रोगसँग जुध्नुपर्छ, लुकाउने होइन –अभिनेत्री कोइराला



Download our app to get more features

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा र ठूली भएपछि श्रीमान्को घरमा खुसी देख्ने हाम्रो संस्कार छ । तर, जीवनको लामो समय एक्लै बसेकी मनीषा बिहे गरेपछि आफ्नै माइती फर्किएकी छिन्,उनी आमाबाबुसँगै खुसी देखिन्छिन् । त्योभन्दा ठूलो विरोधाभाष के भने क्यान्सरजस्तो रोग लागेपछि हाम्रो समाजमा कोही पनि व्यक्ति रोगले भन्दा पनि मानसिक रूपले अगलथलग हुने अवस्था आउँछ, तर क्यान्सरसँग लड्न सकिन्छ, जित्न सकिन्छ र जीवन उत्तिकै शक्तिका साथ जिउन सकिन्छ भनेर सन्देश दिन मनीषा संसारका कुना–कुना गइरहेकी छिन् ।

आजको नयाँपत्रिका बाट साभार उनको अन्तवार्ताको केही अंश..

अहिले जहाँ गए पनि तपाईंलाई क्यान्सरको विषयमा सोधिन्छ, अहोभाग्य हो तपाईंले क्यान्सरलाई जित्नुभयो । त्यही जितबाट प्राप्त आत्मबल तपाईं विश्वभरिका जनतालाई बाँडिरहनुभएको छ, क्यान्सरबारे जे सोच छ, त्यो परिवर्तन गर्न आग्रह गरिरहनुभएको छ । तर, तपाईं आफैँमा के परिवर्तन आयो, परिवार, मान्छे र समाज र आफ्नै जीवनबारेमा बुझने विषयमा ।

मान्छेको जीवनमा जब परिपक्वता आउँछ, तब जिन्दगी सानो हुँदै जान्छ । पहिलेपहिले जन्मदिन आउनासाथ सेलिब्रेसन गर्ने, साथीभाइबीच पार्टी राख्ने, बाहिर घुम्ने गर्थें । तर, यसपटक जन्मदिन घरमै मनाएँ । तामझाममा झुकाव छैन, शान्तिपूर्ण रूपमा साधारण जीवन जिउन चाहन्छु । नयाँ वर्ष र जन्मदिनमा यो गर्छु, त्यो गर्छु भन्ने संकल्प गरिन्छ । तर, त्यसको एक–दुई महिनापछि त्यो संकल्पको अन्त्य भइसकेको पाइन्छ । एकपटक प्रतिज्ञा गरेपछि त्यो चिजलाई पूर्ण गर्न लाग्ने मेरो स्वभाव छ । म हत्तपत्त संकल्प गर्दिनँ, गरेपछि त्यसलाई पछ्याउँछु । जिन्दगी भनेको आफूलाई परिष्कृत गर्दै जाने हो । पूर्ण हुनका लागि हामीले कोसिस गर्ने हो । परिष्कृत हुँदै जाने मानवजीवनको एउटा प्रक्रिया हो । मनुष्य हौँ, जीवनमा गल्ती हुन्छन्,आउने दिनमा पनि गल्ती होलान् तर गल्तीसँग सिक्दै, आफूलाई राम्रो र बलियो बनाउँदै जाने हो ।

देशमा फिस्टुलापीडित महिलाहरूबारे बुझ्नुभयो । उहाँहरूलाई सान्त्वना दिनुभयो । समाचारहरू के आइरहेकाका छन् भने महिनावारी हुँदा आमाहरू, दिदीबहिनीहरू घरमा होइन, छाउगोठमा गएर बस्नुपर्छ, सर्पले टोक्छ, बाघले चिथोर्छ । यो अवस्थालाई कसरी लिनुहुन्छ ?

हामी २१औँ शताब्दीको पनि ‘एड्भान्स’ समयमा छौँ । नेपालीहरू देश–विदेश घुमेका छौँ, धेरै बुझेका छौँ । यस्तो वेलामा पनि यस्ता प्रथा रहनु भनेको लज्जाजनक विषय हो । यस्तो प्रथा अमानवीय हो, यस्ता विषयलाई चेतनाका माध्यमद्वारा परिवर्तन गर्नुपर्छ । पहिले सतिप्रथा थियो, त्यो बन्द भयो । कुनै पनि यस्तो प्रथा जो अमानवीय छ, त्यसलाई समाजबाट उन्मूूलन गर्नुपर्छ ।
यो सामाजिक विकृति हो ।

यसलाई तोड्नका लागि तपाईंको पहल प्रशंसायोग्य छ । यस प्रचलनलाई हटाउनका लागि सामाजिक अभियान मात्र पर्याप्त होला कि राजनीतिक हस्तक्षेप पनि आवश्यक पर्ला ? यस्तो हस्तक्षेपमा तपाईंको भूमिका हुन सक्ला कि नसक्ला ?

राजनीति मेरा लागि होइन, पुरानो पुस्ताको ‘गाइडेन्स’ र युवा पुस्ताले बलियो आवाज उठाउनुपर्छ । सामाजिक अभियानबाट यस्ता विषयमा सुधार गर्न सकिन्छ । सबैले आ–आफ्नो ठाउँबाट सही कुरा उठाउने, उचित ठाउँमा बोलिदिए यस्ता विषयमा सुधार हुन्छ । सबैजना राजनीतिमा आए अरू काम कसले गर्छ ?

तपाईंले धेरै कुरा जनतालाई प्रेरणा होस् भनेर सेयर गर्नुभएको छ । ठाउँ–ठाउँमा प्रवचन पनि दिनुभएको छ । जीवनको समीक्षा त गरिन्छ, तर आफ्नै जीवनलाई पुनर्लेखन गर्न पाएमा कसरी लेख्नुहुन्थ्यो ? के–के घटनालाई आफ्नो जीवन, इतिहासबाट हटाएर के–के कुरालाई जोड्नुहुन्थ्यो ? 

मलाई क्यान्सर भएपछि धेरै कुरा सिकेँ । क्यान्सरभन्दा अघि धेरै कुरामा अन्धकारमा बाँचेको रहेछु भन्ने लाग्छ । किनभने त्यसअघि जीवनलाई त्यति महत्व दिँदैनथेँ । स्वास्थ्यलाई महत्व दिन्नथेँ । करियरलाई पनि राम्रो चलिरहेको छ भन्ने भित्रैबाट लिन्थेँ ।जब मलाई अन्तिम स्टेजको क्यान्सर थियो, तब मेरो अन्त्य सुनिश्चित छ भन्ने लाग्यो । जब मलाई म मर्छु भन्ने लाग्यो, त्यतिवेला जीवनलाई रिभाइज गरिँदोरहेछ । कहाँ–कहाँ गल्ती गर्यौँ, कहाँ, कसलाई दुःख दियौँ, के गर्दा राम्रो होला भनेर सम्झिने प्रक्रियामा म पनि गएँ । तर, मेरो यो प्रक्रिया छोटो भएन । दुई–तीन महिना लामो भयो । यसबीचमा म बाँच्छु भन्ने आशा नै थिएन । मेरो जीवनमा क्यान्सर एउटा ‘ब्लेसिङ’को रूपमा आयो । क्यान्सरले अँध्यारोबाट उज्यालोतिर ल्यायो । यसबाट के देखेँ भने जीवन पाएपछि मृत्यु त हुन्छ हुन्छ, जन्म र मृत्युबीचको जीवनको जुन समय हुन्छ, यसलाई कसरी सदुपयोग गर्ने, कसरी राम्रोसित उपयोग गर्ने ? भन्नेमा जीवन निर्भर रहन्छ । साना कुरामा अल्झिँदा हाम्रो मृत्यृ एक दिन आउँछ भन्ने हामी बिर्सन्छौँ ।

परबाट हेर्दा मेरो जीवन राम्रो लाग्न सक्छ । तर, त्यो कठिन छ भन्ने कुरा भोग्ने व्यक्तिलाई मात्र थाहा हुन्छ । जतिसुकै प्रगति गरेको मान्छे होस् जतिसुकै ठूलो र पैसा भएको मानिस होस् उसको जीवनमा समस्या आउँछ ।मलार्ई दुःख लाग्छ, म पनि कहिलेकाहिँ रुन्छु । रोएपछि लाग्छ, यो दुःखको पल पनि जान्छ र राम्रो समय पनि आउँछ । जीवन भनेको निरन्तर परिवर्तन भइरहने अवस्था हो । कठिनाइ आउँछन् भने यसबाट केही सिक्नुपर्छ ।

क्यान्सरका विषयमा कुरा गर्दा यसलाई हेर्ने सोच नै अत्यन्त जटिल छ । कसैलाई क्यान्सर लाग्यो रे भनेपछि उसको जीवन अब रहँदैन भन्ने चलन छ । नेताले भाषण गर्दा होस् वा मिडियामा टिप्पणी दिँदा, भ्रष्टाचार भनेको क्यान्सरजस्तो भयो भनिन्छ । जब कि भ्रष्टाचार भनेको विकृति हो, क्यान्सर भनेको नियति हो । क्यान्सरलाई हेर्ने दृष्टिकोणमा नै हामीमा समस्या छ । तपाईंले कति अवलोकन गर्नुभएको छ ?

कुनै पनि रोग छ भने अरूलाई बताउनु हुँदैन भन्ने मानसिकता हामीमा छ । किनकि, हामी यस्तो भन्न लाज मान्छौँ । अरूले के भन्छन्, के सोच्छन् भन्नेमा जान्छौँ । गरिब परिवारमा छोरालाई क्यान्सर लाग्दा सकेसम्म परिवारमा लुकाउन खोज्छौँ । बच्चालाई अरूसँगै खेल्न पठाउँदैनौँ । समाजले बहिष्कार गरिदिन्छ । तर, मलाई क्यान्सरलाई लुकाउन हुँदैन । धेरै कुरा सेयर गर्दा अरूले पनि आफ्नो पीडा सेयर गर्ने बाटो खुल्छ । अरूलाई पनि प्रोत्साहन मिल्छ । रोगसँग जुध्नुपर्छ । तर, यसलाई लुकाउन हुँदैन । आज मेडिकल साइन्स धेरै नै एड्भान्स भइसकेको छ । डाक्टरकहाँ जाने सही उपचार गर्दा यो रोग पनि निको हुन्छ । धेरै मान्छे चिनेकी छु, धेरैसँग बुझेकी छु । नेपालमै पाठेघरको अन्तिम अवस्थाको क्यान्सरलाई निको पारेर रोगबाट उम्किनुभएका मानिसहरू हुनुहन्छ । कतिलाई यसबाट फाइदा नभएको हुन सक्छ । तर, मिडियाले सकारात्मक समाचार दिएर यस्ता रोगको पहिचान र उपचार सम्भव छ भन्ने सन्देश दिनुपर्छ ।

स्वस्थ जीवन
जब म क्यान्सरबाट गुज्रिएँ यो नै जीवनको सबैभन्दा महत्पूर्ण पक्ष हो भन्ने लाग्छ । क्यान्सर निको भएपछि स्वस्थ जीवन जिउन के–के गर्नुपर्छ भन्नेतिर ध्यान दिइरहेकी छु । यसका लागि रिसर्च गरिरहेकी हुन्छु । साथीसंगी र डाक्टरहरूसँग पनि कुराकानी गरिरहेकी हुन्छु । खासमा भन्नुपर्दा आफू पनि स्वस्थ्य जीवन जिउने र अरूलाई पनि बताउने जीवन म जिइरहेकी छु ।

मेरो परिवार जस्सले  अप्ठ्यारोमा साथ दियो
अर्को महत्वपूर्ण पाटो मेरो परिवार हो । सानैदेखि कोइराला परिवारको संयुक्त परिवारको सम्बन्धमा म हुर्किएँ । अहिले पनि आमाबुबा, भाइ बुहारीसँगै बस्छु । आमाबुबासँग गुणस्तरीय समय बिताउन खोजिरहेको छु । बिरामी पर्दा नजिकका चार–पाँचजनाले मात्र साथ दिने रहेछन् । तर, यति ठूलो दायरा भएकी मलाई परिवारबाहेक अरूको नजिकबाट साथ रहेन । त्यही हिसाबले मलाई अप्ठ्यारो अवस्थामा साथ र हौसला दिने परिवारका व्यक्तिसँग भएको ‘रिलेसनसिप’लाई महत्व दिइरहेकी छु ।

समाजमा सकारात्मक सन्देश दिन चाहन्छु 
मेरो अर्को जीवनदर्शन भनेको सामाजिक उत्तरदायित्व पनि हो । पहिले धेरै भीड भए पनि चार–पाँचजना मात्र मेरो निकट आए । मैले नचिनेको, नभेटेको एकजना मानिसले मलाई अमेरिकामा उपचार गर्दा सहयोग गर्नुभयो । मसँग उहाँको स्वार्थ थिएन, लगाव थिएन । मबाट आशा पनि थिएन । तर, पनि मलाई सहयोग गर्नुभयो । यस्तो सहयोग पाएपछि अरूलाई पनि मद्दत गर्नुपर्छ र कसरी गर्न सकिन्छ भनेर म कोसिस गरिरहेकी छु । उहाँले पनि स्वस्थ भएर यो अरूका लागि काम गर्न प्रेरित होस् भनेर सहयोग गर्नुभएको रहेछ । नेपालमा बसेपछि समाजमा योगदान गरौँ भन्ने प्रयत्नमा छु । समाजमा अरूलाईसमेत कस्तो सहयोग गर्न सकिन्छ भनेरै लागिरहेकी छु ।
फोहोर भौतिक मात्र होइन, किटाणु, रोग निम्त्याउने, प्रदूषित वातावरण मात्र होइन । यो मानसिकता पनि हो । वातावरण मात्र सफा बनाउने नभएर हामी आफू सफा हुने, कपडा सफा राख्ने, घरलाई सफा राख्छौँ कि राख्दैनौँ ? हामी बसेको वातावरणलाई सफा राख्छौँ कि राख्दैनौँ ? यी सबै हाम्रो विचार सफा छ कि छैन भन्ने विषयसँग जोडिन्छ । हाम्रोजस्तै प्राकृतिक सुन्दरताले भरिएको देश न्युजिल्यान्डमा नदी, खोलालाई कसैले फोहोर, गरे, अतिक्रमण गरे सरकारले कारबाही र जरिवाना गराउँछ । हामीले पनि नदीनाला बचाउन यस्तै कारबाहीलाई बढावा दिनुपर्छ ।क्यान्सरको जनचेतनाका लागि पनि काम गरिरहेकी छु । मेरो आफ्नो एनजिओ छैन, असल मान्छेलाई खोजेर जनहितका लागि काम गरिहेकी छु । भारतमा पनि क्यान्सरबारे जनचेतना फैलाउने यस्तै काम गरिरहेकी छु । म स्वयं पनि पाठेघरको क्यान्सरबाट मुक्त भएको मान्छे, अब सेप्टेम्बरमा क्यान्सरसम्बन्धी जनचेतनाका कार्यक्रम गर्दैछौँ ।
(आजको नयाँपत्रिका दैनिकबाट)

 

Last modified on 2017-08-19 12:04:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts