सुत्केरीका सुस्केरा
बाँके, ११ भदौ । राप्ती नदीको बाढीले राति गाउँमा वितण्डा मच्चाउँदा राप्ती सोनारी–५ खैरेनीकी सोनकुमारी थारू सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन् । बाढीले सिंगो गाउँ डुबानमा थियो । त्यो बेला सडकमा सवारी साधन र गोरुगाडा चल्ने कुरै भएन ।
अर्को दिन साउन २८ गते परिवारको सहयोगमा पति विक्रमले सोनकुमारीलाई बोकेरै बैजापुरस्थित स्वास्थ्यचौकीमा र्पुयाए । साउन २९ मा उनी सुत्केरी भइन् । घर फर्किंदा बाढीले घर भत्काइसकेको थियो । घरविहीन भएकी उनले सुत्केरी (सौरी) बस्ने ठाउँ पाइनन् । थारू समुदायमा सुत्केरी भएपछि ९ देखि १० दिनसम्म सौरी बस्नुपर्ने परम्परा छ । छिमेकीका घर पनि सद्धे थिएनन् । भीषण बाढीले सबैका घर भत्किँदा उनले छिमेकमा पनि आश्रय पाउन सकिनन् ।
‘घर भत्केको थियो । हिलाम्मे भुइँमा कसरी सुत्केरीलाई बसाउनु ? आमा र शिशुलाई जोगाउन निकै सास्ती र्पयो,’ विक्रमले साउन २७ गते रातिको पीडा सुनाए, ‘धन्न स्वास्थ्यचौकी र्पुयाइयो र ज्यान जोगियो । तर, श्रीमतीलाई गलितो खाना खुवाउन पाएको छैन ।’
राप्ती नदीको बाढीले घरसँगै खाद्यान्न पनि माटोमा मिलाएपछि उनको परिवार समस्यामा परेको छ । यसअघि विक्रमले श्रीमती सुत्केरी भएपछि कुखुरा, अण्डा र पोषिलो खानपिनको तयारी गरेका थिए । बाढीले सबै बगायो । दिउँसो सोनकुमारी नवजात शिशु लिएर रूखमुनि ओत लाग्छिन् । रात परेपछि सुरक्षित स्थान खोज्छिन् ।
राप्ती सोनारी–५ गोरढुइकी सन्ध्या गिरी पनि साउन २३ गते सुत्केरी भइन् । सुत्केरी भएको चार दिनपछि घरमा बाढी पस्यो । घरभित्र पसेको बाढीले अझै चिस्यान छ । जसका कारण घरमा बस्न सक्ने अवस्था छैन । बाढी पसेकाले घर ढल्ने त्रास छँदै छ । त्यसैले निर्धक्क भएर घरमा बस्न पाएकी छैनन् । सुत्केरी भएको महिना पुगेको छैन । पोषिलो खाना र आराम गर्ने यस्तो अवस्थामा उनी आर्थिक र मानसिक सास्ती खेपिरहेकी छन् । ‘बाढीले दिनसम्म दुस्ख दियो । घरमा बस्न सक्ने अवस्था छैन । १८÷२० दिनको बच्चा र आमालाई यस्तो विपद्का बेला स्याहार्न धौ–धौ भएको छ,’ सन्ध्याका श्रीमान् प्रकाशले भने, ‘सुत्केरी श्रीमतीलाई राम्रोसँग घरमा राख्न सकिएको छैन ।’
राप्ती सोनारी–२ टिकुलीपुरकी मञ्जु विकको प्रसूतिको समय नजिकिँदै छ । उनको दुईतले घर बाढीले भत्काएको छ । हाल उनी नजिकैको सामुदायिक वनमा छाप्रो बनाएर बसेकी छन् । श्रीमान् कामको सिलसिलामा घर बाहिर छन् । बुहारीको अवस्था देखेर ससुरा खिमबहादुर चिन्तामा छन् । स्याहारसुसार र पोषिलो खानेकुरा आवश्यक पर्ने बेला बाढीको विपत्तिले सताएको छ । भएको घर र अन्नपात माटोमा मिसिएको छ । कुखुरा चौपाया बाढीमा मरेका छन् । सुत्केरी भएपछि बुहारीलाई कहाँ राख्ने भन्ने समस्या ससुरालाई छ । ‘के गर्नु भएको घर भत्केर माटोमा मिलिसक्यो । कहाँ बस्ने चिन्ता छ । दुई जीउकी बुहारीलाई राम्रो खान खुवाउन सकिएको छैन,’ खिमबहादुरले भने,‘बाढीले सम्पत्ति लुट्यो । टाउको लुकाउने ठाउँ भएन ।’
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार साउन र भदौ महिनामा बाढी प्रभावित क्षेत्रका २ सय २० महिला गर्भवती थिए । तीमध्ये बाँकेमा बाढी आएको दिनसम्म १ सय ८० महिला सुत्केरी हुने समय थियो । ‘हामी गर्भवती भएकै महिनादेखि महिलालाई निगरानीमा राख्छांै । कुन गर्भवती कुन महिनामा सुत्केरी हुने भन्ने पनि अनुमान गरेका हुन्छौं,’ जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले भने,‘बाढी प्रभावित क्षेत्रका २ सय महिला सुत्केरी छन् । यस्तो जटिल अवस्थामा रहेका सुत्केरीलाई सहयोग गरिरहेका छौँ ।’
उनका अनुसार जिल्ला जनस्वास्थ्यले सुत्केरी महिलालाई झुल, सर्वोत्तम पिठो, साबुनलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ । तर, विकट मानिने राप्ती सोनारीका सुत्केरी महिलाहरूले कुनै स्वास्थ्य सामग्री नपाएको गुनासो गरेका छन् ।
(आजको कान्तिपुर दैनिकमा ठाकुरसिंह थारूले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>