बेवारिसे बिरामी अस्पताललाई थेग्न गाह्रो
काठमाडौँ, १० भदौ । वीर अस्पतालको आकस्मिक कक्षमा बेवारिसे बिरामी नआएको दिन हुँदैन । बेवारिसे बिरामी व्यवस्थापन अस्पतालको पुरानै समस्या हो । अस्पतालको आकस्मिक कक्षमा यसै पनि बिरामीको चाप भइरहन्छ, आमबिरामीलाई पनि बेड पाउन तीनरचार दिन कुर्नुपर्ने अवस्था छ । यस्तो चापकाबीच बेवारिसे बिरामी व्यवस्थापन गर्न धेरै असहज भइरहेको अस्पतालको आकस्मिक कक्षका प्रमुख डा. केदार सेञ्चुरीले बताए । ‘दैनिक तीनदेखि चार जना बेवारिसे बिरामी आउँछन्, बेड खाली नहुँदा उनीहरूलाई भुइँमा म्याट ओछ्याएर उपचार गर्नुपरेको छ,’ डा. सेञ्चुरीले भने ।
अस्पतालको आकस्मिक कक्षमा बेवारिसे बिरामीका लागि दुइटा लो–बेड छुट्याइको छ । दुइटा बेड उनीहरूका लागि एकदमै कम भएको डा. सेञ्चुरीले बताए । कक्षमा २५ दिनदेखि एक जना बेवारिसे बिरामी लडिरहेका छन् । उनको अवस्था गम्भीर छ । न कोही लिन आउँछ, न उनी आफन्तका बारेमा केही भन्छन् । नाम सोध्दा बल्लतल्ल भाइचा श्रेष्ठ बताए । उनलाई प्रहरीले काठमाडौंको चपलीबाट लडिरहेको अवस्थामा भेटेर ल्याएका हुन् ।
बेवारिसे बिरामीको उपचार अस्पतालको सामाजिक सेवा एकाइको सहयोगमा भइरहेको एकाइका कर्मचारी दुर्गाप्रसाद अर्यालले बताए । ‘यस्ता बिरामीका कुरुवा हुँदैनन्, हामीले भ्याएसम्म हेर्छौँ, ‘उनले भने, ‘हामीले नहेर्दा बिरामी भोकै पर्छन्, समयमा औषधि खुवाउने मान्छे हुँदैन, कतिले त ओछ्यानमै दिसापिसाब गर्छन् ।’
कुरुवाको अभावमा त्यस्ता बिरामीहरूले राम्ररी उपचार पाउन गाह्रो हुने सेञ्चुरीले बताए । ‘अस्पतालमा आउने आधाजसो बेवारिसे बिरामीको आकस्मिक कक्षमै मृत्यु हुन्छ, शव सनाखत हुँदैन टिचिङ अस्पतालमा पठाउनुपर्छ,’ उनले भने । गत सातामात्रै आकस्मिक कक्षमा एक जना महिला बेवारिसे बिरामीको मृत्यु भयो । उनलाई पनि प्रहरीले काठमाडौंको तीनथानाबाट ल्याएर अस्पतालमा छाडेको एकाइका कर्मचारी अर्यालले बताए । ‘त्यसबाहेक न उनको नाम खुल्यो न ठेगाना,’ उनले भने ।
अस्पतालमा बेवारिसे बिरामी हेर्नकै लागि भनेर कर्मचारीको दरबन्दी छैन । यसले बेवारिसे बिरामी व्यवस्थापनमा समस्या छ । ‘गम्भीर रोग लागेका बेवारिसे बिरामीको उपचार पूर्ण हुन पाउँदैन, कतिको शल्यक्रिया गर्नुपर्ने हुन्छ हामी गर्दैनौं,’ डा. सेञ्चुरीले भने । वीर अस्पतालबाहेक राजधानीका कुनै अस्पतालले पनि बेवारिसे बिरामी लिँदैनन् । यस्ता बिरामीको समस्या वीरले मात्रै थेगिरहनुपरेकामा डा. सेञ्चुरीले गुनासो गरे । जाडो मौसममा यस्ता बिरामीको चाप झनै बढ्दै जाने उनले बताए ।
अस्पतालले स्वास्थ्य मन्त्रालयसँग बारम्बार बेवारिसे बिरामीका लागि छुट्टै वार्ड र कर्मचारी माग गरेको छ । मन्त्रालयले ‘प्रक्रियामा छौं,’ भन्दै टाल्ने गरेको अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए । जापानी सहयोग नियोग (जाइका) ले वीरको नयाँ भवन बनाउने जिम्मा लिएको छ । नयाँ भवन नबनेसम्म बेवारिसे बिरामी व्यवस्थापनको अरू कुनै समाधान नभएको निर्देशक बस्नेतले बताए । जाइकाले बनाउने नयाँ भवनको निर्माणकार्य हालै सुरु भएको निर्देशक बस्नेतको भनाइ छ ।
(आजको कान्तिपुरमा फातिमा बानुले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>