स्कुल हेल्थ नर्स कार्यक्रम मस्यौदाबाटै हटाईयो
नर्सले एउटालाई मात्रै प्रतिनिधित्व गर्छ :मन्त्रालय
काठमाडौं, ९ पौष । सरकारले सुरु गरेको बहुचर्चित स्कुल हेल्थ नर्स कार्यक्रम अन्यौलमा परेको छ ।
राष्ट्रिय स्वास्थ्य नीति २०७४ को अन्तिम मस्यौदा बाटै स्कुल हेल्थ नर्स कार्यक्रम हटाएपछि सरकारी योजना अन्यौलमा परेको हो । बालबालिकाहरुको सामाजीक ब्यवहार परिर्वतनको लागि सकारात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्न नर्सले मात्रै सम्भव भएको भन्दै सरकारले एक बर्ष अघि स्कुल हेल्थ नर्स कार्यक्रम सुरु गरेको थियो । स्वास्थ्यकर्मीको चलखेलका कारण स्कुल हेल्थ नर्स अन्तिम मस्यौदाबाट हटाइएको विषयमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ शाखाले आपत्ति जनाएको छ ।
शाखा प्रमुख रोसनी लक्ष्मी तुईतुईले मस्यौदामा उल्लेख गरिएको स्कुल हेल्थ नर्स कार्यक्रम राष्ट्रिय स्वास्थ्य नीति २०७४ को अन्तिम मस्यौदा बाट हटाइनु आपत्ति जनक भएको बताईन । स्कुल हेल्थ नर्स कार्यक्रम माओवादी नेता गिरीराजमणी पोखरेल शिक्षा मन्त्री हुदा उठेको थियो । त्यसलाई पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले बजेट भाषण कै समयमा स्कुल हेल्थ नर्स कार्यक्रम समावेश गराएका थिए ।
स्वास्थ्यकर्मी हैन नर्स अपरिहार्य
२०७१ सालमा बनाएको राष्ट्रिय स्वास्थ्य नीतिमा हरेक विद्यालयमा एक जना स्वास्थ्यकर्मी राख्ने उल्लेख गरेको छ । स्वास्थ्यकर्मीले मुलभूत परिवर्तन ल्याउन नसकेपछि विद्यालयमा नर्स आवश्यक ठानिएको हो, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । अति आवश्यक भएको भन्दै नयाँ बन्ने नीतिमा स्कुल हेल्थ नर्स कार्यक्रम समावेश गराइएको थियो । तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापा र गिरीराजमणी पोखरेलले मस्यौदामा समावेश गराएको स्कुल हेल्थ नर्स कार्यक्रम वर्तमान स्वास्थ्य मन्त्री दिपक बोहोराले मस्यौदाबाटै हटाएका छन् । नेपालमा ७१ हजार ५ सय ५७ जना नर्सिङजनशक्ति रहेका छन् ।
चलखेलमा हटाईयो
नीतिगत रुपमा निर्णय भइसकेको बिषयलाई कसैको लोभ लालचमा परेर हटाउनु समग्र नर्सिङ् पेसा प्रतिको अपमान हो नर्सिङ क्षेत्रका विज्ञहरुले भनेका छन् । अन्तिम समयमा स्वास्थ्यकर्मीको चलखेलका कारण मन्त्रालयका जिम्मेवार व्यक्तिहरु लागेर क्लीनिकल क्षेत्रका स्वास्थ्यकर्मी नराखेर पब्लीक हेल्थ राख्ने तर्फ निणय लिनु दुखको बिषय भएको उनिहरुको भनाई रहेको छ ।
देशभर माध्यमिक विद्यालय १२ हजारको संख्यामा रहेका छन् प्रत्येक विद्यालयमा एक नर्स राख्दा पनि १२ हजार नर्सले रोजगारी पाउने नर्सिङ क्षेत्रका जानकारहरु बताउछन् । १० देखि १५ बर्ष उमेर समुहका विद्यार्थी अध्ययन गर्ने भएकाले उनिहरुमा हुने परिवर्तीत जीवन शैलि, खानपान, रहनसहन, प्रजनन् स्वास्थ्य शिक्षा जस्ता बिषयको ज्ञानका लागि विद्यालयमा नर्स आवश्यक मानिएको हो ।
यस कारण आवश्यक नर्स आवश्यक
- नर्सले मात्रै बिद्यालयमा स्वास्थ्यको सबै खाले सेवा दिन र ब्यबस्थापन गर्न सक्छन् ।
- बिद्यालयमा किशोर किशोरीको प्रजनन तथा यौन स्वास्थ्यका बारे जनचेतना मुलक कार्यक्रम संचालन गर्न नर्स दक्ष हुन्छन् ।
- महिनावारी सम्बन्धि सेवा र सल्लाह लिन किशोरी हरुलाई नर्स संग सहज हुने ।
- हिसांबाट बालबालिकालाई कसरि बच्ने बारे सचेत गराउन सक्ने ।
- स्कुल वास कार्यक्रम संचालन र ब्यबस्थापन गर्न सक्ने ।
- विद्यालय स्तरबाटै जुकाको औषधि वितरण, खोप कार्यक्रम, स्वास्थ्य शिक्षा कक्षा संचालन गर्न सक्ने ।
- प्राथमिक स्वास्थ्य उपचार गर्ने सक्ने ।
- आवश्यकता हेरी स्वास्थ्य परिक्षण गर्ने सक्ने ।
नर्सले एउटालाई मात्रै प्रतिनिधित्व गर्छ :मन्त्रालय
स्वास्थ्य मन्त्रालयले स्कुल हेल्थ नर्सले नर्सको मात्रै प्रतिनिधित्व गर्ने भएकाले मस्यौदाबाट हटाएको बताएको छ ।
स्वास्थ्य मन्त्री दिपक बोहोराका स्वास्थ्य सल्लाहकार डा. यसोबर्धद प्रर्धानका अनुसार नर्सले समग्र नर्सको मात्रै प्रतिनिधित्व गर्ने भएकाले हटाएको स्पष्ट पारे । उनले भने, हिजोका मन्त्रीले के स्वार्थमा यस्तो निर्णय गरे तर, ‘हामी उनिहरुको जस्तो गल्ति गर्ने पक्षमा छैनौं । त्यसैले २०७१ सालको राष्ट्रिय स्वास्थ्य नीतिमा उल्लेख भएको बिषयलाई नै निरन्तरता दिएका हौं ।’ २०७१ सालको राष्ट्रिय स्वास्थ्य नीतिमा प्रत्येक विद्यालयमा एक जना स्वास्थ्यकर्मी राख्ने उल्लेख गरीएको छ ।
स्वास्थ्यकर्मीले सबैको प्रतिनिधित्व गर्छ तर, नर्सले आफ्नो मात्रै प्रतिनिधित्व गर्छ उनले भने । विद्यालयमा नर्स भन्दा स्वास्थ्यकर्मी आवश्यक पर्ने पनि डा. प्रर्धानले बताए । देशका सबै स्वास्थ्य सस्थामा नर्स पुग्न नसकेको अवस्थामा हरेक विद्यालयमा नर्स अनिर्वाय भन्नुको कुनै अर्थ रहदैन उनले भने, स्वास्थ्यकर्मीको सहभागीता हरेक ठाउँमा भएकाले उनिहरुलाई अनिवार्य गर्नुपर्छ ।’
(आजको नयाँ पत्रिका दैनिकबाट)