शुक्रराज अस्पतालमा २० वर्षमा २१ निर्देशक
काठमाडौं, ५ भदौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २० वर्षमा २१ निर्देशक फेरिएका छन् । २०५४ सालमा अस्पताल विकास समितिको मातहतमा आएयता बर्षैपिच्छे जसो अस्पतालमा निर्देशक फेरिने गरेका छन् ।
सरकारको नीति अनुसार सामान्यतया कुनै पनि केन्द्रीय अस्पतालमा निर्देशकको नियुक्ती पाएपछि उक्त व्यक्तिको कम्तीमा दुई वर्षको कार्यकाल हुन्छ । तर, हरेक वर्ष निर्देशक फेरिदा अस्पतालले अघि सारेका योजना र लक्ष्य पुरा गर्न सकेको छैन् । १९९० सालमा स्थापना भएको शुक्रराज अस्पताल २०५४ सालमा विकास समिति मातहतमा गएको थियो । समिति माताहत गएपछि अस्पतालको पहिलो निर्देशकका रुपमा डा. द्वारीकानाथ रेग्मी नियुक्त भएका थिए ।
यस्ता छन् हालसम्मका निर्देशकहरू
डा. द्वारीकानाथपछि क्रमशः डा. फत्तेबहादुर मल्ल, डा. प्रेमवदा खनाल, डा. तिर्थ राणा, डा. मृगेन्द्रप्रसाद श्रेष्ठ, डा. वासवानन्द वैद्य, डा. तारानन्द झा, डा. छत्र अमात्तय, डा. पियुष कुमार राजेन्द्र, डा. पुन्यबहादुर थापा निर्देशक भएका थिए । यसैगरी पुनः डा. पियुसकुमार राजेन्द्र, डा. शिवशंकर झा, डा. कोकिलादेवी श्रेष्ठ, डा. महेन्द्रबहादुर विष्ट, डा. लक्ष्मीराज पाठक, डा. सरोजप्रसाद राजेन्द्र डा. मिथिला शर्मा, डा. ईन्द्रप्रसाद प्रजापती, डा. शंकरबहादुर श्रेष्ठ, डा. केदारप्रसाद सेन्चुरी निर्देशक भएका छन् । ३० वैशाख ०७३ देखि डा. रमेशकुमार खरेल अस्पतालको निर्देशकका रुपमा कार्यरत छन् ।
छिटोछिटो निर्देशक फेरिदा सेवा प्रवाहमा समस्या
सरुवा रोग उपचारका लागि एक मात्रै रेफरल अस्पतालमा यसरी छिटोछिटो निर्देशक फेरिदा अस्पतालको सेवा विस्तारमा असर परेको बताउँछन निर्देशक डा. रमेशकुमार खरेल । एक सय शैया क्षमताको यस अस्पतालमा विशेष गरी छिटो संक्रमण फैलने रोगहरूको उपचार हुने गर्छ । निर्देशकले पूर्णकालिन रुपमा काम गर्न नपाउँदा क्षमताको आधा शैयाबाट पनि सेवा दिन नसकेको डा. खरेलको भनाई छ । सबै प्रकारका सरुवा रोगको उपचार हुने भए पनि पछिल्लो समयमा रेविजविरुद्धको सुई लगाउने बिरामी धेरै आउने गरेको डा. खरेल बताउँछन् ।
अस्पतालले इमजेन्सी सेवासहित अत्याधुनिक मेसिनबाट सिटी स्क्यान, अल्ट्रासाउड सेवा पनि सुलभ शुल्का उपलब्ध गराउँदै आएको छ । तर, बिरामीको चाप न्यून रहेको उनको भनाई छ । ‘चाडो चाडो निर्देशक फेरिदा समय अनुसारका सेवा थप गर्न असहज हुँदोरहेछ ।’ उनि भन्छन् ‘भएका जनशक्ति र उपकरणलाई सही तरीकाले उपयोग गर्न समेत अप्ठ्यारो छ ।’ सरुवा रोग अस्पताललाई सुविधासम्पन्न बनाउने योजना अपेक्षित रुपमा अगाडि बढाउन यस्ता प्रकृयाले रोक्ने गरेको खरेलको भनाई छ ।
८३ वर्ष अघि स्थापना भएको यस अस्पतालको भौतिक संरचनाले अहिलेका प्राणघातक सरुवा रोग थेग्न नसक्ने निर्देशक खरेलको भनाई छ । यसलाई आधुनिकिकरण गरी सरुवा रोगको पहिचान गर्न र निदान गरी गुणस्तरीय उपचारको लागि सुविधासम्पन्न केन्द्रीय अस्पतालको रुपमा विकास गर्न आवश्यक भएको उनले बताए ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>