रौतहटको चन्द्रपुरमा डेंगुको त्रास,एकको मृत्यु
रौतहट, १ मंसिर । चन्द्रपुर नगरपालिकामा डेंगुले प्रकोपको रुप लिएपछि स्थानीय त्रसित बनेका छन् । केही दिनअघि उपचारका क्रममा एक बिरामीको मृत्युसमेत भएको छ । चन्द्रपुर १ पौराईका ४० वर्षीय मोतीराम गोलेको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
यहाँ दुई सातायता डेंगु संक्रमण बढेको छ । वडा नम्बर १ र ४ मा डेंगु बिरामी फेला परेका छन् । यससँगै चन्द्रनिगाहपुरका सरकारी तथा निजी अस्पतालमा डेंगु परीक्षण गराउनेहरु बडेका छन् ।
वडा नम्बर १ स्थित वागमती नदी किनारको सुकुम्बासी बस्तीका धेरै बिरामी छन् । तीन सयभन्दा बढी परिवारको बसोबास रहेको बस्तीको प्रत्येक घरमा एकदेखि पाँच जनासम्म बिरामी परेको वडाध्यक्ष बिरु रखालले जानकारी दिए ।
डेंगु संक्रमण भएको आशंकामा दैनिक १ देखि २ जना बिरामी जँचाउन आउने गरेको चन्द्रनिगाहपुर अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले जानकारी दिए । उनका अनुसार ७–८ जनामा डेंगु भेटिएको छ । निजी अस्पतालमा पनि डेंगु परीक्षण गराउने बिरामीको संख्या बढेको छ । चन्द्रपुर अस्पतालका डा.सुवास चौधरीका अनुसार ६ जनामा डेंगु भेटिएको छ ।
क्तिपय व्यक्ति सामान्य ज्वरो सम्झिएर नजँचाई घरमै बसेका छन् । धेरै बालबालिका ज्वरोका कारण बिरामी परेका छन् । चन्द्रपुर नगरपालिकाको पहलमा चन्द्रनिगाहपुर अस्पतादका स्वास्थ्यकर्मी शुक्रबार रोगप्रभावित गाउँ जान लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले जानकारी दिए ।
(आजको अन्नपूर्णपोष्ट दैनिकमा फणि महतले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>