प्रशासनले उल्टै धम्कीपूर्ण तवरले हाम्रो हाजिर बन्द गरेको छ । केही सीप नलागेपछि बाध्य भएर हामी हड्तालमा आएका हौं । 

(किष्ट मेडिकल कलेजमा बिगत ६ बर्षदेखि कार्यरत सुनिता चक्रधरसँग गरिएको कुराकानीमा आधारित )


 

Last modified on 2017-12-27 11:16:35

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts