के तपाईंको महिनावारी अनियमित भएको छ ? (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौं, २५ वैशाख । पछिल्लो समय महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्ने क्रम बढेपनि यौन तथा प्रजननको बिषयमा भने त्यति खुलेको पाइँदैन । जसले गर्दा यौन तथा प्रजनन स्वास्थ्यका बिषय प्रायः गोप्य नै हुने गर्छन् । रजस्वला हुने प्रक्रियाका बारे त झन अनेकौं अन्धविश्वास र भ्रम विद्यमानै छ ।
  
हरेक महिलामा रजस्वाला हुनु एक प्राकृतिक प्रक्रिया हो । महिलामा रजस्वला हुनको लागि इस्ट्रोजन र प्रोजेस्टेरन हर्मोनहरु उत्पादन हुनु पर्छ । सामान्यतया एक व्यस्क महिलामा एक महिनाको अन्तरालमा रजस्वला हुने गर्दछ । तर यसरी नियमित हुने रजस्वला सामान्य अवस्थाभन्दा अगाडी वा पछाडि हुनु नै अनियमित रजस्वला हो ।

स्त्री रोग विशेषज्ञ डा.ज्योति अग्रवालका अनुसार हरेक महिलामा अनियमित रजस्वला हुने कारणहरु फरक फरक हुने गर्छन् । हर्मोनको गढबढी हुनु, डिम्वासयमा कुनै रोग लाग्नु, गर्भपतन गराउनु, अनियमित गर्भनिरोधक चक्किहरुको बढि सेवन गर्नु अनियमित रजस्वलाको मुख्यकारण रहको डा. अग्रवालको भनाई छ ।


त्यस्तै अत्याधिक मोटोपना, मानसकि तनाव , अत्याधिक शारीरीक अभ्यास, पाठेघरको भित्री तहको इन्डोक्राइन ग्रन्थिमा गडबडी हुनुका साथै पाठेघरको मुखमा मासु पलाउनु तथा घाउ हुनु पनि अनियमित रजस्वला हुनुको कारण हो ।
 
रजस्वलाको अवस्थामा महिलाले व्यक्तिगत सरसफाइमा पनि उतिकै ध्यान पुर्याउनु पर्ने हुन्छ । यस्तो अवस्थामा शरीरबाट रगत  तथा पसिना बग्ने हुनाले शरीर गन्हाउने र दुर्गन्धित हुने जस्ता समस्या उत्पन्न हुन सक्छन् । त्यसैले दिनहु नुहाउने, सफा भित्री वस्त्रको प्रयोग गर्ने, प्रयोग गरीएका कपडालाई साबुन पानीले धोएरमात्र प्रयोग गर्नुपर्छ ।
 
रजस्वलाको अवस्था आफैमा पनि महिलाहरुको लागि पीडादायक अवस्था हो । यस अवस्थामा सकेसम्म प्रशस्त आराम गर्ने, सन्तुलित आहार लिने तथा चिन्तामुक्त रहनुपर्छ । रजस्वला सम्बन्धि अरुकुनै समस्या देखिए गुम्साएर नराखी तुरुन्तै सम्बन्धित विशेषज्ञको परामर्श लिनुपर्छ । 

त्यस्तै, शरीरमा कुनै रोगको लक्षण महसुुस नभए पनि वर्षमा एक पटक अनिवार्य स्वास्थ्य परीक्षण गर्न समेत चिकित्सकहरुले सुझाव दिएका छन् । 

Last modified on 2017-06-12 17:30:27

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts