अप्रेशन थिएटरबाटै सामान हराएपछि...
वीर, टिचिङ, सिभिल वा अन्य कुनै सरकारी अस्पतालमा यदि तपार्इंका आफन्त काम गर्छन् भने सो अस्पतालमा निजी अस्पतालमा पाउने सुविधा पाउनु हुन्छ । यस्तै तपार्इंको आफन्त निजी अस्पतालमा काम गर्नुहुन्छ भने सरकारी अस्पतालकै रेटमा उपचार र सुविधा पाउनुहुन्छ । अझ तपाईंका आफन्त अपरेशन थिएटरमा (ओटी) मा नैं काम गर्छन् भने ९० प्रतिशत अप्रेशनका सामान तपाईंले निःशुल्क पाउनुहुन्छ ।
यो काल्पनिक कुरा होइन । मेरो आफ्नै अनुभव हो । मेरो आफन्त त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइन्जेल मैंले त्यहि निजी अस्पताल सरह सुविधा प्राप्त गरें । हाम्रो सिस्टम र सोंचले गर्दा जहिले पनि मारमा पर्ने आमनागरिक र गरिब जनता नै हुन् । वीर, टिचिङ र सिभिल अस्पतालमा सामान्य मानिसले आइसियू सेवा पाउनु भनेको नेपालीलाई डिभी चिठ्ठा पर्नु बराबर हो । अझ सिभिल अस्पतालमा शय्या पाउनु मन्त्री र सचिवहरूको सोर्सफोर्स नभए मुस्किल छ । अलि अगाडि मेरै अघि स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकारले धेरै पहल गरेर शय्या मिलाउनु भो । त्यसरी पाउने शय्या पनि सामान्य मानिसलाई समय नैं नभई डिस्चार्ज गरेर वा अन्यत्र सारेर पाउने शय्या हो ।
म सँग वीर अस्पतालको ९० दिनको बसाइका क्रममा धेरै तिता मिठा अनुभव छन् । कतिपय लेख्न मिल्छ कतिपय लेख्न मिल्दैनन् । वीर अस्पतालमा सबैभन्दा डरलाग्दो कुरा त्यहाँका मेडिकल अफिसरहरूको ‘फ्रस्टेशन’ हो । भएभरको सम्पत्ती बेचेर एमबीबीएस त गरे तर त्यसपछिको पढाइको लागि न त उनीहरूका अभिभावकसँग पैसा छ न त उनीहरू आफैं कमाएर पढ्न सक्छन् । कोही कोही त कुलतमै फँसेको पनि भेटियो । बिरामीलाई बेहोस पार्ने औषधि चाहिने भन्दा धेरै मगाई डाक्टरहरू आफैं सेवन गरेको पनि देखेँ । कोही निजी अस्पतालमा कमिसनका लागि डाक्टरले नै बिरामी बिक्री गर्थे । यसले के जनाउँछ भने आफ्नो आर्थिक अवस्था कस्तो छ त्यो हेरेर पढ्ने विषय रोजिएन भने ‘फ्रस्टेशन’ र कुलतको शिकार बन्नु पर्दोरहेछ ।
वीर अस्पतालमा महिनौंसम्म उपचार गराएर बसिरहेका बिरामी पनि भेटिए । अझ रोचक त के छ भने बिरामी कुरुवा कुरुवाबीच माया प्रेममा परेर बिरामी छोडि भागेको पनि भेटियो । माया प्रेमको प्रसंगले कहिले काही वार्ड नै रोमञ्चित बन्थ्यो ।
अनौठो कुरा, तपाईं वीर अस्पतालमा बिरामी कुर्दै हुनुहुन्छ र त्यहाँको कोही कर्मचारीले मेरो मान्छेको औषधि पसल छ म सस्तोमा मिलाइ दिन्छु भन्यो भने सम्झनुहोस्, तपार्इंलाई पर्ने मुल्य भन्दा १० प्रतिशत ज्यादा महंगो पर्छ । त्यहाँका मान्छेले फार्मेसीमा अनुहार देखाएको १० प्रतिशत कमिशन पाउँछ । वीर अस्पतालमा धेरै राम्रा र अनुभवी चिकित्सक र स्टाफ पनि छन् । तर, केही चिकित्सक र स्टाफका कारण अस्पताललाई नै बदनाम गराइरहेका छन् । अचम्म के पनि छ भने, केही मान्छेहरू त्यहाँका स्टाफ नै होइनन् । तर, उनीहरु रेगुलर अफिस टाइममा आउँछन्, बिरामी र बिरामीका आफन्तलाई ठग्छन् । र अफिस छुटेपछि घर फर्किन्छन् । अझ वीर अस्पतालका पालेहरूको दादागिरी त द्वन्द्वमा खटिएका सेनाले विपक्षीलाई देखाउने बर्बरता जस्तै छ । वीर अस्पतालमा प्रत्येक दिन केही न केही घटनाहरु भइरहन्छ ।
एक दिन मेरी छोरीको अप्रेशन थियो, छोरीलाई अप्रेशन कक्षमा लगेर म वार्डमा झरें । शर्त अनुसार मैले दुई लाख पचास हजार बुझाउनु पर्ने थियो । मसँग मात्र पचास हजार थियो । पैसा छैन भनुँ भने अप्रेशन नहोला, चीनदेखि चिकित्सक आएका छन् । केश अत्यन्त जटिल छ । दिउँ भने पैसा छैन । यस्तै सोचिहेको थिएँ । अकस्मात ओटीबाट फोन आयो । ओटीमा गएँ, डाक्टरले पैसा जम्मा गर्न भन्नु भयो । यसो सोचें, पैसा जम्मा भयो भने दिइहाल्छु, भएन भने छोरीको अप्रेशन भइहाल्छ देखाजाला ।
मेरो मनमा पनि पापी सोच आयो । पैसा पनि छैन, छोरी बाँच्ने आश पनि छैन । डाक्टरलाई बेलुकासम्म पैसा दिन्छु भनेर ढाटेँ । डाक्टरले पनि अन्कनाएर हुन्छ भन्नु भन्दा अर्को विकल्प थिएन । किनकी बिरामी ओटीभित्र छिराइ सकेकोे थियो । उनले हुन्छ भने । डाक्टरसँग बिदा भएर वार्डमा झर्दै थिएँ, एक जना शाह थरका रेजिडेन्ट डाक्टर भेटिए । उनी बहुतै ‘चालु’ थिए सबै कुरामा । उनले सोधँे, ‘कसलाई किन भेट्न आएको ?’ मैैंले पैसा जम्मा गर्नुपर्ने कुरा बताएँ । ‘तपाईंको छोरीको उपचार गर्न पैसा नैं लाग्दैन, उसले खान खाजेको हो, विचार गर्नुहोस्’ उनले भने ।
त्यसपछि म झन अचम्ममा परें । भारतबाट आउनेहरूले गरेको कहानी म आफ्नै देशमा भोग्दै छु । मैंले केही सोच्नै सकिन । मैले चिनेका वीर अस्पतालका र मलाई माया गर्ने सबै जनालाई त्यो कुरा भनें । सबै जनाले पैसा नदिन सुझाए । छोरीको अप्रेशन हुँदै थियो, दिन बिस्तारै छिप्पिदै थियो । अरु त के मलाई घाँटीबाट पानी निल्न पनि मुस्किल भइरहेको थियो । यो उमेरसम्मको आफ्नो इमान्दारिता र आर्थिक अवस्था सम्झिरहेको थिएँ । लामो समयको संघर्षपछि एउटा राम्रो ठाउँमा जागिर पाएको थिएँ । पूर्खाको सम्पत्ती पनि टन्नै थियो । तर, मसँग पैसा भने थिएन । मैंले साथीभाई र आफन्त कमाएको रहेछु । मैले नमागिकन बेलुका ६ बजेसम्म करिब २८ लाख रुपैयाँ जम्मा भइसकेको रहेछ ।
राती करिब ११ बजे मोबाइलमा डाक्टरको फोन आयो । सूर्यजी, तपार्इंले पैसा जम्मा गर्नु भो ? डाक्टरको आवाजमा आवेग र आक्रोश थियो । उनलाई पनि सिनियर डाक्टरले च्यापेका रहेछन् ।
मसँग पैसा जम्मा भैसकेको थियो । तर मैले डा. शाहले भनेको कुरा बिर्सैको थिइँन । मैंले जवाफ दिएँ, ‘सर, आज पैसा जम्मा भएन भोलि हुन्छ ।’ त्यसपछि उनले रिसाउँदै फोन झ्याप्प राखिदिए । मैंले एक जना रविन्द्रकाजी श्रेष्ठ नाम गरेका दाईलाई चिनेको थिएँ । उनले लामो समय वीर अस्पतालमैै फार्मेसी चलाएका थिए । उनका भाइ पनि वीरकै राम्रा डाक्टर थिए । उनको डा. प्रकाश विष्टसँग चिनजान थियो । रविन्द्र दाईले डा. विष्टसँग कुरा गर्नुभयो । त्यो पैसा मैंले दिनैं पर्ने रहेछ । मैंले नदिए डाक्टरहरूले नैं तिर्नुपर्ने रहेछ । म लज्जित भए र मलाई फोन गर्ने डाक्टरलाई फोन गरें र माफी मागें । पछि थाहो भयो, डा. शाहको ती डाक्टरसँग टसल रहेछ र मलाई भड्काएका रहेछन् । मलाई फोन गर्ने डाक्टर थिए केआईसिंह केसी । उनी बहुत अब्बल र सहयोगी थिए । डा. गोपालरमण शर्मा र डा. श्रीसन उनका चेला न परे । आजभोली न्यूरो सर्जरीमा उनी पनि चर्चित नै छन् । बुटवललाई कार्यक्षेत्र बनाएका छन् । कञ्चनपुरदेखिका बिरामी उनलाई भेट्न बुटवल आउँछन् । मेरो पारिवारीक सम्बन्ध छ । म बुटवल गएका बेला उनको मै खाना खान्छु । म एउटा बिरामीको भिजिटर, बिरामी डिस्चार्ज गर्दासम्म उनको साथी बनिसकेको थिएँ ।
एउटा रोचक घटना भयो त्यो बेला । अर्जेन्ट सामान ओटीबाटै चलाउनु र चाहिने भन्दा बढी सामान बिरामीका आफन्तलाई किनाउनु प्रायः सबै अस्पतालका ओटीहरूको धन्दा हो । नियमत प्रयोग हुने सामाग्री प्रयोग गरेर र बाँकी सामाग्री फिर्ता गर्नुपर्ने ओटीको नियम हो । र फिर्ता लिने हाम्रो अधिकार पनि हो । तर, वीर अस्पतालमा त्यस्तो हुँदो रहेनछ । फिर्ता हुने भनेको सलाइन र सिरिन्ज मात्रै जो देख्दा धेरै देखिने तर भ्यालुमा निकै कम हुन्छ ।
छोरीको अप्रेशनका बेला मलाई दुई वटा एनोरिजम क्लिप (मस्तिष्कको नशा फुल्न नदिने क्लिप) किन्न लगाइएको थियो । एउटा क्लिपको मुल्य ३२ हजार पाँच सय पथ्र्याे । अपत्यारिलो रुपमा छोरीको अप्रेशन सफल भएकोमा हामी गद्गद् थियौं । हामीलाई के सामान कति प्रयोग भयो थाहा हुने कुरै भएन । एक दिन मैले सिटी स्क्यान हेरें । त्यसमा एउटा मात्र क्लिप देखें । अर्को क्लिप कता लाग्यो होला भन्ने लाग्यो । वास्ता गरिंन । छोरीको डिश्चार्ज गरेको पनि महिना दिन पुगिसकेको थियो । एक दिन उनै डा. केसीसँग चिया खाने मौका मिल्यो । मैले डराई डराई उनलाई सोधें ‘सर, छोरीलाई त दुई वटा क्लिप लगाएको होइन र ? मैले हेर्न जानिन कि के होे एउटा मात्र क्लिप देखें ।’ उनी मुसुमुसु हाँसे र भने, ‘एउटा तपार्इंलाई फिर्ता आएन ?’ उनको हसाँईबाट बुझिसकेको थिएँ, एउटा क्लिप कसैले ओटीमा भ्याइदियो । उनले भोलिपल्ट ओटीमा बबण्डर गरेछन् । कसले लुकाएको हो पत्ता लगाएछन् । मलाई बोलाएर फिर्ता गरिदिए । ‘सरी है, सूर्यजी यहाँ यस्तै हो ।’ उनले भने । म छक्क परें । एउटा पत्रकार, त्यसमा पनि मेडिकल बिट र धेरै डाक्टरहरू चिन्ने मान्छे त ठगिँदो रहेछ भने अरु सामान्य मान्छे जो पहिलो पटक अस्पताल टेकेका छन् तिनको हालत के होला ? हे मेरो देश ।
माथि उल्लेखित घटना काल्पनिक होइनन् । म छोरीको उपचारको क्रममा वीर अस्पतालमा ९० दिन बस्दाका अनुभव हुन् । म धेरै त्यस्ता अस्पतालका डाक्टर र स्टाफहरू चिन्दछु जो आफ्नो महिनाभरको तलब त्यहिँ आउने बिरामीको उपचारमा खर्चन्छन र महिना मरेपछि रित्तो हात घर फर्किन्छन् । मैंले त्यस्ता डाक्टर र स्टाफहरु चिनेको छु जसले त्यहि अस्पतालमा अप्रेशनको टाइम मिलाएर कमिशन खान्छन् र आईसियू बेड मिलाएर कमिशन खान्छन् । धिक्कार... छ ती कमिशन खोरहरूलाई जो मान्छे बेचेर पैसा कमाउँछन् । सम्मान छ ती डाक्टरहरू जो आफ्नो गाँस काटेर बिरामी बचाउँछन् ।
(लेखक नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष हुन् ।)
यो पनि पढ्नुहोस्
1 Comments
-
मा..क्नी मलाई यो पढेपछि किन रिस उठ्दै छ ?
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>