मातातिर्थ औंशी र आमाको दुधको महत्व



Download our app to get more features

छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन आजको दिनमा आमालाई विशेषसम्मान गरेर भेटघाट गरीन्छ । आजको दिनमा जति आमाको महत्व छ, त्यो भन्दा बढी महत्व भर्खर जन्मेका नवजात शिशुलाई आमाको दुधको हुने बाल रोग विशेषज्ञहरु बताउँछन् ।

आमा र छोराछोरीको सम्बन्ध धार्मिक सामाजिक साांस्कृतिक रुपमा मात्र नभई स्वास्थ्यका हिसावले पनि निकै महत्पपूर्ण रहेको छ । गर्भबाटै आमाले आफ्नो छोराछोरीको स्वास्थ्यमा विशेष राख्छिन् । आमाको गर्भबाट जन्म भएपछि नवजात शिशुलाई सबैभन्दा महत्वपूर्ण र आवश्यक आमाको दुधको हुन्छ । 

बच्चा जन्मिएको एक घण्टा भित्र आमाले खुवाउने दूध अमृत समान हुन्छ । त्यसैले जन्मने बित्तिकै अमृत खुवाउने आमालाई आजको दिन मात्रै नभई हरेक दिन विशेष सम्मानका साथ हेरचाह गर्नुपर्छ ।
बाल रोग विशेषज्ञ डा. सुनिलराजा मानन्धरका अनुसार आमाको दुध जन्मेदेखि ६ महिनासम्मका शिशुको शारीरिक एवम् मानसिक वृद्धि र विकासका लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरूले भरिपूर्ण हुन्छ । आफ्नो शिशुले चाहेको बेलामा जहिले पनि जहाँ पनि आमाले दुध खुवाउन सक्छिन् । आमाको दुध शिशुका लागि पहिलो खोप हो । नवजात शिशुुका लागि आमाको दुध बाहेक अरु कुनै खाना पोषिलो र स्वस्थकर नहुने चिकित्सकहरु बताउँछन ।
उनले आमाले आफ्नो बच्चालाई ५ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्ने बताए । छ महिनादेखि दुई वर्षसम्म आमाको दुध र अन्य पौष्टिक खानेकुरा खुवाउन सकिने बताए ।


शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेंलो दुध ‘बिगौती’ मा रोगसँग लड्नसक्ने प्रतिरोधात्मक तवरहरू रहेको हुन्छ जसले हानिकारक र सकारात्मक जीवाणु र किटाणुलाई नष्ट पारी शिशुलाई संक्रामक रोगहरू लाग्नबाट बचाउँछ । 


स्तनपान गराउने आमाहरूको स्तन र पाठेघरमा क्यासर हुने सम्भावना पनि धेरै कम हुन्छ । जन्मान्तर कायम राख्न स्तनपानले सहयोग पु¥याउँछ । स्तनपान गर्न नपाएका शिशुहरू पछि गएर झगडालु स्वभावका हुने, अरुसँग घुलमिल गर्न नसक्ने हुन सक्छन् ।

आमाको दुध खान पाएका शिशुहरू झाडापखाला, श्वासप्रश्वास र अन्य रोग लाग्नबाट सुरक्षित हुन्छन् । नेपालमा स्तनपानकै कारण शिशु मृत्युदरमा २५ प्रतिशतले कमी आएको सरकारी अध्ययनले देखाएको छ । 
आमाको दुधको महत्वलाई बुझेर विश्व स्वास्थ्य सगठनले विश्वभर ‘स्तनपान सप्ताह’ मनाउँदै आएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म ‘स्तनपान सप्ताह’ मनाइन्छ । नेपालमा पनि यो सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै आइएको छ । 

विश्वमा दिनप्रतिदिन बढ्दै गइरहेको ‘बोटल मिल्क फिडिङ’ ले बच्चाको स्वास्थमा प्रतिकुल असर पुर्याइरहेकाले आमाको दुध खुवाउन जोड दिने उद्देश्यका साथ यो सप्ताह मनाउने गरिएको हो ।
तर, सुत्केरी भएको एकघण्टा भित्र खुवाइने बिगौते दूध बच्चाका लागि सबैभन्दा पौष्टिक भएपनि जनचेतनाको अभावमा कतिपय सुत्केरी आमाले जन्मिएको पहिलो पटकको दुध निचोरेर फ्याक्ने गर्छन् । यो उनीहरुको आफ्नै सन्तानप्रति गरीएको अन्याय हो ।


आजभोलीका आधुनिक आमाहरु फिगर बिग्रने र भद्दा हुने डरले बच्चालाई स्तनपान गराउन संकोच मान्छन् । कतिपयले त दुधै आएन भनेर आलटाल गर्दै बच्चालाई आफ्नो दुधको साटो ‘बोटल मिल्क फिडिङ’ को संस्कार बढदै गएको छ ।


डा. मानन्धरले नेपालमा सुत्केरी पछि ६० दिन मात्रै बिदा बस्न पाइने र अन्य जागिरका कारण आफ्नो बच्चालाई आमाको दुधको वैकल्पिक आहार खोज्नुपर्ने बाध्यता रहेकोले पनि स्तनपानमा समस्या रहेको बताए ।
नेपालमा शहर बजारका १८ प्रतिशत र ग्रामिण क्षेत्रमा ६ प्रतिशत महिलाले नवजात शिशुलाई नियमित स्तनपानबाट बञ्चित गराउने गरेको एक तथ्यांकले देखाएको छ । 

नेपालमा ७८ प्रतिशत महिलाले पूर्ण रुपमा स्तनपान गराउने गरेका छन् । ति आमाहरुलाई आमाको मुख हेर्ने दिनमा बिर्सन हुँदैन ।


 

Last modified on 2016-05-06 15:14:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts