रक्सी सेवन गर्नेमध्ये ५० प्रतिशतमा कलेजोको समस्या
काठमाडौँ, २ पुष । रक्सी सेवनका कारण ५० प्रतिशत बिरामीमा कलेजोको समस्या रहेको पाइएको छ । वीर अस्पतालको लिभर (कलेजो) युनिटमा भर्ना भएका बिरामीमध्ये कम्तीमा ५० जना बिरामीको रक्सी सेवनका कारण कलेजोमा समस्या भएको पाइएको हो । वीर अस्पतालका कलेजोरोग विशेषज्ञ डा.सुधांसु केसीले अस्पतालको लिभर युनिटमा भर्ना हुने बिरामीमध्ये ४० देखि ५० प्रतिशतमा रक्सी सेवनका कारण कलेजोमा समस्या भएको बताए । ‘बिरामी हुनेमध्ये अधिकांश जनजाती समुदायका रहेका छन्,’ केसीले भने ।
दैनिक ४० बिरामी ओपिडीमा
कलेजो रोगको उपचारका लागि वीर अस्पताल सबैभन्दा उत्तम मानिन्छ । केसीका अनुसार वीर अस्पतालमा दैनिक ४० जना कलेजोको समस्या भएका बिरामी आउने गरेका छन् । उनीहरुमध्ये कम्तीमा ५० जनाको रक्सीस सेवनले कलेजो बिग्रिएको पाइएको छ । ‘हेपाटाइटिस सी र ए बाट कलेजो बिग्रिएका बिरामी पनि उल्लेख्य मात्रामा देखिने गरेका छन्,’ डा.केसीले भने, ‘पछिल्लो समय कलेजो रोगका बिरामीको संख्या धेरै बढेको छ ।’ जन्डिस, पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने र रगत बान्ता हुनेजस्ता समस्या बिरामीमा बढी देखिएको छ ।’ समस्या देखिनासाथ बिरामीहरु उपचारका लागि नआउने गरेको चिकित्सकहरु बताउँछन् ।
८० प्रतिशत बिरामी आयुर्वेदको भरमा
डा.केसीले जन्डिस हुनासाथ ८० प्रतिशत बिरामी आयुर्वेदिक औषधि उपचारमा लाग्ने गरेको बताए । ‘सुरुवाती अवस्थामा बिरामीहरु आयुर्वेदको भर पर्छन् । त्यहाँ निको नभएपछि अन्तिम अवस्थामा अस्पताल आउँछन्, जसले गर्दा निको बनाउन सकिने अवस्था नरहन सक्छ,’ उनले भने । आफैँ निको हुने जन्डिस मात्रै ठीक हुन्छ, नत्र आयुर्वेदको औषधिले उपचार सम्भव नहुने चिकित्सकको भनाइ छ । रक्सीले कलेजोको समस्या भएका बिरामीको संख्या अस्पतालमा बढ्न थालेपछि चिकित्सकहरुले रक्सी सेवन नगर्न आग्रह गरेका छन् ।
(आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>