रोगले दशैँ भन्दैन



Download our app to get more features

 

 

नेपालीको महान् चाड दशैँ हाम्रो घर–आँगननजिकै आइसकेको छ । यो चाडमा कस्ता परिकार खाने, कस्ता पेयपदार्थ खाने र कसरी पर्वलाई रमाइलो बनाउने भनेर योजना बनाउन थालिसकेका छांै ।

नेपालीमध्ये पनि हिन्दू धर्मावलम्बीले दशैँलाई निकै महत्वका साथ लिने गर्छन् । दशैँका अवसरमा हिन्दू धर्मावलम्बीहरूले घरको पूजाकोठामा राखेको जमरामा खसी, बोका, हाँस, कुखुरा, राँगा आदिको बलि दिने गर्छन् । उक्त बलिलाई प्रसादको रुपमा उनीहरूले ग्रहण गर्ने गर्छन् । दशैँमा जस्तोसुकै आर्थिक हैसियत भएका मानिसले पनि क्षमताअनुसार मीठो–मसिनो खानेकुरा र मासुको जोहो गर्छन् । त्यही भएर पनि यो चाडलाई ‘मीठो खाने र रमाइलो गर्ने’ पर्वको रुपमा लिइन्छ । दशैँको अर्को रमाइलो पक्ष भनेको राम्रो र नयाँ लुगा लगाउने पनि हो । साथै कतिपयले दशैँमा लामो समय बिदा हुने हँुदा आफन्तसँग भेटघाट गर्ने, मनोरञ्जन गर्ने, आराम गर्ने सूची पनि बनाएका हुन्छन् । 

चाडपर्व भन्नासाथ खानपानकै कुरा बढी आउँछ । दशैँमा मात्रै नभई अन्य चाडमा पनि हामी अव्यवस्थित तरिकाले खानपान गर्छौं । यो गलत हो । सन्तुलित आहार नभए चाडबाडमा दुःख पाउने अवस्था पनि आउन सक्छ । स्वस्थ र निरोगी हुनको लागि सन्तुलित आहार अनिवार्य छ । आवश्यकताअनुसार खानेकुरा खाए मात्रै शरीर स्वस्थ र तौल यथोचित रहन सक्छ । सन्तुलित आहारमा पाँच समूहका खानालाई मिलाएर खानुपर्छ । 

खाद्यान्न समूह
♦    तरकारी र गेडागुडी समूह
♦   माछा, मासु, अण्डा अथवा गेडागुडी समूह
♦    दूध अथवा दूधबाट बनेका परिकारका समूह
♦    फलफूलका समूह

कसले कति खाने ?
एउटा वयष्क मानिसले खाना कति मात्रामा खाने भनेर उसको उमेर, लिङ्ग, उचाइ, जीवनशैली, शारीरिक परिश्रमअनुसार फरक हुन्छ । मासुमा प्रोटिन र बोसोको मात्रा धेरै हुन्छ । हाम्रो शरीरको लागि एक दिनमा ५० देखि ६५ ग्राम प्रोटिन आवश्यक पर्छ । प्रोटिनले शरीरको वृद्धि र विकास गर्छ । 

दशैँमा हामीले धेरै मासु सेवन गर्छौं । यसले गर्दा हाम्रो शरीरमा अवश्यकताभन्दा बढी प्रोटिन जम्मा हुन्छ । प्रोटिनको मात्रा बढी हुँदा कलेजो र मृगौलालाई अनावश्यक दबाब पर्छ र तिनीहरूमा हानि पुग्न सक्छ । दशैँमा प्रत्येकको घरमा प्रशस्त मासु हुने हँुदा त्यसलाई स्वास्थ्यमा असर नगर्ने गरी बनाउनुपर्छ । चलनचल्तीअनुसार हामीले कवाफ लगाएर मासु बनाउँछौं । कवाफ लगाउँदा धेरै तेल राखेर अझ मीठो पार्ने कोशिश गर्छौं । यसो गर्नु गलत हुन्छ । 

हाम्रो शरीरलाई दैनिक १० देखि २० ग्राम बोसो भए पुग्छ । छाला र बोसोमा चिल्लो पदार्थको मात्रा धेरै हुन्छ । मासु पकाउनुअघि नै छाला र बोसो हटाएमा सो मासु खान स्वास्थ्यका लागि राम्रो मानिन्छ । तेलको मात्रा कम प्रयोग गर्ने र सकेसम्म घिउ नराख्दा नै स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तेल पनि सकेसम्म तोरीको प्रयोग गर्नु उचित हुन्छ । चिल्लोले उच्च रक्तचाप, कोलेस्ट्रोल, ट्राइग्लिसेराइड बढाउँछ ।

गुलियो कति खाने ?
दशैँको अवसरमा धेरै दिन बिदा हुने हुँदा अधिकांश मानिस घरमै रमाइलो गर्ने गर्छन् । यसका लागि उनीहरूले पेयपदार्थ र मदिराको साथ पनि लिन्छन । पेयपदार्थ (कोल्ड ड्रिंक्स) मा चिनीको मात्रा धेरै हुन्छ । १ गिलास (२५० एमएल) कोकमा २७ ग्राम चिनी हुन्छ । एक दिनमा चिनीको मात्रा जसमा क्यालोरिको १० प्रतिशत अथवा २० ग्राम चाहिन्छ । चिनीको मात्रा धेरै प्रयोग गर्नाले मधुमेह हुन सक्ने सम्भावना हुन्छ । मदिराको सेवनबाट उच्च रक्तचाप, कलेजोमा खराबी तथा क्यान्सरजस्ता रोग लाग्न सक्छ । 

फलफूल धेरै, नून कम खाने 
यस्तो बेलामा फलफूल र तरकारी दिनमा ५ सय ग्रामभन्दा बढी खानुपर्छ । दशैँमा थोरै मासु तर सागपात, मुला, काँक्रो, गाजरजस्ता तरकारी र फलफूल बढी प्रयोग गरेमा विभिन्न रोगबाट बच्न सकिन्छ । तरकारी र फलफूलले उच्च रक्तचाप घटाउने, मुटुरोग कम गर्ने, केही क्यान्सरलाई कम गर्ने र पाचन प्रणाली बलियो बनाउने हुन्छ ।

यस्तै नूनको प्रयोग सकेसम्म कम गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । मासु र अचारमा नूनको मात्रा बढी हुने गर्छ । एक दिनमा ५ देखि ८ ग्राम (एक चिया चम्चा) नून सेवन गर्नुपर्छ । नूनले उच्च रक्तचापका बिरामीलाई असर गर्छ ।

युरिक एसिडका बिरामीले रातो मासु नखाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएका बिरामीले सेतो मासु जस्तै– छाला हटाएको कुखुराको मासु, छाला हटाएको माछा खानुपर्छ । यसले शरीरलाई आवश्यक मात्रामा प्रोटिन प्रदान गर्छ ।

व्यायाम गर्न नभुलौं
दशैँमा धेरै दिन बिदा हुने भएकाले मानिसहरू घरैमा बसेर खाने, तास खेल्ने, टिभी हेर्ने, चङ्गा उडाउने गर्छन् । कतै जानु परे पनि सवारीसाधनको प्रयोग गर्छन् । सकेसम्म हिँडडुल गर्दैनन् । शारीरिक व्यायाम पनि गर्दैनन् । बिहानै उठेर १० हजार पाइला पसिना निकालेर हिँडेमा खाएको खाना पचाउन मद्दत पुग्छ । धेरै खाएर आराम गर्दा मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । यसकारण चाडबाड भए पनि व्यायाम गर्न नभुलौं । 


(सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट फूड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेकी हुन् ।)

 

Last modified on 2017-10-02 07:08:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts