बिरामी खोज्दै स्वयंसेविका
बाँके, १४ भदौ । बाढी प्रभावित क्षेत्रमा बिरामी खोज्न स्वयंसेविका परिचालन गरिएको छ । उपचार नगराएर घरमै बस्ने बिरामीका कारण भाइरल प्रकोपले महामारीको रूप लिन सक्ने भन्दै स्वयंसेविका परिचालन गरिएको हो । उनीहरू घरघरमै पुगेर सचेतना अभियानसँगै उपचार गराउन स्वास्थ्य केन्द्रमा जान सुझाव दिइरहेका छन् । बाढीप्रभावित क्षेत्रको वातावरण र पानी प्रदूषित छ । स्थानीय भाइरल ज्वरोले थलिएका छन् । पखाला र टाउको दुख्ने तथा आँखा र छालाको समस्यासमेत देखिएको छ ।
स्वयंसेविकाहरूले घरको सरसफाइ गर्न र तताएर पानी पिउन जानकारी गराइरहेका छन् । उनीहरूले गर्भवती र सुत्केरी महिलाहरूका लागि झुल र सानो झोलालगायतका सामग्री र्पुयाइरहेका छन् । भाइरल प्रकोप नियन्त्रणका लागि बाढी प्रभावित बस्तीमा स्वास्थ्य सरसफाइ अभियान सञ्चालन गरिएको छ । भाइरललगायतको प्रकोप हालसम्म नियन्त्रणमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनायो ।
स्थानीय स्वास्थ्यचौकीमा भने बिरामी आउने क्रम जारी छ । पहिलेभन्दा हाल बिरामीको चाप घटेको स्वास्थ्यकर्मीले बताए । बिरामीहरूको चाप बढ्न सक्ने भन्दै जनस्वास्थ्य कार्यालयले स्वास्थ्यचौकीमा औषधि पठाइसकेको जनाएको छ ।
बाढी प्रभावित राप्ती सोनारी गाउँपालिकाको बैजापुर, फत्तेपुर, टिकुलीपुर, खैरेनी, गेडवालगायतका गाउँमा स्वयंसेविकाहरूले स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिरहेका छन् । त्यस्तै, नरैनापुर गाउँपालिकाको मटेहिया, सोनवर्षा र गंगापुर गाउँका स्वयंसेविकाहरू घरघरमै पुगिरहेका छन् । त्यस क्षेत्रका करिब ६५ स्वयंसेविका घरमै पुगेर बिरामी खोजेर स्वास्थ्य केन्द्र पठाइरहेका हुन् ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा बाँकेका स्रोतव्यक्ति तथा जिल्ला जनस्वास्थ्य निरीक्षक रामबहादुर चन्दले बाढी प्रभावित क्षेत्रमा फैलिएको प्रकोपका कारण बिरामी भएका व्यक्तिहरूको खोजी गर्न स्वयंसेविका परिचालन गरिएको बताए । उनले प्रकोपका बेला सरसफाइ अति आवश्यक पर्ने जानकारी दिए । ‘बाढीपछि गाउँबस्तीमा फोहोर हुन्छ । डुबान भएका घर हिलाम्मे हुन्छन् । धाराको पानी पनि दूषित हुन्छ । जसका कारण महामारी फैलिन सक्छ,’ उनले भने, ‘हाल देखिएको प्रकोप नियन्त्रणमा छ । तर, महामारी फैलिन सक्ने भएकाले समयमै स्वयंसेविका परिचालन गरेका हौं ।’
बाढीग्रस्त क्षेत्रमा भाइरलको प्रकोप देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले यसअघि औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको थियो । एउटै गाउँका करिब पाँच सय बिरामीको उपचार गरिएको छ । साउन अन्तिम साता आएको बाढीले जिल्लाका ४५ हजार बासिन्दा प्रभावित भएका थिए । ९ हजारभन्दा बढी विस्थापित भएका थिए । करिब तीन हजार घर पूर्ण रूपमा क्षति भएका छन् ।
(आजको कान्तिपुर दैनिकमा ठाकुरसिंह थारूले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>